Friday, September 20, 2019

पार्टी एकता र आगामी राजनैतिक कार्यदिशाबारे


सामन्तवाद र साम्राज्यवादका विरुद्धको संघर्षमार्फत नेपाललाई एक स्वाधिन र सम्मुनत जनवादी मुलुक निमार्ण गर्ने उद्देश्य सहित कम्युनिष्ट पार्टीको स्थापना भएको ६९ बर्ष पुरा भएको छ । सात दशक लामो नेपाली कम्युनिष्ट आन्दोलनको इतिहासमा त्याग, तपस्या र वलिदानका अद्धितिय गौरवशाली गाथा निमार्ण गर्दै र टुट फुट र विभाजनका अनेकौं मोडहरु पार गर्दै वर्तमान अवस्थामा आईपुगेको छ ।


नेपाली समाजलाई समान्तवादको चंगुलबाट मुक्त गरि संघीय गणतन्त्र नेपाल स्थापना गर्न सफल नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले) का रुपमा संगठित दुई ठुला कम्युनिष्ट पार्टीहरु समाजवादको गन्तव्यमा पुग्ने शान्तिपुर्ण प्रतिस्पर्धाको राजनैतिक बाटोमा सहमत हुदै एकीकृत भएका छन । पुष्पलाल लगायत नेकपाका संस्थापकले देखेको सपना आज पुरा हुने अवस्था निमार्ण भएको छ । महान जनयुद्धको गौरवशाली आधारमा खडा भएको ऐतिहासिक जनआन्दोलनको सफलतासँगै  देशमा गणतन्त्रको घोषणा भयो । संविधानसभाबाट संविधान निमार्ण र संविधान कार्यान्वयनको पहिलो पाईलामै भएको संघ, प्रदेश र स्थानीय तहको निर्वाचनबाट करिब दुई तिहाई जनमत कम्युनिष्ट पार्टीलाई प्राप्त हुनु कम्युनिष्ट आन्दोलनका ऐतिहासिक उपलब्धि हुन । यो सफलता नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले)ले पार्टी एकताको प्रतिवद्धतासहित निर्माण गरेको वामगठबन्धन र त्यसलाई नेपाली जनताको तर्फबाट गरिएको अनुमोदनको अभिव्यक्ति थियो । 

लामोसमय देखिको बहस र अन्र्तक्रियाको परिणाम नेकपा(माओवादी केन्द्र) र नेकपा(एमाले) ले २०७४ असोज १७ गते पार्टी एकतालाई केन्द्रमा राखेर पार्टी एकता संयोजन समितिको घोषणा र निर्वाचनमा वामगठबन्धन बनाएर अघि बढ्ने ऐतिहासिक सहमति गरेका थिए । दुई पार्टीका दुई अध्यक्षबाट हस्ताक्षरित ऐतिहासिक घोषणापत्रमा भनिएको थियो, “फरक फरक पृष्ठभुमीकासाथ अघि बढेका हामीहरू राष्ट्रिय सार्वभौमिकता, स्वाधिनता, भौगोलिक अखण्डता, राष्ट्रिय हित एवं स्वाभिमानको रक्षा गर्दै संविधानसभाबाट पारित नेपालको संविधानको रक्षा, प्रयोगको क्रममा देश र जनताको आवश्यकता अनुसार परिमार्जन र विकास गर्दै लोकतान्त्रिक प्रणाली र शान्तिपुर्ण प्रतिष्पर्धाको माध्यामबाट सामाजिक, आर्थिक तथा सांस्कृतिक रुपान्तरण गर्ने र समृद्ध, सम्मुनत एवं न्यायपुर्ण समाजको निर्माण गर्दै समाजवादका आधारहरु तयार गर्ने साझा निष्कर्षमा आईपुगेका छौं । नेपाली जनताले एकतावद्ध कम्युनिष्ट पार्टीको नेतृत्वमा मुलुक अघि बढेको देख्न चाहेका छन । हाम्रो पृष्ठभुमी र जनताको चाहना एवं आवश्यकत्ताले पनि हामीलाई एकतावद्ध हुन र एकीकृत कम्युनिष्ट पार्टी निर्माण गर्न निर्देशित गरिरहेका छन । तसर्थ हामी हाम्रो आफ्नै अनुभव र जनता एवं राष्ट्रको आवश्यकत्तालाई हृदयङ्गम गर्दै एउटै कम्युनिष्ट पार्टी निमार्ण गर्न सहमत भएका छौं । ”

