Thursday, April 16, 2020

कविता | यसो गरे कसो होला?

बिहान सखारै
पूर्वक्षितिज उर्घिनै लाग्दा
चराहरुको चिरबिर चिरबिरसँगै
शुरु हुन्छ मेरो दैनिकी
उठ्यो, मोबाइल समात्यो
भित्ताभरि पोतिएका
गालीगलौज र उपदेशसँगै
बेचैनी बन्नलाई काण्ड पुग्छ
र, शुरु हुन्छ प्रतिक्रियाको दैनिकी ।
सिंगो मानवजाति
महाब्याधिसँग लडिरहेछ
को धनी, को गरिब
को उँचो को नीच
कोभिड १९ सबैका लागि
उत्तिकै सैतान बनी खडा भएको छ।
सबैभन्दा शक्तिशाली भन्नेहरुको
सबैभन्दा ठूलो आँधी बनेर पो आयो
निर्विकल्प भनेको विश्वव्यवस्था
निमेषभरमै ढल्न पो थाल्यो
एकपटक मानवजातिले
वैकल्पिक विश्व व्यवस्थाको
चिन्तन मनन गर्न थाल्यो
आउनुहोस् तपाई हामी पनि
लकडाउनमै चिन्तन गर्दा कसो होला ।
लकडाउन छ विश्वमा
लकडाउनमै छ मेरो देश
लकडाउनमा छ सामाजिक जीवन
लकडाउनमै छ हाम्रो परिवेश
विवशताले विदेशीएका
श्रम पसिनाले विदेशी भूमि
पसिनाको सानो हिस्साले परिवार
र, रेमिट्यान्सले देश बचाएका
प्यारा दाजुभाईको सुरक्षामा
अझैं बढी कूटनीतिक पहल
र, सोझैं पाइने हटलाइन सेवा
व्यवस्थित गर्दा कसो होला
संकट लम्बिएको छ
एकातिर वस्तु अभाव हुनु
अर्कोतिर उपभोग नहुनु
यहीँ बजारको दैनिकी होला
सरकारै सरकार भएको हाम्रो देशमा
सरोकारवालाको भीड लाग्ने स्वदेशमा
यसको सही व्यवस्थापनको
जुक्ति निकाले कसो होला ।
दुध, अण्डा, कुखुरा र तरकारी
सडक र खाल्डोभरि नफाले कसो होला ।
अभाव कहाँ छ, सोध्नु पर्दैन
रोग, भोक र शोक कहाँ छ,
त्यो पनि सोधिरहनु पर्दैन
गरिब, दलित र सीमान्तकृत बस्तीमा
नजर लगाए मात्र पुग्छ
मजदुर किसानको मझेरीमा
अनिकाल र अनिष्ठको
कालो बादल मडारिएको छ
संकटको यो घडिमा
मानवताका सबै ढोका उघारेर
प्रेमपूर्ण सद्भावको
बाढी नै बगाइदिए कसो होला
पल्लोघरका ठुलेदाई
सिमानामा अल्झिएका छन्
वल्लोघरको हर्के कान्छो
पखेरीमा फसेको छ
आरन छोडेर बतासिएको
तल्लो गाउँको बिर्खे जेठा
दुईखुट्टे आफ्नै सवारीमा
घर खोज्दै दिनरात हिडेका छन्
ठुले, हर्के र विर्खेका
लालाबालाले बाबा भन्न पाएनन् रे
चयनसँग आँखा चिम्लन पायो पाएन
त्यो पनि खोजखबरी भएन रे
मालिकले कमाई दियो दिएन
खल्तीको पैसा सकियो होला
दुःख सुखको सन्देशबाहक
मोबाइलमा रिचार्ज रित्तियो होला
कम्तिमा लकडाउनको अबधिभर
नमस्ते, एनसेलहरुले
फ्री कल र एसएमएसको
घोषणा गरे कसो होला ।
गाउँमा काकालाई ज्वरो आयो
स्वास्थ्यकर्मी छुन मानेनन् अरे
पिपिइ, थर्मल गन क्या जाते हो
स्वास्थ्य चौकीसम्म पुगेन रे
एकातिर सामान पुगेन रे
अर्कोतिर कमिसन पुगेन रे
युद्धका सारथीहरुलाई
सशास्त्र सज्जित गर्दा कसो होला
बेइमान र हुतिहाराको
बोक्रा खुल्किदा कसो होला
संकटको बेला खुला हृदयले
जनसेवामा लाग्दा कसो होला ?

हल्कारा नेपाल डट कममा प्रकाशित

No comments:

Post a Comment