Thursday, May 28, 2020

सुदुर पश्चिम अभियान र कमरेड आकाशसँग सहयात्राका अन्तिम दिनहरु


अग्रगामी कदम अभियान र सुदुर पश्चिम यात्रा
कमरेड आकाश अर्थात मेरो अनन्य मित्र तथा आदरणीय कमरेड रुपलाल बोहरा, हामी बिचबाट सदाको लागि भौतिक बिछोडको करिव दुईदशक बितिसकेछ। हिजो जस्तै लाग्छ, जतीबेला हामी पाँचभाई सल्यानबाट सेती महाकालीको लागि प्रस्थान गर्दै थियौ, साँच्चिकै नौलो अनुभुति भईरहेको थियो। २०५७ माघ २६ देखि फागुन १ गतेसम्म सम्पन्न नेपाल कम्युनिष्ट पार्टी (माओवादी)को दोश्रो राष्ट्रिय सम्मेलनले महामन्त्री कमरेड प्रचण्डद्धारा प्रस्तुत भएको “महान अग्रगामी छलाङः इतिहासको अपरिहार्य आवश्यकता” भन्ने शिर्षकमा एउटा ऐतिहासिक दस्तावेज पारित गरेको थियो। उक्त सम्मेलनले विश्व कम्युनिष्ट आन्दोलन र नेपाली कम्युनिष्ट आन्दोलन तथा जनयुद्धको पाँच बर्षका अनुभवको समिक्षा, क्रान्तिका परम्परागत रुसी र चिनीयाँ मोडेलबाट माथि उठेर दिर्घकालीन जनयुद्ध र आम जनविद्रोह फ्युजनको कार्यदिशा विकसित मात्र गरेन, जनयुद्धको प्रकृयामा विकसीत विचार श्रृँखलालाई ”प्रचण्डपथ“ को रुपमा संश्लेषण गर्यो। सम्मेलनले महान अग्रगामी छलाङको पहिलो योजना कार्यान्वयनको अवधि एक बर्ष तोकेको थियो। योजनाको मुलनारा ”आधार इलाका र स्थानीय सत्ताको सुदृढ र विस्तार गरौं! केन्द्रीय जनसरकार निमार्णको दिशामा अघि बढौं!“ थियो। यो नाराले जनयुद्धको आगामी योजनालाई अभिव्यक्त गर्दथ्यो। हामी पार्टीको यही योजनालाई कार्यान्वयन गर्न “पश्चिम पश्चिम फर्क र पुर्व पुर्व फर्क” भन्ने पार्टी निर्देशनलाई लागु गर्न पश्चिम कमाण्डको अग्रगामी कदम अभियान अन्र्तगत मुख्य आधार इलाकाको विशेष उपक्षेत्रीय ब्युरो(राप्ती, लुम्बिनी र धौलागिरी)बाट विस्तारको इलाका सेती महाकाली उपक्षेत्रीय ब्युरो अन्र्तगतको पार्टी काममा जाँदै थियौं।
पार्टीको सोही राष्ट्रिय सम्मेलनले सेती महाकाली उपक्षेत्रिय ब्युरो इन्चार्जमा जनार्दन शर्मा प्रभाकरलाई पठाएको रहेछ। उहाँसँग विशेष उपक्षेत्रीय ब्युरोको प्रशिक्षणमा भेट भयो। उहाँले आफु पश्चिम जाँदै गरेको र केही साथीहरु पश्चिम जाने योजना पनि रहेको बताउनु भयो। त्यसमा सल्यानबाट पनि केही कमरेडहरु जान सक्ने कुरा उहाँले बताउनु भयो। मैले उहाँलाई आफु सेती महाकालीमा अभियान्ता बनेर जान इच्छुक रहेको बताएँ। उहाँले सुदुर पश्चिम अभियानमा जानको लागि दरिलो खुट्टा, बलियो छाती र दिमागमा प्रचण्डपथ आवश्यक सर्त भएको बताउनु भयो। मलाई आफुसँग उक्त योग्यता रहेको दावा गरे। हामी प्रशिक्षणबाट दाङसम्म सङगै झर्यौं। उहाँ दाङबाट पश्चिम लाग्नु भयो भने हामी भने सल्यानतिर उक्लियौं।

