Monday, January 13, 2020

त्रिवि सभामा

२०७२ असोज ३ गते त्रि.वि. स्मृतिभवनको सभाकक्षमा सम्पन्न त्रिभुवन विश्वविद्यालयको साधारणसभा बैठकमा विद्यार्थी प्रतिनिधिको रुपमा सिनेट सदस्य रमेश मल्लद्वारा
त्रिभुवन विश्वविद्यालयको आर्थीक बर्ष २०७२/०७३ को प्रस्तावित नीति तथा कार्यक्रममा आवश्यक परिमार्जनको लागि पेश गरेको संशोधनसहितका व्यक्त विचार ।

सम्मानीत त्रिवि सभाका अध्यक्ष माननीय शिक्षामन्त्री तथा त्रिविसभाका उपाध्यक्ष ज्यू, आदरणीय त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. तिर्थ खनियाँ ज्यू तथा सम्मानीत सभाका आदरणीय विद्वान सभासद ज्यूहरु !

आदरणीय शिक्षाध्यक्ष तथा सभासद प्रा. गुणनीधि न्यौपाने ज्यूबाट आव ०७१÷०७२ को प्रगति समिक्षा प्रस्तुत गर्दै गर्दा बोल्न खसखस लागेको थियो तर बोल्न समय मिल्न सकेन । त्रिभुवन विश्वविद्यालयमा शुरु गरेको सेमेष्टर प्रणालीका एउटा पक्ष अर्थात राम्रा पक्षलाई मात्र उठाएर गरिएको समिक्षाले हामीलाई लक्ष प्राप्त गर्न सहयोग पुर्याउदैन भन्ने मेरो मतलाई दृढताकासाथ राख्न चाहन्छु । सेमेष्टर प्रणालीका नकारात्मक पक्षको बारेमा पनि समिक्षा गरौं । आज हामीले भव्य सफलताको उपमा दिएको सेमेष्टर प्रणाली असफलताको दिशामा छ भन्ने कुरालाई कति ख्याल गरेका छौं ? यो सम्मानीत सभालाई मेरो प्रश्न छ । यदी विश्वविद्यालय क्याम्पस विद्यार्थी विहिन सेन्टर अफ एक्सलेन्सको अभ्यासमा लम्कीदै जाने हो भने र विश्वविद्यायलका सबै कलेजका सबै कार्यक्रम सेमेष्टर प्रणालीमा लिदाँ त्रिवि आम जनताको विश्वविद्यालयबाट टाढा पुग्ने हो भने किन चाहियो हामीलाई सेमेष्टर प्रणाली ? म फेरी पनि अपील गर्दछु यसको बस्तुनिष्ट समिक्षा गरेर र कमीहरुलाई सच्च्याएर मात्र यो प्रणाली विस्तार गरौं । 

अब म आदरणीय रजिष्ट्रार प्रा.डा. चन्द्रमणी पौडेलद्वारा प्रस्तुत नीति तथा कार्यक्रममा आफ्नो मत राख्न अनुमति चाहन्छु ।

विश्वविद्यालयका मुख्य कार्यक्षेत्र र नीति भनेर उहाँले ९ वटा उपबुँदाहरु अन्र्तगत कार्यक्रम पेश गर्नुभएको छ । म यसमा दशौं बुँदा थप्न आग्रह गर्दछु ।

१.थप शिर्षकः उच्च शिक्षामा विद्यार्थीको सहज पहुँचः
# हाल आंगीक क्याम्पसमा रहेको नियमीत कोटा सम्वन्धी व्यवस्थालाई यथावत राख्दै जम्मा विद्यार्थी संख्याको २० प्रतिशत लक्षित विद्यार्थीलाई पुर्ण छात्रवृति लागु गरिनेछ ।
# त्रिविका सबै सम्वन्धनप्राप्त (नीजि तथा सामुदायीक ) सबै क्याम्पस÷कलेजहरुमा लक्षित विद्यार्थीहरुको लागि १० प्रतिशत पुर्ण छात्रवृति कार्यक्रम अनिवार्य लागु गरिनेछ ।
# छात्रवृति कार्यक्रम लागु गर्दा लक्षित समुदायको किटानी गर्दा सरकारी÷सार्वजनिक विद्यालय, उमावि, त्रिविका आंगीक÷सामुदायीक क्याम्पसका विद्यार्थीहरुलाई एउटा प्रमुख आधार बनाइने छ । यो कार्यक्रमको प्रभावकारी कार्यान्वयनको लागि विश्वविद्यालयको तर्फबाट छुट्टै छात्रवृति सम्वन्धी नियमको व्यवस्था गरिनेछ । 
# आंगीक क्याम्पसमा वितरीत सबै प्राइभेट कार्यक्रमहरुलाई क्रमशः आंगीक कार्यक्रमा रुपान्तरीत गरिनेछ । कुनै पनि नयाँ कार्यक्रम वितरण गर्दा सबभन्दा पहिले आंगीक क्याम्पसहरुमा विस्तार गरिनेछ ।
# चिकित्साशास्त्र, इन्जीनियरीङ, बन विज्ञान, कृषि तथा पशुविज्ञान लगायतका प्राविधिक शिक्षाका कार्यक्रमहरुमा आवश्यक पुर्वाधार विकास गरि विद्यार्थी कोटा वृद्धि गरिनु पर्ने ।
# प्रत्येक शैक्षिक सत्रमा १० प्रतिशत शुल्क वृद्धिको निर्णय खारेज गरिनुपर्ने ।
# विद्यार्थीको स्वास्थ्य विमाको व्यवस्था गरेर मात्र स्वास्थ्य विमाशुल्क लागु गर्नुपर्ने ।
# केन्द्रीय क्याम्पस किर्तिपुर र अन्य केही क्याम्पस र विषयमा स्नाकोत्तर तहमा सेमेष्टर प्रणाली लागु गर्दा एउटै समयमा र एउटै विषयमा त्रिविमा फरक फरक व्यवस्थापन र प्रणालीमा विद्यार्थी उत्पादन हुने अवस्थाको अन्त्य गरियोस । सेमेष्टर प्रणाली अवलम्वन गर्दा १३ विद्यार्थी संगठनसँग गरिएको १२ बुँदे प्रतिवद्धता अक्षरसः लागु गरीयोस ।
# उच्च शिक्षा विशेष गरि त्रिभुवन विश्वविद्यालयमा हाल रहेको सरकारी बजेटलाई गुणात्मक रुपले वृद्धि गरिनुपर्ने ।
२. नीति तथा कार्यक्रमको बुँदा नं.क मा प्राध्यापकहरुलाई नियमीत रुपमा क्याम्पसमा रहने वातावरण बनाउने भनिएको छ । त्यसमा प्राईभेट क्षेत्रमा संलग्न, अनियमीत र अनुपस्थीत प्राध्यापक÷शिक्षकहरुलाई वार की पारको नीति अवलम्वन गर्ने । जिम्मेवारी पुरा नगर्ने र प्राइभेट क्षेत्र छोडन नचाहनेलाई सेवाबाट विदा गर्ने भन्ने विषय थपीयोस । 
३. बुँदा नम्वर ख मा तीनवटा बुलेट सम्वन्धनको विषयमा खर्चिएको देखिएको छ । त्यसलाई त्रिवि जस्तो राष्ट्रको उच्च शिक्षाको जिम्मा लिएको जिम्मेवार संस्थाले आफुखुसी सम्वन्धन बाँड्ने काम नगरौं । राष्ट्रिय योजना आयोगसँग बसेर राष्ट्रिय मानव संशाधन सम्वन्धी नीति निर्माण गरेर मात्र र मुलुक संघीयतामा गएपछि राष्ट्रिय र क्षेत्रीय तथा विषयगत विश्वविद्यालयको जिम्मेवारी र क्षेत्राधिकार किटानी गरेरमात्र सम्वन्धन सम्वन्धी नीति बनाउने काम गर्नु राम्रो हुनेछ ।  हाललाई सम्वन्धनका सबै प्रक्रियाहरु स्थगन गरियोस ।
