Thursday, April 16, 2020

कोरोना, नयाँ बर्ष र नेकपा

आज विश्वको मानवजाति नोवेल कोरोनाभाइरस (कोभिड–१९) संक्रमणको महामारी विरुद्ध लडिरहेको छ। चीनको वुहान शहरमा पहिलोपटक देखिएको उक्त भाइरसको प्रकोप हालसम्म विश्वका २१० देशमा विस्तार भइसकेको छ।
विश्व स्वास्थ्य संगठनको पछिल्लो आँकडाअनुसार कुल १७ लाख ८३ हजार ७ सय २४ जनामा भाइरसको संक्रमण देखा परेको छ भने हालसम्म एक लाख आठ हजार ९ सय ७ जनाले ज्यान गुमाइसकेका छन्। चार लाख चार हजार ८ सय ६५ जना भने उपचारपश्चात् घर फर्किएका छन्। प्रति मिनेट २२८.५९ जनामा यो रोगको संक्रमण बढ्नुले महामारी संक्रमणको गति कति खतरनाक छ भन्ने स्पष्ट हुन्छ।

कोरोना संक्रमणको सबैभन्दा बढी असर संयुक्त राज्य अमेरिकामा परिरहेको छ। अमेरिकामा हालसम्म विश्वकै सबभन्दा बढी २०,५९७ जनाको मृत्यु भइसकेको छ भने संक्रमितको संख्या पनि ५ लाख ३३ हजार २५९ जना रहेको छ।


नेपालका कोरोना संक्रमित पहिलो बिरामी माघ १० गते पुष्टि भएको थियो। जब कि त्यतिबेला उनको स्वास्थ्यमा सुधार भइसकेको थियो र उनी अहिले आफ्नो घरमा फर्किसकेका छन्। हिजो विरगञ्जमा भारतीय तीन नागरिकमा कोरोना संक्रमण फेला परेको कुरालाई मान्दा जम्मा १२ जना संक्रमित फेला परेका छन्। संक्रमितहरु कि त तेश्रो मुलुकबाट जहाजमार्फत् आएका, कि त भारतबाट आएको अवस्थामा कैलालीको एक जनामा विदेशबाट आएका मानिसद्वारा स्थानीय रुपमा संक्रमण विस्तार भएको देखिएकाले नेपालमा कोरोना संक्रमण दोश्रो चरणमा प्रवेश गरेको विज्ञहरुको भनाई छ।

नेपालले गर्यो लकडाउन

कोरोना भाइरसविरुद्ध हालसम्म कुनै पनि भ्याक्सिन तथा औषधि पत्ता लागेको छैन। बिरामीको उपचार हस्पिटलमा आइसोलेसन कक्षमा राखेर गरिरहेको अवस्था छ। यसलाई रोकथाम र नियन्त्रणको एक मात्र उपाय भनेको व्यक्तिगत स्वास्थ्य सचेतना र सामाजिक दुरी कायम गर्ने नै हो। सम्भावित संक्रमणको आशंका गरिएका मात्र होइन आम नागरिकसमेत सेल्फ क्वारेन्टाइनमा बस्नु नै यसबाट बच्ने उत्तम विकल्प हो। तसर्थ नेपाल सरकारले पनि भाइरस नियन्त्रणको अन्तिम विकल्पको रुपमा गत चैत्र १० गतेदेखि नेपाल लकडाउन घोषणा गरेको छ। यसका विरुद्धको महामारीमा सबभन्दा अग्रभागमा स्वास्थ्यकर्मीहरु परिचालित भएका छन्। सरकारले चैत्र १६ र २४ गते दुईपटक लकडाउनको समयावधि लम्ब्यायो र जनतालाई राहतको प्याकेज घोषणा गर्यो। राहतको प्याकेज घोषणासँगै संघ, प्रदेश र स्थानीय तहका सरकारका जिम्मेवारीहरु पनि निश्चित गरिएका छन्।

कोरोना विरुद्धको जनचेतना अभिवृद्धि गर्ने, बाहिरबाट आएका मानिसहरुको लागत तयार गर्ने, उनीहरुलाई क्वारेन्टाइनमा राख्ने र अनुगमन गर्ने, स्थानीय स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीलाई सुरक्षा सामग्रीसहित परिचालन गर्ने, दैनिक उपभोग्य सामग्री आयातको वातावरण निर्माण गर्ने, गरिब तथा विपन्न परिवारको लागत तयार गरि राहत वितरण गर्ने आदि काममा सबभन्दा बढी दायित्व स्थानीय सरकारको काँधमा आइपरेको देखिन्छ।