सल्यानमा जिल्ला पार्टीको बैठक आयोजना भएको थियो। बैठकमा पार्टी नेतृत्वबाट सेती महाकाली अभियानमा जाने प्रस्ताव पेश भए पश्चात् अरु कमरेडहरु अलमल जस्तै देखिनु भयो। मैले हात उठाएर अभियानमा जान इन्चुक रहेको जनाउ दिएँ किनकी म मानसिक रुपमा तयार भैसकेको थिएँ। मेरो प्रस्तावलाई बैठकले अनुमोदन गर्यो। तत्पश्चात सल्यानबाट अभियानमा जाने अरु कमरेडहरुको नाम पनि टुङ्गो लाग्यो। हाम्रो टिममा जनमुक्ति सेनाको तर्फबाट कमरेड रुपलाल बोहरा (आकाश) र दिपक शाही (सुरेश) तथा जनकलाकारद्धय डिल्ली खड्का (बसन्त) र तर्कबहादुर नेपाली (संघर्ष) थिए। बालापन देखि सँगै हुर्किएका साथीहरु अभियानमा सँगै सहभागी हुने निर्णयले मलाई खुसी र उत्साहित तुल्याएको थियो।

कमरेड आकाश र सुरेश इप्रका रुकुमकोटमाथि भएको जनसेनाको रेडमा सहभागी भएर सल्यान आईपुग्नु भयो। उक्त कार्बाहीमा एउटै प्लाटुनमा रहेर सँगैको आर्कमा लडिरहेको कमरेड भुपेन्द्र प्रकाश गिरी (सर्बजित)लाई छोडेर आएको कुराले उहाँहरु ज्यादै दुःखि हुनुहुन्थ्यो। सेती महाकाली जाने हतारोले गाउँघरतिरको भेटघाट पनि त्यति राम्रोसँग गर्न पाईनछ। २०५७ साललाई विदा गर्न दुईदिन बाँकी थिए। हामी सल्यानको बुँरासेबाट दाङको ओरालो झर्यौं। एकातिर पार्टीले लिएको महान अग्रगामी छलाङको स्प्रीडलाई चुम्ने हुटहुटी अर्कोतिर राप्तीको सेरोफेरोबाट टाढा र अपरिचित क्षेत्रमा पुग्दाको चुनौतीपुर्ण काल्पनिक चित्र बोकेर दाङ झरेका थियौं।

दामा दिदीको मार्गर्दशन
सल्यानको अन्तिम सिमानाको गाउँ सारपानी गर्पामा कमरेड दामा शर्मासँग भेट भयो। उहाँ पनि पश्चिम जाने तयारीमा भएको कुरा बताउनु भयो। उहाँ रुकुम (घर)सम्म पुगेर फर्किने कुरा गर्नुभयो। उहाँसँग भएका कुराकानीले हामीलाई सेती महाकालीको सामान्य भौगोलीक चित्र र हाम्रो आत्मगत अवस्थाबारे बुझ्न मद्दत गरेको थियो। दामा दीदीले  कैलालीमा  आफ्नो जीवनसाथी कमरेड यज्ञश्वर शर्मा (बारुण)लाई गुमाउनु भयो। उहाँ आफैले सेमको क्रान्तिकारी आन्दोलनमा थुप्रै आशु र पसिना बगाउनु भयो। उहाँसङ्ग सुदुर पश्चिमका जीवन्त अनुभुतिहरु थिए।