पार्टीको यो घोषणालाई नेपाली जनताको झण्डै दुईतिहाई जनमतले अनुमोदन गरिसकेको छ । संघ, प्रदेश र स्थानीय तहका सदन र सरकारमा कम्युनिष्ट पार्टीको दुई तिहाईको वर्चश्व स्थापित बन्न पुगेको छ । निर्वाचनको क्रममा पार्टीले उठाएका एजेण्डा अब पार्टीका होइनन । राष्ट्रका एजेण्डा बन्न पुगेका छन ।

पार्टी एकताकै प्रक्रियामा र एकताको घोषणासम्म आउँदा पार्टीको नाम, नेतृत्व, मार्गनिर्देशक सिद्धान्त, रणनीति, राजनैतिक कार्यदिशा, तत्कालीन कार्यनिति, विघि विद्यान, नियमावली लगायतका पार्टीका करिब ९९ प्रतिशत वैचारिक राजनैतिक तथा संरचनागत मुद्धाहरुको पनि निरुपण भैसकेका छन । भलै समाजवाद निमार्णका अन्र्तवस्तु र त्यसको प्राप्तीको लागि गरिने कर्महरुको बारेमा थुप्रै वहस र संघर्षहरु हुन सक्छन । ती भने भोलीको दिनमा क्रमशः आईपर्ने कार्यसुचीहरु हुन ।

२०७५ फागुन ७ गते नै एकीकरणका प्रारम्भिक आधारहरुलाई सात बुँदे सहमतीमा लिपीवद्ध गरियो । उक्त सहमतिलाई पार्टी एकता घोषणासम्म अझ समृद्ध बनाउँदै सात बुँदेमा किनारा नलागेका विषयलाई पनि टुंगोमा पु¥याउने काम भैसकेको छ । एकीकृत पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रहने उल्लेख गरियो । पार्टीको निर्देशक सिद्धान्त माक्र्सवाद – लेनिनवाद – जनताको जनवाद राख्ने निर्णय भयो । नेकपा(एमाले)ले जनताको बहुदलीय जनवाद अन्र्तगत अबलम्वन गरेको शान्तिपुर्ण प्रतिष्पर्धामार्फत श्रेष्ठता हाँसिल गर्ने मान्यता र नेकपा(माओवादी केन्द्र)ले शान्ति सम्झौता र त्यसपछिका लोकतान्त्रिक अभ्यासद्वारा शान्तिपुर्ण बहुदलीय प्रतिष्पर्धामार्फत आफ्नो श्रेष्ठता हाँसिल गर्ने लगायतका मान्यता समान रहेको कुरा स्पष्ट पार्दै नेकपा(एमाले)ले अवलम्वन गर्दै आएको जनताको बहुदलिय जनवाद र नेकपा(माओवादी केन्द्र) ले अवलम्वन गर्दै आएको माओवाद र एक्काईसौं शताब्दीको जनवाद सम्वन्धी विषयलाई महाधिवेशनसम्म विधिसम्मत वहसको विषय बनाउने भनिएकोमा पार्टी एकताको घोषणासम्म आउँदा यसलाई तत्काल जनताको जनवाद भन्ने निर्णय पनि भैसकेको छ ।  

मुलभुत रुपले सामन्तवादको अन्त भई नेपाली समाज पुँजीवादको चरणमा प्रवेश गरेको र पुँजिवादी जनवादी क्रान्ति आधारभुत रुपले भिन्न तरिकाले पुरा भएको हाम्रो निष्कर्षले नयाँ चरणमा पुँजिवादी जनवादी क्रान्ति वा जनताको जनवादी क्रान्ति सम्पन्न गर्ने रणनिति वा आम राजनितिक कार्यदिशामा परिर्वतनको माग गर्दछ । प्रगतिशिल राष्ट्रिय पुँजिवादी उत्पादक शक्तिको विकास कम्जोर रहेको नेपालको वर्तमान अवस्थामा दलाल तथा नोकरशाही पुँजिवाद नै नेपाली पुँजिवादको मुल प्रवृति बनेको छ । तसर्थ तत्कालीन रुपमा समाजवाद होइन समाजवादको आधार तयार पार्ने समाजवाद उन्मुख राष्ट्रिय औद्योगिक पुँजिवादको विकास अनिवार्य कार्यभार हुन जान्छ । त्यसैले नेपाली क्रान्तिको दिर्घकालीन र रणनैतिक लक्ष समाजवादको स्थापना गर्नु वा समाजवादी क्रान्ति सम्पन्न गर्नु भएतापनि तत्कालीन रुपमा दिशा निर्देशित गर्ने विशिष्ट राजनितिक कार्यदिशाको आवश्यक बन्न जान्छ र उक्त विशिष्ट राजनैतिक कार्यदिशाको कार्यान्वयनले आम राजनैतिक कार्यदिशा निमार्णको आधार तयार गर्दछ भन्ने पार्टीको निष्कर्ष रहेको छ ।

