Thursday, April 23, 2020

स्मृतिमा घोराहीको जनसागर (सन्दर्भः लोकतन्त्र दिवश)

“सामन्ती राजतन्त्रका हामी मलामी, उदाउँदो गणतन्त्रलाई रातो सलामी” भन्दै घोराही ट्राफिक चोकमा लाखौंको सचेत जनसमुदाय, जनमुक्ति सेनाका सिभिल पोशाकमा उपस्थित सयौं योद्धाहरु र हजारौं पार्टी कार्यकर्ताले सामन्ती निरंकुश राजतन्त्रका विरुद्ध जनविद्रोहको भावना उरालेको आज ठिक १४ बर्ष भएछ । 
त्यो दिन विद्यार्थी प्रतिनिधि जीवन हमाल भनेर दिएको मेरो परिचय विद्यार्थी मात्र होइन माओवादीको परिचय थियो । गगनभेदी गणतन्त्रको नारा, घोराहीको त्यो विजयोत्सव, ओहो ,अहिले भर्खर जस्तो लाग्छ । जीवन परिवर्तन र क्रान्तिलाई सुम्पिएको लाखौं योद्धाहरुको त्यो जुलुश । आम जनता नै लोकतन्त्रका योद्धामा बदलिएको त्यो विशाल जनसमर । लाखौंको गगनभेदी आवाजले गुञ्जीएको धर्ति र आकाश, बैसाखको धुपमा प्रत्येक घरका छतबाट गरिएको जलवृष्टी र पुष्पवृष्टी, जसले विजयोत्सवको सन्देश जनजनमा प्रवाहित गरिरहेको थियो । जुलुशले निरंकुश राजतन्त्रका विरुद्ध नारा होइन लाभा ओकलिरहेको थियो । जुलुशको बिचबाट कार्यक्रमको मञ्चमा उक्लिदा शरिरका सबै जीवित तन्तु मात्र होेइन रौँ रौं पनि यति उद्देलित थिएकी त्यसको वयान गरि साध्य छैन । नयाँ नेपालको सपना, अग्रमोर्चाका जनता र जनमुक्ति सेनाको नाममा हुने प्रत्येक अभिव्यक्तिमा पुरै मास जुरुक्कै उठ्थ्यो र आकाश गुञ्जाएमान हुन्थ्यो । अहो⁄ त्यो उद्देलन, त्यो उल्लास, त्यो महाउत्सब, त्यो उत्सर्गको भावना कति विशाल र सुन्दर थियो । मान्छे गणतन्त्रको लागि सेकेन्ड, सेकेन्डमा आफुलाई बलि चढाउन तयार थियो र त सामन्ती निरंकुशता इतिहासको कुडाकर्कटमा फालियो ।
आज म सम्पुर्ण क्रान्तिकारी जनसमुदाय, जनमुक्ति सेनाका योद्धाहरु, नेतृत्व जसले मलाई त्यो विजय उद्घोषको वक्ता बनायो, सलाम गर्दछु । हामीलाई विजयको त्यो माहोलमा पुर्याउने महान शहीदहरुमा हार्दिक सम्मान तथा अभिवादन ।
ज्ञानेन्द्र शाहीका विरुद्ध जनताको निर्णायक संघर्ष चुलिदै गएको थियो । सात राजनैतिक दल र नेकपा(माओवादी)ले १२ बुँदे सम्झौताको मर्म अनुसार नै फौजी तथा गैरफौजी अर्थात् जनयुद्ध र जनआन्दोलनको संयुक्त मोर्चाबाट सामन्ती निरंकुश राजतन्त्रमाथि प्रहार केन्द्रीत गरेका थिए । जनआन्दोलनमा हाम्रो कार्यक्षेत्र राप्ती अर्थात तत्कालीन केन्द्रीय आधार इलाकामा थियो । म त्यो क्षेत्रको अखिल(क्रान्तिकारी) को संयोजकको भुमीकामा थिएँ । पार्टीको चुनबाङ बैठक पछि चुनबाङमै बसेको संगठनको केन्द्रीय कार्यालयको बैठकले मेरो कार्यक्षेत्र सेती महाकालीबाट केन्द्रीय आधार इलाकामा तोक्यो र म बैठकबाट पश्चिम नफर्किएर राप्तीको योजना निमार्ण र कार्यान्वयनमा जुटे । 