यज्ञश्वर शर्माको पंक्तिमा नाम लेखाउने संकल्प
हामीलाई दाङको एकदिने बसाई नै नौलो थियो। जनतासँग अन्र्तघुलनको लागि भाषिक ज्ञान अनिवार्य सर्त हो भन्ने कुरा हामीले दाङ पुगे पछि अनुभुति गर्यौं। हामीलाई एउटा थारु गाउँमा सेल्टरको व्यवस्था गरिएको थियो। त्यहाँको भाषीक कठिनाई हाम्रा लागि एउटा चुनौतीपुर्ण शिक्षा बनिसकेको थियो। हामीले दाङ सेल्टरमा रहँदा केहि छलफल गर्यौं । कमरेड आकाशले त्यतीबेलै भन्नुभएको थियो। “अपरिचित भुगोल,नयाँ जनता र तराईको फाँटमा हुने संघर्षको अनुभव आफैमा नयाँ र चुनौतीपुर्ण छ। तर हामी हारेर फर्किने छैनौं बरु कमरेड यज्ञश्वर शर्माको पंक्तिमा आफ्नो नाम लेखाउने छौं।” हाम्रो त्यो छलफल भावमय थियो। हामी सबैले कमरेड आकाशलाई भन्यौं। सेम पुगेपछि हाम्रो जिम्मा कहाँ–कहाँ पर्छ थाहा छैन तथापी तपाई उमेर र अनुभवमा हामी सबैको अभिभावक जस्तै हो। यसलाई पनि एउटा जिम्मेवारी ठानिदिनु होला।

२०५८ बैसाख १ गते हामी कैलालीको लागि दाङबाट गाडी चढ्यौं। हामीसँग साथमा कम्मरमुनी लुकाएका तीनवटा डायरी र झोलामा एक–एक जोडा कपडा बाहेक अरु केही पनि थिएन। पुर्वपश्चिम राजमार्ग हँुदै हामी जति जति पश्चिमतिर हुँईकदै थियौं त्यति नै घरपरिवार, बाआमा, जीवनसाथी र प्रिय कमरेडहरुको ममता यसैतसै उर्लिरहेको थियो। म लगायत हामी सबैका लागि यो नै सुदुर पश्चिम नेपालको पहिलो यात्रा थियो। हामीलाई एउटा गहुँगो जिम्मेवारीले थिचे जस्तो अनुभुति थियो। गाडीमा एक अर्काका भावना साट्ने संभावना थिएन। प्रहरी पोष्ट र निकुञ्ज भित्रका सेनाका चेकपोष्टमा पुग्दा शरिर भारी भएर आउथ्यो। हामीले गाडीमा डायरी फेला परि हालेमा जिम्मा नलिने र यदी शंका गरेर केरकार गरिहालेमा एक अर्काबारे जानकारी नभएको बयान दिने सल्लाह गरिसकेका थियौं। बाटोमा थुप्रै चेकिङ भएपनि हामीले यात्रा सफलतापुर्वक पुरा गर्यौं।

कैलाली लम्की बजारमा झर्दा अँध्यारोले साम्राज्य फिंजाइ सकेको थियो। हाम्रो सम्पर्क ढकाल बस्त्रालयमा भनिएको थियो। थप गन्तव्यको लागि हामीलाई एकजना गाइड प्राप्त भो। हामी त जता लियो उतै जाने भयौं तर हाम्रो रुट गाईडले दिशा भुल्नु भो। करिब आधा रात हिडेर धन्नै भारतको बोर्डर पुगिएछ। थोरै समय आराम गर्यौं। बिहानको झिसमिसेमा हामी कौवापुर पुग्यौं। कौवापुर, जहाँ आदरणीय कमरेड यज्ञश्वर शर्मा, भीम भाट लगायतका नेतृत्वलाई सेल्टरमा घेरा हाली नियन्त्रणमा लिएर क्रुरतापुर्वक हत्या गरिएको थियो। त्यही रक्तिम भुमिमा उभिएर सहिदको सपना पुरा गर्ने संकल्प गर्यौं। कैलालीको चुरे श्रृँखला सुँगुरखालको उकालो लाग्यौं। विहानीको सिरर्सिरे हावामा पश्चिम तराईको रमाईलो दृश्यावलोकन गर्दै चुरे श्रृखला उक्लीरह्यौं। जुन चुरे त्यसयताका करीब आधा दशक कर्मभुमी बनेर रह्यो।