केन्द्र सरकारले नीतिगत कामका अलावा स्वास्थ्य सामग्रीको आपूर्ति तथा सबै प्रदेशहरुमा परीक्षण ल्यावहरु निर्माण गरेको छ। विदेशमा भएका नागरिकहरुको स्वास्थ्य र सुरक्षाका लागि विदेशस्थित कूटनीतिक नियोगहरु परिचालन गर्नुका साथै विभिन्न देशका सरकार प्रमुुखहरुसँग सहकार्य गरेर काम गरिरहेको छ। प्रदेश सरकारले आफ्ना प्रदेशका जनताको स्वास्थ्य र सुरक्षाका लागि आवश्यक राहत उपलब्ध गराउने तथा अनुगमन गर्ने काम गरिरहेको छ। तर पनि काठमाडौं लगायतका ठूला सहरमा रोगजारीको सिलसिलामा रहेका मजदूर र दूरदराजका गरिब किसान तथा दलित परिवारको दैनिक जीवनयापनमा गम्भीर जोखिमहरु देखा परेका छन्। शहरका स्थानीय तहका लागि कामदारहरुको तथ्यांक संकलन र राहत वितरण चुनौतीपूर्ण बनेको छ। त्यसका लागि केन्द्र सरकारका संयन्त्रहरुलाई परिचालन गर्न ढिला गर्नु हुँदैन।

यो लडाईंमा उच्च मनोबलका साथ पहिलो मोर्चामा लडिरहेका स्वास्थ्यकर्मीहरु र उनीहरुलाई सघाइरहेका सुरक्षाकर्मीलाई सबभन्दा बढी अभिनन्दन। अहोरात्र जनताको हितमा खटेका सम्पूर्ण स्थानीय तहका सरकार तथा प्रदेश र केन्द्र सरकारलाई हार्दिक धन्यवाद। हालसम्म नेपालमा कोरोना विरुद्ध जुन सफलता मिलेको छ, यसलाई सकारात्मक पहल नै मान्नुपर्दछ। लकडाउनमा बसेर आफ्नो दैनिकी आफु, आफ्नो देश, राष्ट्रिय जीवन र विश्व मानवजातिका लागि सुम्पिनुभएका तमाम नेपाली दाजुभाई दिदीबहिनीहरुमा हार्दिक नमन।
नयाँ बर्ष २०७७ को हार्दिक शुभकामना!

आज हामी कोरोना विरुद्धको लडाईंमा लकडाउनको १९औं दिनमा छौं। यो बर्ष २०७६ को अन्तिम दिन पनि हो। सिंगो देशका नागरिकहरु जसरी महामारीका विरुद्ध लडिरहेका छौं, नयाँ बर्ष २०७७ को सुरुवातका दिनमै यस लडाईंमा विजय प्राप्त गर्न सकौं। कोभिड –१९ लाई पराजित गर्न सकौं। नयाँ बर्ष २०७७ को हार्दिक मंगलमय शुभकामना।

हामीसँग समृद्ध नेपाल सुखी नेपालीको उत्कट चाहना छ। नेपाललाई समुन्नत समाजवादी मुलुक बनाउने रणनीतिक सपना र योजना छ। देश निर्माणको आधार राष्ट्रिय एकता, लक्ष्यप्रतिको दृढता र नेतृत्व तथा जनता सामुहिक इच्छाशक्ति हो। कोरोना महामारीसँग लड्दै जाँदा यो एकता र संकल्प अझ सुदृढ बन्दै जाओस् फेरि पनि सम्पूर्ण नेपाली दाजुभाई दिदीबहिनीहरु जो स्वदेश र विदेशमा रहनुभएको छ, तपाईहरु सबैलाई नव बर्ष २०७७ को हार्दिक शुभकामना!

नेकपाको गन्तव्यः संघर्ष र रुपान्तरण 

आज देशका सबै राजनीतिक दल र राष्ट्रिय शक्तिहरु कोभिड–१९ विरुद्धको लडाईंमा एकताबद्ध भएका छन्, यो सुखद कुरा हो। यो देशको नेतृत्वदायी शक्ति नेपाल कम्युनिष्ट पार्टी (नेकपा), जसको नेतृत्वमा संघ, प्रदेश र स्थानीय तहमा दुई तिहाई जनमतसहितका सरकार छन्। सबै तहका सरकारले जनतालाई सेवा प्रवाह गर्न रातदिन कर्म गरिरहेका छन्। साधन श्रोतको अपर्याप्तता र पूर्वसावधानी अभावमा केही कमीहरु भएका होलान् तर सरकारका प्रयत्नहरु सकारात्मक दिशामा छन्।

समाजवादी गन्तव्य बोकेको कम्युनिष्ट पार्टी र यसको नेतृत्वको सरकार रहेको वर्तमान अवस्थामा देखिएका भ्रष्टाचार, अराजकता र अनुशासनहीनताका घटनाक्रमले भने हामीलाई ज्यादै दुःखित तुल्याएको छ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का लागि भ्रष्टाचार र अनुशासनहीनता कोभिड–१९ जतिकै खतरनाक कुरा हुन्। के नेकपाले भ्रष्टाचार र अनुशासनहीनता विरुद्ध लकडाउनको घोषणा गर्न सक्ला? यसको भविष्य पनि यसमै अन्र्तनिहीत छ।

नेपाली समाजको अग्रगामी गन्तव्यलाई आत्मसाथ गर्दै, देश र जनताका लागि राजनीति भन्ने मर्मलाई केन्द्रभागमा राख्दै, निम्न वुर्जुवा, पेटीवुर्जुवा, व्यक्तिवादी चिन्तन र सोंचलाई पराजित गर्दै, सर्वहारावर्गीय चेतनाले मात्र विभाजित कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध गर्न सक्थ्यो। कमरेड केपी शर्मा ओली र कमरेड प्रचण्डको नेतृत्वमा वाम गठबन्धनदेखि पार्टी एकतासम्म नेकपाले जुन पहलकदमी लियो, कम्युनिष्ट आन्दोलनका लागि आजको विश्व सन्दर्भमा ऐतिहासिक कदम थियो। त्यसको लागि नेताद्वय र सबै तहका नेता कार्यकर्ता धन्यवादका पात्र हुनुहुन्छ।

नेताहरुको पहलकदमीलाई नेपाली जनताले पुष्पवृष्टि गरेर मात्र स्वागत गरेनन् मतपेटिकामा विश्वासवृष्टि गरेर दुई तिहाईको जनमत दिलाए। जनताले नेकपालाई यो भन्दा के दिन पर्दथ्यो होला? तर हामी आज किन जनताको त्यो विशाल हृदयलाई चिरा पार्न खोजिरहेका छौं?

नेपाली क्रान्ति आफ्नो मौलिक मार्ग निर्माण गर्दै अघि बढ्यो। न त हामीले रुसी मोडेललाई नै हुबहु अनुशरण गर्यौं न त हामीले चिनियाँ मोडेललाई नै हुबहु अपनायौं। हामीले तिनका सकारात्मक र नकारात्मक शिक्षा लिएर आफ्नो बाटोलाई परिस्कृत गर्दै आएका हौं। विश्वमा रक्षात्मक भएको कम्युनिष्ट आन्दोलनलाई नेपालमा जनयुद्ध र जनआन्दोलनको बाटोबाट आक्रमक स्थानमा पुर्यायौं। २१ औं शताब्दीको पहिलो दशकमा ल्याटिन अमेरिकी मुलुकहरुमा उभारमा देखिएको बोलिभारियन क्रान्ति साम्राज्यवादी आक्रमणबाट बच्न कठीन संघर्ष गरिरहेको छ। ह्युगो चाभेजको अकल्पनीय निधन पश्चात् बोलिभारियन क्रान्तिले नेतृत्वको संकट ब्यहोरिरहेको छ।
जब हामी कसैको आदर्शमाथि धावा बोल्छौं विभाजन त्यहीँबाट शुरु हुन्छ। यदि हामीलाई सत्य र न्याय स्थापनाको लडाई लड्नु छ भने व्यक्ति हेरेर होइन प्रवृत्ति हेरेर लडाईं लडौं। पहिले असल र खराबको रेखा कोरौं, त्यसका लागि बहस गरौं, छलफल गरौं।
क्रान्तिमा नेतृत्वको प्रश्न सर्वथा महत्वपूर्ण प्रश्न बन्न जान्छ। हामीले क्रान्तिको मौलिक प्रक्रियाबाट जुन नेतृत्व प्राप्त गरेका छौं, जनतामा नेतृत्वप्रति जुन विश्वास जागृत भएको छ, हामी संसदीय राजनीतिक जोडघटाउबाट माथि उठ्न सकेनौं भने नेतृत्वलाई यहीँ खण्डित गर्नेछौं र समाप्त पारिदिनेछौं। त्यसको लागि कोही प्रतिक्रियावादी र साम्राज्यवादी शक्ति चाहिदैन हामी आफै काफी छौं।

आज विश्वव्यापी रुपमा भू–मण्डलीय पूँजीवादको दबदबा छ। यसले मिनेट मिनेटमा विश्वभर आफ्ना दलालहरुको उत्पादन गरिरहेको हुन्छ। नयाँ नयाँ दलाल र नोकरशाहहरुको उत्पादन गर्नु र उनीहरुमार्फत् विश्वव्यापी पूँजीको शासन कायम गर्नु पूँजीवादको कर्म हो। यदि हामी सचेततापूर्वक सरकार र आन्दोलनको संयोजन गर्न सकेनौं भने भूमण्डली पूँजीवादका नेपाली दलाल हुनबाट हामी बच्ने छैनौं। हामीले लामो समयदेखि अभ्यास गरिरहेको संसदीय राजनीतिमा यही दलाल र नोकरशाही संयन्त्रको चंगुलमा फस्दै आएका छौं। हामी यसबाट मुक्त हुन खोज्दा सरकारबाटै फालिएका इतिहास खोज्न मनमोहन अधिकारी र प्रचण्ड नेतृत्वको सात महिने सरकारलाई हेरे पुग्छ। हामीले समाजवादउन्मुख संविधान भन्नु र संसदीय व्यवस्थामा सुधारको खोजी गर्नुको पछाडिको मर्म यतै कतै छ भन्ने भुल्न हुँदैन। यदि यसमा हाम्रो चेतना अग्रगामी बन्न सकेन भने हामी समाजवादका साधक होइन, बाधक बन्दै जानेछौं।

आज हामी पूर्व समुहमा फर्कने कसरत पनि गरिरहेका छौं। इतिहासमा हामी जुन जुन आन्दोलनका उपज भएर आयौं, सबैको आफ्नो गौरवशाली इतिहास छ, त्यसमा ठूलो समर्पण छ र बलिदान छ। त्यहीँ बलिदानीपूर्ण संघर्षले नेताहरुको टिम निर्माण गरेर ल्याएको छ। नेताहरुमा कार्यकर्ता र जनताको विश्वास केन्द्रीत भएको हुन्छ, विश्वासको विकास आदर्शमा हुन्छ। हामीले आन्दोलनबाट आएका कोही न कोही नेतालाई आदर्श मान्दै आएका छौं।

जब हामी कसैको आदर्शमाथि धावा बोल्छौं विभाजन त्यहीँबाट शुरु हुन्छ। यदि हामीलाई सत्य र न्याय स्थापनाको लडाई लड्नु छ भने व्यक्ति हेरेर होइन प्रवृत्ति हेरेर लडाईं लडौं। पहिले असल र खराबको रेखा कोरौं, त्यसका लागि बहस गरौं, छलफल गरौं। कुन प्रवृत्ति देश र जनताको हितमा छ र कुन छैन निक्र्यौल गरौं। जब हामी खराबलाई खराब भनेर लड्न तयार हुन्छौं, कि त खराब प्रवृत्ति रुपान्तरण हुन्छ कि त इतिहासको कुडा कर्कटमा जान्छ।

पार्टीभित्र निर्माण भएका समझदारी भत्काउँदै जाने, राजनीतिका न्यूनतम मूल्य र पार्टीका न्यूनतम वैधानिक घेरा तोड्दै जाने, देशको सार्वजनिक सम्पत्तिमा अतिक्रमण गर्ने, संकटको बेला निहीत स्वार्थकेन्द्रित खेलोमेलो गर्ने, पहुँचको आधारमा नीतिगत अनियमिततामा बढोत्तरी हुने कुरा हाम्रा लागि सुहाउँछ र? पार्टीभित्र आलोचनाको अधिकार रहनुपर्दछ र त्यसलाई विधिसम्मत बनाइनुपर्दछ। पार्टीले केही समय पहिले व्यक्तिकेन्द्रीत सार्वजनिक आलोचना तथा गालीगलौजलाई नियन्त्रण गर्ने निर्देशिका जारी गर्यो। त्यो निर्देशिका अहिले कहाँ गयो? के यहीँ अराजकता र अनुशासनहीनताले पार्टीलाई रुपान्तरण गर्ला?

मलाई विश्वास छ, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जुन संकल्प लिएर निर्माण भएको हो, आफ्ना सीमाहरुको वस्तुनिष्ट समीक्षा गर्दै यो अगाडि बढ्नुपर्दछ। भ्रष्टाचार, अनुशासनहीनता र अराजकता विरुद्धको लडाईं यसले जित्नुपर्दछ र आफुलाई एक्काइशौं शताब्दीको एक सबल शक्तिको रुपमा निर्माण गर्नुपर्दछ। यहीँ मर्मसँगै सबै नेता कार्यकर्ता, सदस्य तथा शुभचिन्तकहरुमा नव बर्ष २०७७ को हार्दिक शुभकामना !

२०७६ चैत्र ३०, काठमाडौं

दैनिक अनलाइन डटकममा प्रकाशित

No comments:

Post a Comment