४. बुँदा नम्वर घ को गुणस्तरिय उच्च शिक्षा भन्ने शिर्षकमाः पहिलो कुरा, त्रिवि सभाले विश्वविद्यालयका अब उप्रान्तका नियुक्तिहरु राजनैतिक भागबण्डामा नहुने र नियुक्तिको प्रचलित ऐन संशोधनको लागि सभाले नेपाल सरकारमार्फत व्यवस्थापीका संसदमा पठाउने निर्णय गरोस । जब की अबका सबै नियुक्तिहरु प्राज्ञिक प्रतियोगीताको आधारमा योग्य व्यक्तिहरुले प्राप्त गरुन । 
दोश्रोकुरा, विश्वविद्यालयका सबै प्राध्यापक र कर्मचारीको नियुक्ति खुला प्रतिस्पर्धाका आधारमा गरिनु पर्दछ । आन्तरिक प्रतियोगीताबाट स्वतः स्थायी गर्ने परम्पराको अन्त गरियोस । हाल सेवा आयोगले गलत नियतका साथ गरिएको विज्ञापन रद्द गरियोस ।
५. बुँदा नम्वर च मा भौतिक विकास.........को शिर्षकमा क्षेत्रीय परिक्षा नियन्त्रण कार्यालयको भवन निमार्ण गर्ने भनिएको छ । विद्यार्थीका सबै सेवा सुविधाहरु क्षेत्रीय कार्यालयबाटै उपलब्ध गराउने व्यवस्था गरिनेछ भन्ने उल्लेख गरियोस ।
६. बुँदा नम्वर झ मा आन्तरिक श्रोत परिचालन र आय आर्जनको शिर्षक राखिएको छ । यसमा त्रिविको सबै चल अचल सम्पतिको बारेमा एक महिनाभित्र श्वेतपत्र जारी गर्ने । सम्पति जाँचवुझ गर्नको लागि करिव पन्ध्र दिनको समय दिएर एक कार्यदल गठन गरियोस । ल्याव स्कुलको सम्झौता खारेज गरि त्रिवि आफैले आफनो प्रयोजनमा स्कुल सन्चालन गरोस ।
७. विश्वविद्यालयले सरोकारवालाहरुको सहभागीतामा एकेडेमेक क्यालेण्डर सार्वजनिक गरि लागु गर्ने प्रतिवद्धता जारी गर्ने । स्ववियु निर्वाचनलाई क्यालेण्डरकै मितिमा सम्पन्न गर्ने वातावरण तयार गरोस ।
८. त्रिवि राष्ट्रिय विश्वविद्यालय हो । यो राष्ट्रिय जिम्मेवारी बोकेको प्राज्ञिक संस्थामा राष्ट्रिय भुमीकामा रहेका विद्यार्थी संगठनहरुको सभामा संस्थागत प्रतिनिधित्वका लागि ऐन संशोधन गरियोस । स्ववियु निर्वाचनमा प्राप्त मतलाई आधार मानी राष्ट्रिय संगठनको मापदण्ड निमार्ण गरिनुपर्दछ । 
सम्मानीत सभाका आदरणीय विज्ञप्राज्ञ ज्युहरु,
मैले विषय राख्दा थुप्रै ठाँउमा माग राखे जसरी राखेको छ । यहाँँहरुले एउटा विद्यार्थी प्रतिनिधिको हैसीयतले विद्यार्थी समुदायको तर्फबाट यी विषयहरु सभासमक्ष दर्ज भएका छन भन्ने मानिदिनु होला  र नीति तथा कार्यक्रममा यी विषय समावेश गर्दा भाषा मिलाएर समावेश गर्नुहुनेछ । नीति तथा कार्यक्रममा आदरणीय रजिष्ट्रार ज्युले पेश गरेका बाँकी अन्य विषयलाई कार्यान्वयन गर्ने प्रतिवद्धतासाथ अघि बढौं ।
अन्तमा, विनाशकारी भुकम्पले ज्यान गुमाएका विश्वविद्यालय परिवारका हरेक सदस्यलाई विश्वविद्यालयको तर्फबाट आवश्यक सहयोग गर्ने छ भन्ने विश्वास सहित मेरा भनाई अन्त गर्दछु ।
 ( माननीय रञ्जीत कर्ण र सिनेटर किशोरबिक्रम मल्लको समेत यी विषयहरुमा समहति रहेको थियो )