ओरेकोटको वक्षस्थलबाट विदाई हुँदा  
पार्टीको सेती महाकाली उपक्षेत्रीय ब्युरोको प्रशिक्षण, प्लाटुनको तालिम तथा फर्मेशन घोषणाको कार्यक्रम चुरेको घाँटी नाँघेर ओरेकोट जङ्गलको वक्षस्थलमा रहेछ। हामी पुग्दा प्रशिक्षण कार्यक्रम शुरु हुनै लागेको थियो। तिन दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भईसके पछि सल्यानबाट गएका हामी पाँच जनाकै कार्यविभाजन भयो। हाम्रो टिम तीन भागमा बाँडिने भयो। रुपलाल बोहरा (आकाश) सेती महाकालीमा गठित जनमुक्ति सेनाको पहिलो प्लाटुन (१३ नम्बर प्लाटुन)को कमाण्डर चुनिनु भो। दिपक शाही (सुरेश) जिल्ला नम्बर २ (डडेल्धुरा,बैतडी,दार्चुला)को स्क्वाइड कमाण्डर नियुक्त हुनु भयो। उहाँ दुईजना सैन्य तालिमको लागि क्याम्पिङतिर लाग्नु भयो। पार्टी नेता कार्यकर्ताको उपस्थितिलाई हेरेर बसन्त र संघर्ष डडेल्धुराको पार्टी अभियानमा खटाईनु भयो। म अभियानमा जाँदा पार्टी जिल्ला कमिटि सदस्य तथा अखिल(क्रान्तिकारी) सल्यानको अध्यक्ष थिएँ। मलाई अभियानमा जाँदा कार्यक्षेत्र विद्यार्थी नै हुन्छ जस्तो लागेको थिएन तर आवश्यकताले पुनः विद्यार्थी मोर्चा सम्हाल्नु पर्ने भयो।विद्यार्थीको क्षेत्रिय टिम बनाई तत्कालीन संरचना अनुसार अछामबाहेक आठवटा सुदुर पश्चिमका जिल्लामा अभियानात्मक रुपले अखिल(क्रान्तिकारी)को संगठन विस्तार, प्रशिक्षण र जिल्ला भेलाहरु गर्ने योजना बनायौं। २०५८ बैसाख ५ गते विहान कमरेड आकाश र सुरेशसङ्ग संक्षिप्त छलफल गरि बिदाईका हात मिलायौं। एउटा गर्विलो जिम्मेवारी पुरा गरेर तीन महिना पछि अभियानको समिक्षामा भेटने वाचा थियो। आखिर त्यही बिदाई नै कमरेड आकाशसङ्गको अन्तिम विदाई हुन पुग्यो।

अखिल (क्रान्तिकारी) कञ्चपुर जिल्ला समितिका अध्यक्ष शरदचन्द्र अवस्थी, कैलाली जिल्ला अध्यक्ष शिवराज ज्ञवाली, कञ्चनपुरका जिल्ला समिति सचिव जनक बुढा सहित हामी चार जनाको टोलीले कञ्चनपुर र कैलालीमा विद्यार्थीको जिल्लास्तरिय प्रशिक्षण सम्पन्न गर्यो। चुरे नाघेर डडेल्धुराको भित्री मधेश पुग्यौं। जोगबुढामा अभियानकर्मी बसन्त र संघर्षसङ्ग भेट भयो। उहाँहरु कला र गलाको प्रयोग गर्दै जनसंगठन विस्तारको काममा जुटिसक्नु भएको थियो। केही दिन उहाँहरुसँग रहेर विद्यार्थीहरुलाई संगठित गर्ने काममा लागियो। जोगबुढा आलिताल हुँदै सदरमुकाम डडेल्धुरा पुगेर शिक्षा क्याम्पसको भेला गर्यौं। हरिसिँह मालको नेतृत्वमा काफलको रुखमुनी बसेर क्याम्पस समिति बनायौं र उहाँकै नवयुग होटेलमा पाहुना भयौं। अखिल(क्रान्तिकारी) को क्याम्पस समिति अध्यक्ष भएकै कारण संकटकाल लागु गरेपश्चात् उहाँलाई होटेलबाटै गिरप्तार गरियो, निर्मम याताना दिईयो र सेनाको हेलिकोप्टरमा राखेर कञ्चनपुर जेल सार्ने नाममा कायरतापुर्वक हत्या गरियो।