नेपालको संविधानको प्रस्थापनामा नै भनिएको छ कि यो संविधान समाजवाद उन्मुख संविधान हो र नेपालको आगामी गन्तव्य समाजवादमै हो । तर, समाजवाद निमार्णको बाटो के हो र समाजवादको चरित्र कस्तो हुन्छ अर्थात समाजवाद कस्का लागि भन्ने कुरा अहं महत्वको प्रश्न हो । नेपालमा प्रजातान्त्रीक समाजवाद, समाजवाद, बैज्ञानिक समाजवाद आदी विभिन्न नामका समाजवादको नारा लगाउनेहरुको कमी छैन । के यसरी भनिएका सबै समाजवाद मेहेनेतकश सर्वहारा श्रमजिवी जनताको लागि हो ? यदी होइन भने हामीले भनेको समाजवाद कस्तो होला ? सोभियत समाजवादका कम्जोरीबाट शिक्षा लिंदै आजका युगका विशेषताहरु समावेश गरिएको समुन्नत समाजवाद हाम्रो समाजवादको गन्तव्य हुनुपर्दछ । 

नेकपाले यो प्रष्ट गरेको छ कि, “अबको समाजवादमा लोकतन्त्र वा जनवादको अभ्यासलाई कुण्ठीत हुन दिईने छैन बरु सुनिश्चत गरिनेछ । आम जनसमुदायबीच लोकतान्त्रिक अधिकारको उपभोग, मुख्यत संगठन, अभिव्यक्ति, आलोचना र विरोध, सिर्जना र व्यक्तिगत स्वतन्त्रतालाई प्रत्याभुत गरिनेछ । साथै राज्यसत्ता सञ्चालनमा आम जनसमुदायको संस्थागत सहभागिता एवं निर्णायक भुमिकालाई सुनिश्चित गरिनेछ । त्यसका निम्ति विचार र कार्यक्रमको आधारमा राजनैतिक पार्टीहरुको गठन, संचालन र बहुदलीय प्रतिष्पर्धाको प्रणाली अबलम्बन गरिनेछ । वालिग मताधिकार, आवधिक निर्वाचन, निर्वाचित जनप्रतिनिधि संस्था र सरकार, प्रतिपक्ष, विधिको शासन, शक्ति पृथकिकरण, जस्ता विषयहरु यसका अभिन्न अंग हुनेछन । राजनीतिक क्षेत्रमा पार्टी स्वतन्त्रता र बहुदलीय प्रतिष्पर्धाका अतिरिक्त समाजवादी लोकतन्त्रलाई अझ उन्नत बनाउने थप प्रभावकारी विधि, संयन्त्र एवं उपायको विकासमा ध्यान दिईनेछ । ” 

”समाजवादको नाममा राज्य नोकरशाही पुँजीवादलाई बैधता दिने गरि वा त्यसलाई प्रश्रय दिने अर्थतन्त्र अवलम्वन गरिने छैन । सर्वहारा श्रमजिवी वर्गको सत्ता, आम सर्वहारा श्रमजीवीवर्ग माथिको उत्पीडनको अन्त्य, उत्पादक शक्तिको पुर्ण विकास, आम सर्वहारा श्रमजिवीलाई आर्थिक न्याय र सुखद जीवनयापनको सुनिश्चितता, आर्थिक उत्पादनको प्रचुरता, समन्यायिक वितरण, सहकारिताको सही प्रयोग, पर्यावरणको रक्षा अवको समाजवादी आर्थिक मोडेलको सामान्य विशेषता हुनेछ । हामी यसलाई ठोस रुपमा थप विकास गर्दै लैजाने छौं ।“ पार्टीले स्पष्ट गरेको छ ।

