Thursday, April 16, 2020

सपनाको बिज उमार्नु छ

जुन दिन मैले
अर्थ खोजे जीउनुको यस धर्तिमा
सोही दिन देखि
बदलीयो मेरो कर्मक्षेत्र
जे देखें चर्मचक्षुले
जे बुझे अन्तस्करणले
अहँ, पटक्कै मन मानेन
पृथक मोलमोलाई जीवनको
बाटो रोजे समरयात्राको
तर,
शारदाको किनारमा
झण्डा बोक्नु ‘अपराध’ भन्दै
उडाईयो तीन प्राण पखेरु
जारी गरीयो फर्मान
कोहीले बोक्ने छैन यो झण्डा
सोहीदिन देखि हो मैले
झण्डा बोकेको कहिल्यै नछोडनेगरि
कसम खाएको कहिल्यै नभुल्नेगरि
अमर जीवन जिएकाहरुको नाममा ।

अलिकति भनिहालौं
मैले देखेको जीवनकथा
अस्तीमात्र
सत्तरीको नाघेका
छानेघरका जेठा बाजे
बयालेको विसौनीमा
पिठ्युको भारीसँगै
जीन्दगी विसाएछन ।
दाङदुङ्गेको प्रकाश
बृद्धाश्रम बनेको गाउँमा
थियो एउटा साहारा
न अस्पताल न डाक्टर
त्यो अन्कन्टार गाउँ
उसलाई पनि
“पुरानै मसाने”ले ठहरै पारेछ ।
मान्छेका सपनापनि
आफ्ना आफ्नै हुँदा रहेछन
'भाग्य'ले ठगेर
नियती भोगेका
यस्तै भन्थे गाउँलेहरु
विचरा उनलाई के थाहा
'भाग्य' कोर्नेहरुको जालसाजी
कतिले देखेनन होला
स्कुलको दैलो
कतिले भर्न सकेनन होला
फीको थैलो
काले, भुन्टे र भद्रे अंकल
एक छाक मुख फेर्न
एक सरो शरिर ढाक्न
कालापहाडतिर हुत्तिए
कोही उतै अलपिए
कोही सिमलकुनाको कुनामा
मानखोलाको कहरसँग
लडिरहेछन अरे ।
आज गाउँ बुढो भएकोछ
जवानी अरबमा छ
कि त फर्किन्छ जवानी
चाउरीएर
कि त तर्किन्छ जवानी
कोफिनमा नारिएर
भन्न कति गाह्रो छ
न त साहारा छन बचेरासँग
न त बचेराछन साहारासँग
विघठीत घर, निरस जीवन
जरुरी छ एक नयाँ अठोट
जसले गाउँमा जीवन फर्काओस
चाउरिएका ओठमा मुस्कान भरोस ।
सम्झाउन चाहन्न
कस्ता थिए ती कहरहरु
नयाँ विहानीको सपना देखेर
वलीवेदीमा चढे
कति सुन्दर रहरहरु
नयाँ जीवनको यात्रामा
उर्लिए नयाँ लहरहरु
र त,
नयाँयुगले यस धर्तिमा
स्पर्श गरेको छ
आशाका मुना उमारेर
कागजमा कोरीएकोछ हाम्रो ‘भाग्य’
जुन ‘भाग्य’ जीवनमा कोरीनुछ ।
फर्केर हेर्न मन लाग्छ
मृत्युसँग खेल्दाका ती दशक
जीवन खोज्दाका यी दशक
ती जसरी विते
संघर्षमै विते
ती पैठेजोरी
बाहीरका हुन या भित्रका ।
आज रगतले सिंचिएको
एक नयाँ दस्तावेज जन्मीएको छ
जीवन खोज्दै जाँदा
गाउँमा सिंहदरबार पुगेको छ
यही आशावादको यात्रामा
गाउँमा जीवन भर्नुछ
जीवनमा जवानी,
जवानीमा मुस्कान
एक नयाँ यात्रामा
प्रिय आफन्तजनलाई
नयाँ मोर्चाका हिस्सेदार बनाउनुछ
गुमनाम लालसिताराका
सपनाका विज उमार्नु छ ।
२०७४।०६।०३
काठमाडौं ।

No comments:

Post a Comment