साहानाको टिमसँग छेलामा जम्काभेट
हामी चार जनाको टोली डडेल्धुरा जिल्ला समितिको पुर्नगठन गरेर जोगबुढा, छेला, पुर्णागिरी, खटिमा हुँदै पिथौरागढ पुगेका थियौं। हामी छेलाबाट किस्ती तर्ने तयारीमा रहेको बेला सहाना प्रधान नेतृत्वको नेकपा मालेको टिम पुर्णगिरी बाँध मार्चको लागि जोगबुढाको छेला पुगेको थियो। साहाना प्रधान प्रतिकुल स्वास्थ्यको कारण सदरमुकाममा बस्नु भएछ। छेलामा पहिलो पटक सिमाविद बुद्धिनारायण श्रेष्ठ, हिरण्यलाल श्रेष्ठसङ्ग साक्षात्कार गर्ने मौका मिलेको थियो।

पिथौरागढदेखि दार्चुलासम्म
हाम्रो एक रात पिथौरागढमा मोहनजीको डेरामा वित्यो। मोहन जीले नै हामीलाई दार्चुला लिएर जानु भयो। सदरमुकाममा कुवँर जीको पाहुना भएर एकरात विताएर हामी दार्चुलाको विकट ग्रामिण क्षेत्रमा प्रवेश गर्यौं। हामीलाई यो रुटको सबै सुचना सहित मार्गनिर्देशन कमरेड जयराज भट्टले गर्नु भएको थियो। हामीलाई कुँवर जीले सदरमुकामबाट नयाँ मान्छे गाउँतिर लाग्दा पुलिसले पिछा गर्ने भएकोले अध्यारोमा नै हिडिहाल्न सुझाव दिनु भएको थियो। हामीले विहान उध्यारोमै होटेल छोड्यौं। अलिकति माथी उक्लिए पछि डाँडामा बसेर थकान मेटायौं। पारी पट्टी भारतको धार्चुला झिलिमिली बत्तिले धपक्क बलेको छ। पहाडका बिचबिचबाट मोटर गाडी झल्लल बत्ती पार्दै र साइरन बजाउँदै हुईकिरहेका छन। पहाडका कन्दराहरु पनि विजुली बत्तिले उज्यालै छन। यता महाकाली वारीपट्टीको हाम्रो सदरमुकाम भने औशीको अन्धाकारमा डुबेको छ। निस्पट्ट अध्यारोमा ठिङ्ग उभिएको अजङ्गको पहाडको धुमील आकृति हाम्रो अगाडी खडा छ। मोटर देख्न पारी जानु पर्छ। नुन खोज्न पारि जानुपर्छ। दार्चुला र धार्चुलाको विचमा एउटा फलामे पुल छ। पारीका मान्छेका अगाडि वारीका मान्छेको दर्जा नै फरक ठहरिन्छ। दिनानुदिन अपमानको भारी बोकेर जीवनका उकाली ओराली ब्यहोरिरहेको एउटा आम नेपालीको ब्यथा सिंहदरबारले स्पर्श गर्न गर्न त कता हो कता दिल्ली दरबारमा आफै लम्परसार परेर नेपाली जनमनमो अस्मिता लुटाईरहेको छ। यही हो हाम्रो व्यथा मोहन जी भन्दैहुनुहुन्थ्यो। पिथौरागढमा उच्च शिक्षा हाँसिल गरिरहनु भएको उहाँ विषयको ज्यादै मसिनो बौद्धिक विश्लेषण गर्नुहुन्थ्यो। मोहन जीसँग अध्याँरोमा फुसफुसाउँदै हामी उकालो लागिरह्यौं। एउटा अजङ्गको उकाली पार गरेपछि हाम्रो पहिलो स्टेशन खार गाविसको सुण्डमुण्ड गाउँ बन्यो। खारमा हामी वेलुकापख मात्र पुगेका थियौं। सञ्चार विच्छेद भएर गाउँ पुग्दा झण्डै सुण्डमुण्डमा स्थानिय मिलिशियाको बन्दुकको निशानामा परिएन। दरो केरकार पछि मात्र न्यानो स्वागत पाईयो। दार्चुलाको दोश्रो रात सुण्डमुण्डमा बित्यो। सुण्डमुण्ड हाल नेकपाका प्रदेशसभा सदस्य कमरेड मानबहादुर धामी (सन्तोष)को गाउँ हो। भने उनी त्यतिबेला जनमुक्ति सेना १३ नं. प्लाटुनमा थिए। उनको गाउँ सेरोफेरोको मार्मा क्षेत्र माओवादी आन्दोलन विस्तार भैरहेको क्षेत्र रहेछ।

