Wednesday, June 17, 2020

त्यहाँ प्यारो प्यारो मेरो देश भेटिनेछ


आकाश धर्ती जहाँ सुकै खोज
मेरो सगरमाथाको शिरमाथि खोज !
जहाँ अजर, अटल स्वदेश भेटिनेछ
त्यहाँ प्यारो प्यारो मेरो देश भेटिनेछ
वीर नेपालीका सन्ततिहरु
आफ्नै स्पन्दन छामेर हेर
इतिहासका पत्र पत्रमा
रगतको गन्ध सुधेर हेर
जहाँ विरताको कथा भेटिनेछ
त्यहाँ वलिदानको गाथा भेटिनेछ ।
हिमाल, पहाड, तराई मधेस
प्रकृतिको मनोरम वरदान छ बिशेष
क्रान्ति र परिवर्तनको बाटो समाती
शान्ति र सम्वृद्दीको सपना छ विशेष
जहाँ विविधतामा एकत्वको परिवेश भेटिनेछ
त्यहाँ प्यारो प्यारो मेरो देश भेटिनेछ ।
यहाँ मानव छ र मानवीयता छ
यहाँ सचेतना छ र गतिशीलता छ
जहाँ अभाव, अशान्ति र कुशासनलाई
सुशासन, शान्ति र सम्वृद्दीमा बदल्ने दृढता छ ।
जल, जमिन, जडिबुटी, जलस्रोत र जनशक्ति
समायोजन र विकसित गरेर
२१ औं शताब्दीको मध्यान्तरसम्म
समाजवादी नेपाल निर्माणको योजना छ ।
स्वाधीन र समाजवादी सपनाको
जिवन्त आकृति हो नेपाल
विभेद र अपमानका विरुद्ध
समानता अनि स्वाधीनताको हुन्कार हो नेपाल
हेर ! धर्ती आकाश नियालेर हेर
उ पारी पारी क्षितिजमा हेर
जहाँ सुनौलो विहानी देखिनेछ
त्यहाँ प्यारो प्यारो मेरो देश देखिनेछ ।
जहाँ प्यारो प्यारो मेरो देश भेटिनेछ ।।
असार १, २०७७ काठमाडौं