नेपाली जनताको विकास, प्रगति र समृद्धिको तिब्र आकाङ्क्षाको सम्वोधन वर्तमानको मुल आवश्यकता हो । एकातिर चुलिँदो जनअपेक्षा र आवश्यकता, अर्कोतिर अविकसित, पिछडिएको र विपन्न आर्थिक अवस्थाबीच ठुलो अन्र्तविरोध खडा भएको छ ।  तसर्थ राष्ट्रिय औद्योगिक पुँजीवादको विकास र समृद्धिको बाटोमा अवरोध उत्पन्न गर्ने वर्ग, शक्ति, प्रवृति र तत्वहरु मुलतः दलाल तथा नोकरशाही पुँजीवाद र सामन्तवादका अवशेषहरुसँगको नेपाली जनताको मुख्य अन्र्तविरोध रहेको छ । राज्यको नेतृत्वदायी भुमिका र प्रभावकारी ढंगले सुशासनको कार्यान्वयनद्वारा दलाल पुँजीको नियन्त्रण र रुपान्तरण गर्दै राष्ट्रिय पुँजीवादी उत्पादक शक्तिको विकास नगरी बेरोजगार, अर्धबेरोजगार, गरिब, सुकुम्वासी र श्रमिकहरुको अहिलेका समस्या समाधान गर्न सकिदैन । कृषिको आधुनिकिकरण, व्यवसायीकरण र यान्त्रिकिकरणको दिशामा मुलुकलाई लैजान सकिदैन ।

पुँजीवादी जनवादी क्रान्तिका बाँकी कार्यभार पुरा गर्दै समाजवादको आधार निर्माण, राष्ट्रिय पुँजीवादी उत्पादक शक्तिको विकास, राष्ट्रिय पुँजीवादी आर्थिक क्रान्ति र समृद्धि आजको मुल कार्यभार हो । आजको भुमण्डलीय साम्राज्यवादसँग संघर्ष नगरिकन र अर्थतन्त्रलाई समाजवादउन्मुख नबनाईकन राष्ट्रिय पँुजीको विकास गर्न सकिन्न । त्यसैले समाजवाद उन्मुख राष्ट्रिय पुँजीवादको विकास र सामाजीक न्याय सहितको समृद्धि हाम्रो आजको तत्कालीन दिशा र कार्यभार हुनु पर्दछ ।

यसको लागि संविधान कार्यान्वयन र विकास, शान्तिपुर्ण बहुदलिय प्रतिस्पर्धामार्फत सरकार निर्माण, राष्ट्रिय स्वाधिनताको रक्षा, समाजवाद उन्मुख समावेशी लोकतन्त्रको सफल प्रयोग, सामाजीक न्याय सहितको समृद्धि र समाजवादको आधार निर्माण नै हाम्रो मुल राजनैतिक कार्यनीति हुनु पर्दछ । यो तत्कालै फेरबदल हने सामान्य कार्यनीति होइन । यसो भन्नुको मतलब अबको केही दशक यही कार्यनीतिले नेपाली राजनीतिलाई मार्गनिर्देशन गर्नेछ । यो विशिष्ट राजनैतिक कार्यदिशा अन्र्तगत तत्कालीन परिस्थिति, शक्ति सन्तुलनमा हुने हेरफेर अनुसार अन्य कार्यनीतिहरुको निर्माण र कार्यान्वयन गर्दै अघि बढिने निश्चित छ । समाजवादको आधार तयार भईसकेर समाजवादमा रुपान्तरणको लागि भने यो विशिष्ट कार्यदिशा परिवर्तन हुनेछ भन्ने पार्टीको निष्कर्ष रहेको छ । 