शोकधुनले पुरयाएको दरबार हत्याकाण्डको खबर
चराहरुको चिरबिर चिरबिर आवाजले निद्रा भङ्ग भयो। बाहिर सिमसिम पानी परीरहेको थियो। सामाचार सुन्न रेडियो खोल्यौं तर एकोहोरो शोकधुन बजिरहेको थियो। एकाबिहान ! सिमसिमे पानी !अनि शोकधुन ! विरक्त लाग्दोरहेछ। के भो होला? आपसमा प्रश्न प्रतिप्रश्न गर्यौं। केहिबेरको उकुसमुकुुस पछि रेडियोबाटै थाहा भो, बिनासकारी दरबार हत्याकाण्ड ! त्यसपछि थपिए थुप्रै प्रश्नहरु अब के हुन्छ? सरकारले माओवादी विरुद्ध शाही सेनाको परिचालन गर्न खोज्दा राजा विरेन्द्रले स्वीकृति दिएका थिएनन। उनले माओवादी पनि यहि देशका नागरिक भएकोले समस्यालाई सम्वादको माध्यमबाट हल गर्नुपर्छ भने भन्ने कुरा मिडियाबाट बाहिरिएको थियो। कतै यो हत्याकाण्ड पनि माओवादी विरुद्ध लक्षित त हैन भन्ने प्रश्न साथीहरुले उठाउनु भयो। दिन ढल्किदै गर्दा पानी पर्न रोकियो। रेडियोले एकोहोरो शोकधुन र केही अपडेट दिईरहेको थियो। हामी मार्माको यात्रामा निस्कियौं। त्यो दिनको वेलुका हाम्रो वसाई मार्मामै भयो। जनभेला गरेर अन्र्तक्रिया गर्यौं। माओवादीबारे थुप्रै भ्रमहरु रहेछन, चिरफार गर्यौं। उक्त समय दार्चुलामा भर्खरै माओवादी गतिविधि विस्तार भईरहेको थियो। मानबहादुर धामी (सन्तोष), ललितसिंह ठगुन्ना (प्रविण) लगायत ६ जना कमरेडहरु सैन्य तालिमको लागि कैलालीमै हुनुहुन्थ्यो भने मानसिंह ठगुन्ना(विवेक) पार्टी कार्यकर्ताको रुपमा जिल्लामा क्रियाशिल हुनुहुन्थ्यो। हामीले उहाँलाई खोज्दै र विद्यार्थी भेलाका लागि प्रतिनिधि तयार गर्दै सिप्टी पुग्यौं। कमरेड विवेक सिप्टीमै हुनुहुँदोरहेछ। हामी पुगेको खबरले उहाँको भागदौड भएछ। किनकी शहरतिरबाट आएका जस्ता एउटै उमेरसमुहका पाँच जना युवाहरुको उपस्थिति गाउँको लागि नयाँ हुने स्वाभाविक भयो। धेरै मेहेनेत गरेर मात्र हामीले आफनो परिचय दियौं तर पनि उहाँसँग भोलीपल्ट विहान मात्र भेट हुन सक्यो। विवेकसँगको भेट पछि हामी जिल्ला भेलाको लागि २१ गते फेरी सुण्डमुण्डमै फर्केर आयौं।