विद्यार्थी मोर्चाको जिम्मा भएकोले स्वाभाविक रुपमा म दाङ केन्द्रीत भएँ । पुर्णबहादुर सिंह, रत्न महरा, तिलकराज भण्डारी लगायतका विद्यार्थी नेताहरु विभिन्न जिल्लाको जिम्मामा खटिरहनु भएको थियो भने दाङमा खुसिराम चौधरी लगायतका साथीहरुले मलाई सघाईरहनु भएको थियो । हामीले ०६२ फागुनको स्ववियुलाई गणतन्त्रको मुद्धामा केन्द्रीत गर्यौं । अखिलका सबै धारा र नेविसंघलाई गाउँमा बोलाएर महेन्द्र बहुमुखी क्याम्पस लगायतका क्याम्पसहरुमा संयुक्त स्ववियु निमार्णको सहमति गर्यौं । क्याम्पस चिफ तथा प्रशासनका सरहरुलाई गाउँमै बोलाएर स्ववियु पदाधिकारी टुङ्गो लगाएर घोषणा गरायौं । यो हाम्रो गणतान्त्रिक स्ववियु निर्माणको अनौठो तरिका थियो । क्याम्पसमा स्ववियुको भव्य घोषणासभा सम्पन्न भए । यसले स्ववियु सम्पुर्ण रुपले गणतन्त्रको एजेन्डा र योजनामा आईपुग्यो ।
दाङको ग्रामीण क्षेत्रलाई आधार बनाएर जनआन्दोलन र जनयुद्धलाई जोडेर उत्कर्षमा पुर्याउने योजना तथा गतिविधि अघि बढे । त्यतिबेला केन्द्रीय आधार इलाकाको इन्चार्ज क.विप्लब हुनुहुन्थ्यो भने पाँचौ डिभिजन कमिश्नार क.सुर्दशन हुनुहुन्थ्यो । क.विप्लबको संयोजनामा दाङको सैघा लगायतका ग्रामिण क्षेत्रमा राजनैतिक दल तथा नागरिक समाजका अगुवाहरुसँगको छलफल अघि बढ्यो । जनआन्दोलनको करिब एक महिना पहिले साविक नेकपा(एमाले)का राप्ती अञ्चल इन्चार्ज क. प्रकाश ज्वाला(उहाँ हाल नेकपाको कर्णाली प्रदेश सहइन्चार्ज र प्रदेश सरकारको आर्थिक मामिला तथा योजनामन्त्री हुनुहुन्छ)सँग क. विप्लब, म र दाङ जिल्ला सेक्रेटरी क. डायमण्ड बसेर छलफल गर्यौं । योजना निमार्णको अबधिमा हामीलाई पार्टी कमाण्डको तर्फबाट क.देब गुरुङले मार्गनिर्देशन गरेर गण्डक हिड्नु भएको थियो । यो अवधिमा राप्तीका धेरै वुद्धिजीवि, नागरिक समाजका प्रतिनिधि,पत्रकार, मानवअधिकारवादी, विभिन्न पेशागत तथा व्यवसायीक क्षेत्रका व्यक्तित्वहरुसँग घनिभुतरुपले छलफल, वहस र सहकार्य गर्ने मौका मिल्यो । पत्रकार नरेन्द्र केसीले पत्रकारिताको क्षेत्रलाई नजिक बनाईराख्न धेरै मद्दत गर्नुभयो । त्यतिबेला उहाँले प्रविधिको प्रयोगबारे मलाई सुझाउनु भयो । मेरो पहिलो इमेल आइडि खोलेर पासवर्ड बोकेर उरहरी पुग्नु भएको थियो । यहाँहरु सबैमा मेरो विशेष सम्झना तथा नमन ।
हामीले दाङको रामपुर, सिमलतारा क्षेत्रलाई आधार बनाएर आन्दोलनका गतिविधि घोराहीमा केन्द्रीत गर्यौं । शुरुमा रामपुर, गोग्ली, नारायणपुर जस्ता घोराही वरपर जनसभा र पिढिंसभा गर्दै हामी घोराही केन्द्रीत भयौं भने अरु दलका साथीहरु घोराही तुल्सिपुरमा जनपरिचालनको अभ्यास गरिरहनु भयो । 
बास्तवमा बैसाख १० को प्रर्दशनलाई माओवादीको तर्फबाट उत्कर्ष भनिएको थियो । पार्टीले केन्द्रीय आधार इलाकाका क्रान्तिकारी जनसमुदायलाई घाराहीमा केन्द्रीत गर्यो । आयोजकको व्यानर राख्न नागरिक समाज दाङलाई भनियो । बरिष्ठ पत्रकार तथा नागरिक समाज दाङका अगुवा नारायणप्रसाद शर्मा(गुरु)को अगुवाईमा सबै सामाजिक संघसंस्था, पत्रकार तथा मानवअधिकारवादी मित्रहरु जनताको अगुवाई गर्न तयार हुनुभयो । कार्यक्रमको अन्तिम तयारी पुरा भएको थियो र घोराहीको गन्तव्यको लागि जनताहरु टाढाबाट हिड्न शुरु गर्नुभएको थियो । बैसाख ८ गते ज्ञानेन्द्र शाहको शाही घोषणा आयो । उनी डराएका थिए तर अझै षडयन्त्रको पासोमा दलका नेताहरुलाई पार्न सकिन्छ कि भनेर अन्तिम कोशीस गरेका थिए । हामीलाई पनि नेताहरुले कतै घुँडा त टेक्दैनन भन्ने कहिँकतै आशंका थियो । आन्दोलनको राप र तापले नेतृत्वलाई अगाडि बढ्न प्रेरित गर्यो । सम्बोधन भ्रममात्र रहेको भन्दै आन्दोलन जारी राख्ने नेताहरुले घोषणा गरे । काठमाडौंको घटनाक्रम हामीले नजिकबाट नियालीरहेका थियौं । जनप्रर्दशनलाई अझ बढि प्रतिरोधात्मक बनाउने पार्टीको योजना बन्यो र हामी पुरै शक्तिका साथ तयारीमा लाग्यौं । साँच्चै कार्यक्रमले ऐतिहासिक मोड लियो र लाखौं जनसमुदाय उक्त कार्यक्रममा सक्रियतापुर्वक सहभागी भए । राप्तीमा क्रियाशिल विभिन्न संघसंस्था र नागरिक समाज आयोजक बनेको उक्त कार्यक्रममा म छद्मभेषि माओवादी बक्ता थिएँ । विगत, वर्तमान र भविष्यमा पनि सायदै त्यस्तो भाषण आउदैन होला । जनता र जनताको उत्साहले दिएको त्यो शक्ति कसरी प्राप्त हुँदोरहेछ, अहिले पनि दङ्ग पर्छु ।
तपाईहरु सबै कमरेडहरु र मित्रहरुलाई सम्झेको छु । मलाई अनुभुति भईरहेको छ, अहिले ट्राफिक चोकको त्यो विशाल जनसागरको बिचमा रहेको मञ्चमा उभिएको छु । तपाई कमरेडहरु शरिरको कपडा उचालेर, मान्छेले मान्छेलाई आकाशमा उचाल्दै, सिटि बजाउँदै हुटिङ गरिरहनु भएको छ । मैले भिडमा तपाईहरुका अनुहार तिब्रवेगमा पढिरहेको छु । मलाई झन झन जोश बढिरहेको छ । जनमुक्ति सेना नेपाल जिन्दावाद भन्दैछु । नेताहरुलाई भनिरहेछु, जनतालाई धोका दिन पाईदैन । अहो अहिले जस्तै, अझैं भाषण जारी छ झैं लागिरहेछ ।
कार्यक्रम सकेर कामरेडहरु जिल्ला फर्किदै गर्दा भोलीपल्ट ११ गते ज्ञानेन्द्र शाह गलेको, थाकेको, हारेको दिन थियो र महान नेपाली जनताले जितेको दिन थियो । ज्ञानेन्द्र शाहले बैसाख ११ गतेको सम्बोधनमार्फत जनताको नासो जनतालाई सुम्पीएको घोषणा गरे र नारायणहिटी छोडेर नार्गाजुनतिर बाटो तताए । नेपाली जनताले बैसाख ११ मा सामन्ती राजतन्त्रमाथिको विजयोत्सव मनाए । नेपाल सरकारले बैसाख ११ लाई लोकतन्त्र दिवसको रुपमा मनाउने निर्णय गर्यो ।
जनयुद्ध र जनआन्दोलनको योगफल बनेको नेपालको लोकतान्त्रिक आन्दोलन र त्यसको रापतापमा संविधानसभाबाट संविधान निमार्ण भएकोछ । संविधान कार्यान्वयनको प्रक्रियामा तीन तहका सरकार बनेका छन र नेकपालाई सबै तहमा दुईतिहाईको जनमत प्राप्त भएको छ ।  आज नेकपाका सामु सिंगो मुलुकको विकास र समृद्धिको ऐतिहासिक दायित्व छ । कोभिड १९ जस्तो विश्व महामारीका विरुद्धको लडाईमा नेपालको तर्फबाट सिँगो मानवजातीसँग हातेमालो गर्नुछ । मानवजाती र नेपालीजातीको हितको लागि मुलुकमा विनाकुनै आग्रह वृहत राष्ट्रिय एकता जरुरी भएको छ । तर हामी “जो अगुवा उही बाटो हगुवा” भनेजस्तो गरिरहेका छौं । हाम्रो कुनै पनि कर्म र मर्म लोकतन्त्रलाई समृद्ध बनाउने हुनुपर्दछ नकी कम्जार बनाउने । तसर्थ जनताको रगत पसिनाबाट आर्जित लोकतान्त्रिक मुल्य र मान्यतालाई कुनै पनि बहानामा कम्जोर नबनाउँ, कम्जोर बन्न नदिउँ, लोकतन्त्र दिवसको यहाँहरु सबैमा शुभकामना । आजको दिनको विशेष सम्झना । धन्यवाद ।
२०७७ बैसाख १० काठमाडौं ।
Thanks:Narendra Kc,Durgalal Kc and Dilli Malla

No comments:

Post a Comment