Thursday, March 28, 2013

थारमारे हत्याकाण्ड : वर्गसंघर्षमा क्रमभंगता

शहीद धनबहादुर थापा र खिमबहादुर डिसी ।


स्मृतिको पानाबाट,
थारमारे हत्याकाण्ड: वर्गसंघर्षमा क्रमभंगता
– रमेश मल्ल
२०५४ पुष,माघतिर हिउदको मौसम चिसै थियो । अखिल(क्रान्तिकारी) सल्यानको जिल्ला समिति बैठकको लागि शिवरथस्थित भरत भावुक सरको घरमा सम्पर्क गर्न भनियो । भरतसरको सम्पर्क हुँदै साँझको खाना खुरखुरे प्रेम वली प्रभातको घरमा खायौं । रात परेपछि गन्तव्यतिर पाइला चाल्यौं, जहाँ हाम्रो बैठक आयोजना गरिएको थियो । त्यहाँ पुगेपछि थाहा भयो, हामी ढाकाडाम गाविस – ८ किमटाकुरा पुगेका रहेछौं । बैठकमा पार्टीको तर्फबाट विद्यार्थी फ्रया्क्सन इन्चार्ज कमरेड टेक बहादुर बस्नेत सञ्जय र संगठनको केन्द्रीय समितिको तर्फबाट वैकल्पीक केन्द्रीय समिति सदस्य गोपाल शर्मा उपस्थीत हुनु भएको रहेछ । एकातिर भुमिगत पार्टी नेतृत्वको उपस्थीति अर्कोतीर अध्यक्ष चन्द्रबहादुर रानालाई राज्यले लगाएको झुट्ठा मुद्धा र वारेन्ट, खुला रुपमा बैठक सम्पन्न गर्ने अवस्था थिएन ।
अनेरास्ववियू(क्रान्तिकारी) को १४ औं राष्ट्रिय सम्मेलन व्यापक धरपकड र प्रतिरोधकाबित भर्खरै काठमाडौंमा सम्पन्न भएको थियो । राष्ट्रिय सम्मेलन पछि सम्पन्न भएको केन्द्रीय समिति बैठकका निर्णयलाई जिल्लाको सन्दर्भमा लागु गर्न बैठक बोलाईएको रहेछ । बैठकमा संगठनात्मक निर्णय पनि गरीयो । सोही बैठकबाट संगठनका अध्यक्ष चन्द्रबहादुर राना विदाई हुनुभयो भने उपाध्यक्ष टिकाराम वली अध्यक्ष चुनिनु भयो । सोही बैठकले मलाई जिल्ला समिति सदस्यको बैद्यता प्रदान ग¥यो । पार्टीको निर्देशन र संगठनको केन्द्रीय योजना मुताविक वलिदान दिवसको अवसरमा संगठनले जिल्लास्तरीय केन्द्रीकृत जनप्रर्दशन र सभा गर्ने निर्णय गरीयो । त्यतीन्जेलसम्म सल्यानमा विद्यार्थी संगठनका गतिविधिहरु खुला रुपमा हुँदै आएका थिए तसर्थ उक्त कार्यक्रम थारमारेमा सम्पन्न गर्ने पनि बैठकले निर्णय ग¥यो ।
जनयुद्ध तेश्रो बर्षमा प्रवेश गर्दै थियो । वर्गसंर्घषले घनिभुत आकार ग्रहण गर्दै थियो । रोल्पा र रुकुमसङ्गै सल्यानमा पनि वर्गसंर्घषका घटनाहरुको सञ्चार र प्रभाव विस्तार भैरहेको थियो । उक्त प्रभावलाई रोक्न  प्रतिक्रियावादीहरु जनतामा चरम दमन र अत्याचारका हथकण्डा प्रयोग गरीरहेका थिए । ०५१ को मध्यावधी निर्वाचनमा दुवै क्षेत्रबाट चुनाव जितेका काँग्रेसीहरु जिल्लामा आफ्नो एकछत्र राज कायम गर्न चाहन्थे भने एमालेहरु दमनबाट आहत भएका जनतालाई आफ्नो  सदस्यता भिडाउने अभियान चलाईरहेका थिए । यसले जनआक्रोशको मात्रालाई झनै बढाईरहेको थियो । हामीले थारमारेमा हजारौं जनसमुदायका बिचमा वलिदान दिवसको शान्तिपुर्ण कार्यक्रम गर्ने योजना बनायौं । त्यतीबेला १ नं. इलाकामा प्रेम वली, भागीराम वटाला (शहिद) र रेशम पुन, २ नं. इलाकामा वीरेन्द्र शाही, खगेश्वर शर्मा र रमेश मल्ल(म) तथा ३ नं. इलाकामा रमेश कुमार मल्ल लगायतका साथीहरु कार्यक्रमको जिम्मा लिएर लागेका थियौं ।
जनयुद्धको तेश्रो बार्षिकी जिल्लाका प्रायः सबै इलाकामा विविध कार्यक्रम सहित सम्पन्न भईरहेका थिए । यसले प्रतिक्रियावादीहरुको निद हराम गरेकै थियो अझ त्यसमा क्रान्तिकारीको हजारौंको जनप्रर्दशनको कुराले उनीहरु सन्तुलन गुमाईसकेका रहेछन । प्रशासनले कार्यक्रमको अघिल्लो दिन नै सदरमुकामबाट दर्जनौं कमाण्डो थारमारे पठाईसकेको रहेछ । स्थानीय प्रशासनको तर्फबाट कार्यक्रम गर्न नदिने भनेर बोलाएको सर्वदलीय बैठकमा एमालेको तर्फबाट निर्वाचित थारमारे गाविस अध्यक्ष हेमराज केसीले वैधानीक कार्यक्रम रोक्न नहुने तर्क गर्नुभएछ । त्यो कुरा हामीलाई पछि मात्र थाहा भयो ।
कार्यक्रमको दिन दुई नम्वर इलाकाका साथीहरु चौरपानीदेखि नाराजुलुश गर्दै रातपाराको पीपलबोटमा पुगेका मात्र के थियौं, कोटमौलातर्फबाट थारमारे झर्दै गरेको जुलुशमा पुलीसले गोली चलाएको आवाज सुनियो । भागदौड भएको दृष्य हाम्रै आँखाले देख्यौं । पुलीसले हवाई फायर गर्दै केहि साथीहरुलाई गिरप्तार गरेछ । यो दृष्यले हामीलाई आक्रोशीत तुल्यायो । साथीहरु सिंह झैं गर्जीएर नारा लगाए र ओरालो झरे, खगेश्वर शर्मा र मैले जुलुशलाई सीधै थारमारे लैजानु भन्दा बाघचौर लैजान उचित हुने निष्कर्ष निकाल्यौं र सहायक बाटो भएर बाघचौर पु¥यायौं । खरीबोटतिरबाट आउदै गरेको ठुलो जुलुश अझै आईपुगेको थिएन तर फाँसीवादी सत्ताका बर्दिधारी र चाटुकार भने हामीलाई झम्टीन आईपुगे । कमाण्डो प्रहरीसङ्ग केही तरवार बोकेका र केही भरुवा बन्दुक बोकेका मुकुण्डोधारीहरु पनि थिए । राइफलका कुन्दा, बुट, लाठी र तरवार एकैसाथ चलाईयो । हामी निहत्था बिद्यार्थी माथिको यो बर्बरता सम्झँदा पनि घृणाको पहाड चुलीन्छ ।  धनबहादुर थापाले पुलीसलाई सहजै झण्डा खोस्न दिनु भएन, केहिबेर प्रहरी र उहाँबिच तानातान भो, अरु सिपाही थपीए र उहाँलाई घिर्सार्दै अलिक पर लगेर हामै्र अगाडि गोली हाने । मेरै छेउमा एक जना भद्र मानिस पुलीससङ्ग “यो त मानवअधिकारको हनन भो” भन्दै थिए । पुलीस र मुकुण्डोधारीले “ल तेरो मानवअधिकार” भन्दै तरवार र कुन्दा प्रहार गरे । उनी रक्ताम्य भैसकेका थिए, घिर्सार्दै अलीक पर लगेर उनीलाई पनि गोली हानियो । मलाई पछि मात्र थाहा भयो उनी नै हेमराज केसी रहेछन । एक युवक जसले पुलीसलाई केही भन्न खोज्दै थिए, उनीलाई नियन्त्रणमा लिईएको थियो । घर पछाडि लिएर गोली हानिएछ सायद, उनी थारमारेका शिक्षक खिमबहादुर डि सी रहेछन ।
त्यतीन्जेलसम्म हामीले प्रहरीको घेराभित्र बन्दुकको कुन्दाको धेरै चोट खाईसकेका थियौै । कता फुत्कीने, कता लाग्ने सोच्ने अवस्था थिएन । त्यतीनै बेला एकजना पुलीसले मेरो पीठ्युमा नराम्रोसंग लात हान्यो र भाग साला भनेर करायो । म हुत्तीएर सडक किनारामा पुगें अनि त्यहीबाट उठेर टाप कसें । बन्दुक पड्कीरहेको हुनाले कतिजनाको कायरतापुर्वक हत्या गरीयो यकिन थिएन । हामी बाघचौरको माथि ढिस्कोमा उक्लियौं । खरीबोटतीरबाट आएको जुलुशमा पनि गोली चलाएर तीतरवितर पारियो । संगठनका जिल्ला अध्यक्ष टिकाराम वली हामी उक्लेको ढिस्कोमै आईपुग्नु भयो अनि हामीले त्यही ढिस्कोमा गोरखाबाट शुरु भएको वलीदानको इतिहासलाई सल्यानबाट नयाँ उचाई प्रदान गर्ने शहीदहरुप्रति भावपुर्ण श्रद्धाञ्जली अर्पण ग¥यौं । दाई खिम बहादुर डिसीको हत्याको खबरले बहिनी सुम्निामा डिसी लगायत हामी सबैजना स्तब्ध थियौं । यो शहादत्त सल्यानको लागि जनयुद्धको पहिलो वलिदान थियो । हामी आफु सहित सहिद परिवारलाई सम्हालिन र शोकलाई शक्तिमा बदल्न अपील ग¥यौं । कार्यक्रममा टीकाराम वली र सुर्यविक्रम राना (हाल शहिद)ले सम्वोधन गर्नुभयो । गणेश शाही उमेरले सानो मान्छे कार्यक्रममा हामीसँगै आएका थिए । भागदौडमा उनको घाँटीनेरको हाड भाँचीएछ, हामीलाई अर्को आपत आईलाग्यो । घटनाको भोलीपल्ट रेडियोले थारमारेमा सुरक्षाकर्मी सङ्गको मुठभेडमा परी तीन “आतंककारी”को मृत्यु भएको सामाचार प्रशारण ग¥यो । उक्त बर्बर हत्याको घटनालाई आफ्नै नजरले देखेका सल्यानी जनतालाई यो हदको निकृष्ट प्रचारवाजीले गर्दा सल्यानमा प्रतिक्रियावादी सत्ताका बाँकी रहेका सबै बस्त्र उतारिदियो ।
प्रतिक्रियावादीहरुलाई लगेको हुँदो हो हत्या र आतंकले जनता हत्तोत्साहित हुनेछन तर स्थिति उल्टो भयो । जनतामा राज्यप्रति घृणाको सीमा रहेन । हत्या र आतङ्कको स्थान आक्रोश र बदलाको भावले लियो । स्थानीय काँग्रेस कार्यकर्ताहरुमा भागदौड मच्चीयो । एमालेभित्रका इमान्दार मान्छेहरु क्रान्तिकारी धु्रविकरणको प्रक्रियामा सामेल हुन थाले । अझ त्यसमा प्रतिक्रियावादीकै संरक्षणमा नेता प्रकाश ज्वाला थारमारेमा श्रद्धाञ्जली सभामा सहभागी हुँदा जनताहरुले सार्वजनिकरुपमै नकारात्मक टिप्पणी गरे । घटनाको १३ औं दिनको तीथीमा संगठनका केन्द्रीय कोषाध्यक्ष लेखनाथ न्यौपानेको उपस्थीतिमा खरीबोटमा विशाल श्रद्धाञ्जली सभा सम्पन्न भयो । जिल्लाव्यापी रुपमा शहिदप्रति श्रद्धाञ्जली सभा र प्रतिक्रियावादी सत्ताको भण्डाफोर सभाको आयोजना गरीयो । जनसरोकार मञ्च सल्यानको नाममा जिल्लाका दक्षिणी गाविसहरुमा अभियान सञ्चालन गरीयो । जसले जिल्लाव्यापी रुपमा माओवादीको पक्षमा सकारात्मक राजनितिक माहोल खडा भयो । सारमा भन्दा थारमारे हत्याकाण्डले सल्यानको वर्गसंघर्षमा पुरानो निरन्तरताको अन्त्य र नयाँ निरन्तरताको सुरुवात गरीदियो । वलीदानको नयाँ आयाम र जनप्रतिरोधको नविनतम् आधार खडा गरिदियो । वलिदान खेर जाँदैन बरु त्यसले जनतामा चेतना, जागरण र विद्रोहको लाभा बनेर लहराउँछ भन्न्ने मान्यतालाई यसले सल्यानमा स्थापीत गरि छाड्यो । जसको शिक्षा समाज रुपान्तरणको आगामी यात्रामा पनि मार्गनिर्देशक बनिरहने छ ।   
– ०६७।११।१४, कोटेश्वर   

थारमारे हत्याकाण्ड : जनयुद्धका प्रथम शहीद दिलबहादुर रम्तेलको सम्झनामा बलिदान दिवस मनाउने क्रममा २०५४ फागुन १४ गते सल्यानको थारमारेमा विद्यार्थी खिमबहादुर डिसी, धनबहादुर थापा र तत्कालीन नेकपा एमालेका थारमारे गाविस अध्यक्ष एवम् मानवअधिकारकर्मी हेमराज केसीको प्रहरीले निर्ममतापूर्वक हत्या गरेको थियो ।

No comments:

Post a Comment