कमाण्डर ढलेको असह्य खबर
दिदीहरु दामा शर्मा र माया भाट कैलालीबाट हाम्रो सम्पर्कमा आइपुग्नु भो। हामी छुट्टीएको करीव डेढ महिना भैसकेको थियो। डडेल्धुराबाट हिडेदेखि हाम्रो खबरको माध्यम रेडियो हो। त्यसको सामाचार पनि कति पत्याउनु। कहिले बिबिसी पनि सुन्न बिर्सीन्छ। कैलालीमा माओवादीद्धारा प्रहरी चौकी कब्जाको अपुष्ट सामाचार सुनिएको थियो तर यर्थाथ थाहा थिएन। कैलालीको खास खबर के हो भनेर दिदीहरुलाई सोध्यौं। दामा दिदीले पहिलो स्वरमै भन्नु भयो, “यसपाली पनि सुदुर पश्चिमको माटोले कमाण्डरकै रगतको माग गर्यो रमेश जी।” शुरुमा त मैले उहाँको कुरा बुझिन। उहाँ भन्दै जाँदा थाहा भयो, कैलालीको पहलमानपुरमा भएको ऐतिहासिक किसान विद्रोहको तीन दिन पछि २०५८ जेठ १६ गते लालबोझीको प्रहरी चौकी कब्जा गर्दा नवगठित प्लाटुनका कमाण्डर, मेरो प्रिय सहयोद्धा, एक कुशल कमाण्डर कमरेड आकाशको शहादत भएछ।
मलाई सम्हालीन गाहे भो। एकाएक दाङको सेल्टरमा उहाँले गरेका कुराको याद आयो। उहाँको शहादतको खबरले मर्माहीत बनायो। साथीहरुले सम्हालिन आग्रह गर्नुभयो। कमाण्डरको भुमिकामा रहेर पुरा गर्ने कति सपना र योजनाहरु थिए उहाँका, सबै अधुरा भएर गए। मलाई अर्को गहुँगो जिम्मेवारीले थिचेको महशुश भयो। दार्चुलाको त्यही विकट गाउँ सुण्डमुण्डमा विद्यार्थीको जिल्ला भेला सम्पन्न गर्यौं र भेलामा कमरेड आकाश लगायत सम्पुर्ण शहिदहरुको सपना पुरा गर्ने संकल्प गर्यौं। उक्त भेलामा शहिदको सपना पुरा गर्ने सपथ लिएका कमरेडहरु शरद अवस्थी (लोकेश) जनमुक्ति सेनद्धारा गरिएको कालिकोट पीलि आक्रमणमा शहिद हुनुभयो। उहाँ त्यतिबेला जनमुक्ति सेनाको कम्पनी कमिश्नार हुनुहुन्थ्यो। शिवराज ज्ञवालीलाई कैलालीमा शाही सेनाले नियन्त्रणमा लिई हत्या गर्यो। कमरेड विवेक दाचुर्लाकै गोकुलेश्वर इप्रका कब्जा गर्दा शहिद हुनु भयो भने माया दिदी र मोहन जीको पनि पार्टी काममा हिडिरहेको बेला कैलाली र दार्चुलामा शहादत भयो। कमरेड आकाश लगायत सम्पुर्ण आदरणीय शहिदहरुप्रति भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दछु।

लालबोझी मोर्चा, सुपमा विजय अभियानको प्रारभ्भ
सेती महाकालीको पहिलो फौजी मोर्चामा कमाण्डर आफै वलिदान भएर लडाई जिताएको पनि १९ बर्ष पुरा भएछ। जुन विजयले सिँगो सेती महाकाली क्षेत्रको विजय अभियानको ढोका खोलेको थियो। त्यसको करिब एक महिनामै सेती महाकालीका पुरै ग्रामिण क्षेत्रबाट प्रतिक्रियावादी सत्ताको राजनेतिक र फौजी उपस्थिति रिक्त भएको थियो। फौजी कार्बाहीसँगसँगै अघि बढेका राजनैतिक तथा संगठन विस्तारका अभियानले क्षेत्रव्यापी रुपले माओवादी आन्दोलनमा ध्रुबिकरणको लहर सिर्जना भयो। आन्दोलनको त्यो पुँजी आज आ आफ्नो ठाउँबाट समाजवादी क्रान्तिको आधार तयार गर्ने दिशामा लागिरहेको छ।