नेपालको कम्युनिष्ट आन्दोलन आजका दिनका आईपुग्दा निकै ठुला ठुला संघर्ष र वलिदानका अद्धितिय श्रृखलाहरु तयार भएका छन । क्रान्ति, युद्ध, जनयुद्ध र जनसंघर्षका आधिमय उथलपुथलकारी इतिहासकाबीच नेपाल समाज सामन्तबादको जरो उखेल्दै पुँजीवादको दिशामा अघि बढेको छ । वर्गसर्घषमा मात्र होइन पार्टीको आन्तरिक जीवनमा पनि ठुला ठुला बैचारिक राजनैतिक संर्घषका भुल्काहरुसँगै लडदै र त्यसमाथि विजयी बन्दै कम्युनिष्ट आन्दोलन यहाँसम्म आईपुगेको हो ।

सामन्तवाद र साम्राज्यवादका विरुद्ध जनवादी क्रान्ति सम्पन्न गर्ने कार्यदिशा बोकेर २००६ सालमा पुष्पलालको अगुवाईमा बनेको नेपाल कम्युनिष्ट पार्टी लामो समयसम्म पुष्पलालको लागि विरानो भयो । पार्टीको नेतृत्वमा आएका चरम अवसरवादी र दक्षिणपंथी प्रतिगामी नेतृत्वको कारण छिन्नभिन्न कम्युनिष्ट आन्दोलनलाई एकत्रित गर्न २०२५ तिर गएर पुष्पलालले पुनः प्रयत्न गर्नुभयो तर सफलता प्राप्त हुन सकेन । यही सेरोफेरोमा झापाली क्रान्तिकारी युवाहरुले शुरु गरेको वर्गशत्रु खतम पार्ने अभियानबाट शुरु भएको अर्को प्रयत्नले नयाँ पुस्तालाई क्रान्तिकारी कम्युनिष्ट पार्टीको शिक्षाले दिक्षित गर्ने काम मात्र गरेन, त्यही झापा आन्दोलनको रक्तरंजीत झण्डा बोकेका एक योद्धा अहिले नेकपाको अध्यक्ष र प्रधानमन्त्री हुनुहुन्छ । साथै नेपाली कम्युनिष्ट आन्दोलनलाई लोकतान्त्रीक प्रतिस्पर्धाको बाटोबाट हिडाई कम्युनिष्ट आन्दोलनलाई राजनितिको मुलधारमा पुर्याउने र त्यसलाई रुपान्तरणको लागि जनसंघर्षको बाटो देखाउने जनताको बहुदलीय जनवादका प्रणेता जननेता मदन भण्डारीलाई हामी कदापी भुल्न सक्दैनौ । सोही अबधिमा कम्युनिष्ट पार्टी निर्माण र ध्रुविकरणको लागि शुरु भएको केन्द्रीय न्युक्लियस चौम हुदै कमरेड प्रचण्ड नेतृत्वको मशालबाट माओवादी बनेको आजको एकीकृत पार्टीको अर्को रक्तरंजीत हिस्सा बन्यो । जसले १० बर्षको महान जनयुद्धको माध्यमबाट नेपालमा सामन्ती राजतन्त्रको जरो उखाल्न निर्णायक भुमीका पुरा गरि संविधानसभाबाट संविधान निमार्णको अभियानको मेरुदण्डको काम गरेको छ । कमरेड प्रचण्डको नेतृत्वमा नेपाली समाजको युगीन परिवर्तनलाई संभव मात्र तुल्याएन जनयुद्धकै बिचबाट माओवाद र २१ औं शताब्दीमा जनवादको विकास सम्बन्धि नयाँ वैचारिक मान्यता अघि सार्दै कम्युनिष्ट आन्दोलनलाई नयाँ वैचारिक हतियार प्रदान गर्ने काम पनि ग¥यो ।

सबल नेतृत्व र संस्थागत प्रणालीमा संचालन हुने विशाल कम्युनिष्ट पार्टी र त्यसका लाखौं प्रतिवद्ध कार्यकर्ता राष्ट्रको रुपान्तरण तथा परिवर्तनका अमुल्य सम्पति हुन । शहीद, वेपत्ता योद्धा र तीनका परिवार तथा घाईते योद्धाहरुबाट प्रेरणा लिंदै फेरी एक पटक आफु र आफ्नो परिवेशबाट माथि उठी सर्वहारा श्रमजीवीवर्ग, सिंगो देश र जनताको हितमा समर्पीत बनौं । परिवर्तन निश्चित छ र संभव छ । 
कोटेश्वर 
१५ साउन, २०७५

No comments:

Post a Comment