परिस्थिति बदलियो, हामी पनि बदलियौं
संघीय लोकतान्त्रिक गणतन्त्र, संविधानसभाबाट निर्मित नयाँ संविधान र कम्युनिष्ट पार्टीबिचको एकता र झण्डै दुईतिहाईको जनअभिमत इतिहासको त्यही अद्धितिय बलिदानको जगमा संभव भएको हो। प्रिय कमरेड आकाश ! युद्धका संगीन मोर्चाहरु भन्दा खतरनाक र विस्मयकारी मोर्चाहरु शान्ति र समृद्धिको आवरणभित्र ढाकिएका हुँदारहेछन। मानवजाति, वर्गीय पक्षधरता र राष्ट्रिय अस्तित्वको लडाई अझ चुनौतीपुर्ण मोडमा रहेको वर्तमानमा देश र जनताको मुक्ति भन्दा अरु सबैथोक तुच्छ ठान्ने तिम्रो महान आर्दशलाई प्रेरणाको रुपमा लिने कोशिस गरिरहेको छु।
प्रिय कमरेड, तपाईको बुवा आमा दाङ दङ्गीशरण गाउँपालिकाको हेकुलीमा जीवनका उतरार्ध ब्यथित गरिरहनु भएको छ। तपाईको जीवनसंगीनी (हाम्री दिदी) पुर्णीमा बोहरा आफ्ना तीन छोरा र छोरीको साथ दङ्गीशरणमै जीवन निर्वाह गरिरहनु भएको छ। छोराहरु जीवनको खोजीमा कहिले देश र कहिले विदेशमा जवानी खर्चिरहेका छन। प्रिय आकाश, मैले नढाँटी भन्नुपर्छ पार्टी कार्यकर्ता र शहिद तथा वेपत्ताका आफन्तजनलाई राजनैतिक चेतनाले लैस बनाउने, संगठित गर्ने र समाज रुपान्तरणको उर्जामा बदल्ने अभियानमा हामी चुकिरहेका छौं। हामी व्यक्तिगत स्वार्थ, सत्तास्वार्थ र निजित्वले नराम्रोसँग जेलिएका छौं। राजतन्त्र ढालेर आएका हामी क्रान्तिकारी गणतन्त्रमा क्रान्तिकारी समाजवादी बन्न डराईरहेका छौं। हामी वर्गीय पक्षधरताका लागि होइन, पद र प्रतिष्ठाका लागि मरौला जस्तो गछौं। जनयुद्धले स्थापीत गरेको त्याग, वलिदान र सर्मपणको संस्कृति नेतृत्वको कुर्सीको रिले दौडमा बदलिएको देख्दा नयाँ ढँगले मनविद्रोहलाई जनविद्रोहमा संगठित गर्न थालौ जस्तो लाग्न थालेको छ।

अन्तमा, पुनः भावपुर्ण श्रद्धाञ्जली !
घर परिवार, निजित्व, व्यक्तिगत आकाँक्षा भन्दा माथि, कयौं माथि मानव जीवनको मुल्य खोज्दै दुनियाँको मुक्तिको सपनामा सचेततापुर्वक आफ्नो जीवनको वलि चढाउने महान योद्धा कमरेड आकाश लगाएत सम्पुर्ण स्वप्नाद्रष्टा महान शहिदहरुमा उन्नाईसौं स्मृति दिवसको सन्दर्भमा हार्दिक श्रद्धाञ्जली!
२०७७ जेठ  १६ काठमाडौं ।

1 comment: