Wednesday, March 06, 2013

कैदी भगाउनेदेखि शैक्षिक बहससम्म

Naya Patrika_'Saptaranga' Magh 10, 2069

जनयुद्धमा हुँदा विद्यार्थीको भूमिका

नेपालमा माओवादीको जनयुद्ध चलिरहेको वेला विद्यार्थी संगठन वा विद्यार्थीको काम जनतामाझ जाने र क्रान्तिबारे प्रचार गर्ने र पार्टीको विचारधारालाई स्थापित गर्ने, गराउने थियो । जनयुद्ध सामाजिक र सांस्कृतिक परिवर्तनका लागि हो भन्ने स्थापित गराउनु थियो ।
हामी एउटा राजनीतिकर्मी र अर्को संगठनात्मक हिसाबले जनतामाझ जाने गथ्र्यौं । संगठनलाई दुई हिसाबले विस्तार गर्‍यौँ । गाउँमा पुरानो सत्ताको उपस्थिति हुन छाड्यो, हामीले खुला रूपमा राजनीतिक गतिविधि सञ्चालन गर्‍यौँ । सहरमा भूमिगत भएर संगठनको विस्तार र राजनीतिक गतिविधि अगाडि बढायौँ ।
व्यक्तिगत रूपमा भन्नुपर्दा म कञ्चनपुरदेखि दाङसम्मका क्याम्पसमा संगठनात्मक विकास कार्यमा लागेँ । गाउँ क्षेत्रमा खुला रूपमा संगठन विस्तार गरियो । जनयुद्ध सुरु हुँदा सहरमा संगठन खुला थियो, गाउँमा भूमिगत थियो । सहरमा ०५७ सालसम्म खुला रूपमा गतिविधि गर्‍यौँ । पछि परिस्थिति ठ्याक्कै उल्टो भयो । गाउँ खुला र सहर भूमिगत भयो । लडाइँको मुख्य केन्द्र सहर भयो । हामी आफ्नै संगठनको विस्तारमा थियौँ । अखिल क्रान्तिकारीले जनयुद्धका लागि ठूलो जनशक्ति निर्माण गर्‍यो । हामीसँग धेरै विद्यार्थी आबद्ध हुन्थे । उनीहरू प्रशिक्षित हुन्थे र जनमुक्ति सेनामा जान्थे । अखिल क्रान्तिकारीले जनमुक्ति सेनाको व्यवस्थापनको काम गर्दथ्यो । उनीहरूको खानेबस्ने तथा सूचना प्रवाहमा भूमिका खेल्थ्यो । लडाइँ र व्यवस्थापनमा सहयोगीको भूमिका अखिल क्रान्तिकारीले निर्वाह गर्दथ्यो ।


लडाइँमा म राप्तीदेखि महाकालीसम्म सहभागी भएँ । ०६१ सालतिर धनगढी कारागार कब्जा गर्ने योजना थियो । त्यसमा मेरो जिम्मा बेग्लै खालको थियो । लडाइँ भैरहेका वेला हथौडा लगेर ताल्चा फोडेर कारागारबाट कैदी भगाउने जिम्मा मेरो थियो । त्यो जेलमा हाम्रा थुपै्र साथी हुनुहुन्थ्यो । बन्दुक पड्किरहेको वेला ताल्चा फोडेर कैदीलाई बाहिर निकालियो । त्यो जेलमा माओवादी कार्यकर्ता, विद्यार्थी गरी डेढ सय हाम्रा साथीहरू थिए ।

संगठनमा जिम्मेवारी
०५२/०५३ को शैक्षिकसत्रमा चौरझारीको शीतल उमावि कक्षा ११ मा पढ्दा क्याम्पस इकाइ सदस्य भएँ । पछि सोही संस्थामा इकाइ सचिव भए । प्लस टू सकेपछि आफ्नै जिल्ला सल्यान फर्कें । ०५४ जेठदेखि माओवादीको पूर्णकालीन कार्यकर्ता भएँ, भदौमा पार्टीको सदस्यता पाएँ । पुसमा सल्यानको विद्यार्थी संगठनको जिल्ला सदस्य भएँ । ०५५ मंसिरबाट जिल्ला उपाध्यक्ष, ०५६ असोजदेखि जिल्ला अध्यक्ष भएँ । ०५७ चैतमा कार्यक्षेत्रको जिम्मेवारी लिएर सेती-महाकालीमा खटिएँ । ०५८ सालमा अखिल क्रान्तिकारीको केन्द्रीय सदस्य भएँ र ०५९ सालमा सेती-महाकाली संयोजक भएँ । युद्धकालका पाँच वर्ष सेती-महाकालीमै बसेँ । ०६३ सालमा कोषाध्यक्ष र अहिले उपाध्यक्षको जिम्मेवारी निर्वाह गरिरहेको छु ।

पहिलो नयाँ पाइन्ट पहिलो जुलुसमै च्यातियो
म ०४७ सालमा कक्षा ७ मा हाई स्कुल पढ्न रुकुमको चौरझारी पुगँे । म पढ्ने शीतल उच्च माध्यमिक विद्यालयमा वामपन्थीको वर्चस्व थियो । ०४८ सालदेखि संगठित रूपमा काम गर्न थालेँ । ०४८ सालमा अनेरास्ववियु केन्द्रीय समिति (११ औँ) बाट सदस्यता लिइएको हो । ०४८ सालमा बानेश्वरमा भारतीय प्रहरीले छापा मारे । हाम्रो राष्ट्रियतामाथि भारतले धावा बोलेको भन्दै देशभर आन्दोलन भइरहेको थियो । त्यतिवेला चौरझारीमा पनि आन्दोलन भयो । भारतको धावाविरुद्ध आन्दोलितको जुलुस चौरझारी बजारमा पुग्दा प्रहरीले हस्तक्षेप गर्‍यो । त्यतिवेला मैले पहिलोपटक पाइन्ट सिलाएको थिएँ । प्रहरीले हस्तक्षप गरेर भाग्दा पहिलोपटक सिलाएको नयाँ पाइन्ट काँडेतारले च्यातिदियो, मलाई साह्रै दुःख लाग्यो । मलाई त्यस वेलाको आन्दोलनले क्रान्तिकारी बनायो ।

हराउँदै दर्शन पढ्ने बानी
०६० सालमा पश्चिम कमान्डको पार्टी स्कुल विभाग गठन भयो । म सो स्कुल विभागको सदस्य हुँदा जनमुक्ति सेना र भेरी-कर्णाली र सेती-महाकालीलाई स्कुल चलायौँ । युद्धमा पनि पढ्ने र पढाउने कामलाई निरन्तरता दियौँ । जर्किनमा मट्टीतेल बोकेर हिँड्थ्यौँ र आफू बसेको ठाउँमा टुकीमा मट्टीतेल हालेर कोठामा लुकेर पढ्थ्यौँ । कम्युनिस्ट सिद्धान्त, दर्शनबारेमा पढ्नुपर्छ भन्ने थियो । अरू बाहिरी कुरा पनि पढ्थ्यौँ । सहरमा कुन नयाँ किताब आयो भन्ने सूचना दुई/चार दिनमा हामीकहाँ पुग्थ्यो । अहिले हाम्रो किताब पढ्ने, दर्शन पढ्ने कुरा कमजोर हुँदै गयो । अहिले हामी त्यति किताब खोज्दैनौँ ।

युद्धकाल र अहिले नेतृत्व गर्दाको फरक
युद्धकालमा काम गर्दा थुप्रै चुनौती थिए । तर, त्यतिवेला कामबाट सन्तुष्टि मिल्थ्यो । त्यो गति र अहिलेको गतिमा तुलना नै गर्न सक्दैनौँ । जनयुद्धकालको जनसम्पर्क पनि व्यापक थियो । बैतडीबाट हिँडेर हामी तीन दिनमा रोल्पा आइपुग्थ्यौँ । कैलालीको खिमडीबाट एक दिन एक रात हिँडेर सुर्खेत राकम भन्ने ठाउँमा पुग्यौँ । अहिले सम्झँदा आफैँ छक्क पर्छु । अहिले गति कमजोर छ । त्यतिवेला मध्यम वर्गबीच जान सक्ने स्थिति थिएन । आम विद्यार्थी, प्राध्यापक, शिक्षकबीच जान सक्दैनथ्यौँ । तर, गाउँबाट सहर आउनेलाई गणतन्त्रको चेतना दिइएको थियो । गाउँमा प्रशिक्षित गरेका साथी सहरमा आइसकेका थिए, हामी पछि मात्र आएका हौँ । अहिले समर्पणको भावना शतप्रतिशत फरक भयो । हामी त्यतिवेला मृत्युलाई बोकेर हिँडेका थियौँ । समर्पणको भाव अहिले कमजोर छ । त्यो भाव आन्दोलनमा स्खलित हुन्छ ।
आन्दोलन र लिडरसिपप्रतिको आदर्श नै अर्कै थियो । कम्युनिस्ट कस्ता हुन्छन् भन्ने जुन आदर्श थियो, अहिले बिग्रेजस्तो लाग्छ । म र मेरो होइन, हामी र हाम्रोको भाव थियो । अहिले म र मेरो भन्ने भाव छाएको देखिन्छ । हिजो संगठनमा कसैलाई भित्र्याउनु निकै गाह्रो कुरो थियो । संगठनमा बस्नका लागि धेरै प्रक्रिया पूरा हुन्थ्यो । अहिले स्थिति फरक छ । हाम्रो संगठनमा प्रवेश गर्न र गराउन धेरै सहज भएको छ । अहिले पद र प्रतिष्ठा रवाफ देखाउन तथा अवसर लिनका लागि हो भन्ने भावना बढ्दो देखिन्छ । त्यतिवेला जिम्मेवारी लिनु भनेको मृत्युका लागि तयार हुनु थियो । क्याम्पस पढ्ने मान्छे संगठनमा आयो भने के-के नै पाएकोजस्तो लाग्थ्यो । अहिले लाखौँ संगठिन गर्न पनि सहज छ ।
हिजो गाउँमा संगठित वातावरण बदलिएको छ । परिस्थिति र अन्तरविरोध पनि बदलिएको छ । अन्तरविरोधका हिसाबले भन्दा अहिले मध्यम वर्ग हाम्रो नजिक छ । विश्वविद्यालय, क्याम्पसमा संगठन बनाउन गाह्रो छैन । तर, गाउँमा उपस्थिति कमजोर भएको छ । भौतिक रूपमा संगठनको आकार ठूलो बनाउन सक्यौँ, तर वैचारिक रूपमा त्यहीस्तरमा माथि उठाउने चुनौती छ । युद्धमा केन्दि्रयता प्रधान थियो । कमान्ड सिस्टम चुस्त थियो । निर्णयलाई आदेशका रूपमा ग्रहण गथ्र्यौं । अहिले स्वतन्त्रता प्रधान छ ।

शिक्षामा परिवर्तन
त्यतिवेला जनवादी शिक्षाका कुरा उठायौँ । त्यो रणनीतिक थियो । लक्ष्य र आदर्श थियो । जनवादी शिक्षा तत्काल कार्यान्वयनको अवस्था हो कि होइन भन्ने कुरा पनि हो । सरकार आफ्नो नेतृत्वमा हुँदा किन जनवादी शिक्षा लागू हुँदैन भन्ने प्रश्न धेरैले सोध्छन् । अहिले हामीकहाँ कस्तो राजनीतिक प्रणाली छ भन्ने कुरा हेर्नुपर्छ । यो संक्रमणकालीन गणतन्त्रलाई जनवादी गणतन्त्रमा बदल्नुपर्छ, अनि मात्र जनवादी शिक्षा लागू गर्न सक्छौँ ।
विद्यमान ऐन-कानुनका आधारमा शिक्षामा सुधारको प्रयास पनि गरेका छौँ । जनवादी शिक्षा भनेको व्यावसायिक र प्राविधिक हो भन्ने बुझाइ छ । अहिले ९ देखि १२ कक्षासम्म व्यावसायिक र प्राविधिक शिक्षालाई प्राथमिकता दिँदै बहुमार्गमा लैजाने प्रयास भएको छ । यो कार्य अघि बढिरहेको छ । अर्को, पोलिटेक्निक कलेज विस्तार हुँदै छ । धेरै वर्षपछि पोलिटेक्निक कलेज विस्तार हुनु शिक्षाको गुणात्मक सुधार हो । सरकारले विश्वविद्यालयका नियुक्ति प्रतिस्पर्धाका आधारमा गर्ने भन्ने नीति अगाडि सारेको छ । शिक्षामा व्यापक सुधारका लागि हामीले ठाउँ-ठाउँमा बहस पनि चलायौँ । देशव्यापी शैक्षिक बहसका लागि हामी काठमाडौंदेखि जुम्लासम्म पुग्यौँ ।

कमजोर आन्दोलन
राजनीतिक पार्टीहरूप्रति नै जनता निराश छन् । पार्टीहरूका कारण देश खत्तम भयो भन्नेहरूको चिन्ताले राजनीतिमा वितृष्णा आएको हो । यो वितृष्णा विद्यार्थीमा पनि बढिसकेको छ । तोडफोड गर्ने, ताला लगाउने, नारा जुलुस गर्ने काम विद्यार्थी संगठनको हो भन्ने सोचाइ पनि देखिएको छ । हामी युवा विद्यार्थीसँग पाखुरा मात्र होइन, बुद्धि पनि छ । पार्टीहरूले युवा विद्यार्थी संगठनलाई देश विकासबारे कहिल्यै सोच्न भनेनन्, विद्यार्थी नेतामा पनि त्यही देखियो । विद्यार्थी आन्दोलनमा भविष्यलाई रचनात्मक ढंगले सोच्ने पक्ष कमजोर छ । वस्तुगत संसारमा देखिने समस्या विद्यार्थीमा पनि देखियो ।
अस्थिर मनोविज्ञानले युवामा छाप पारेको छ । यो छाप विद्यार्थी आन्दोलनमा पनि देखियो । विद्यार्थीले पढाइभन्दा अन्यत्र ध्यान दिने, सोच्ने गरेको हो कि जस्तो लाग्छ । यी सबै समस्या समाधानका लागि राजनीतिक स्थिरता चाहिन्छ । यो कुरामा विद्यार्थी संगठनले पार्टीलाई सहयोग गर्नुपर्छ । अखिल क्रान्तिकारीमा भन्दा अरू संगठनमा यस्ता धेरै समस्या छन् ।

समूह बनाएर बार्गेनिङ
पार्टी महाधिवेशनमा जाँदै छ । महाधिवेशनको सँघारमा आइपुग्दा नेपाली समाजको अस्थिर चरित्र हामी युवा पुस्तामा देखिएको छ । पार्टीका युवापंक्तिमा सुविधा कसरी लिने, छिटै सम्पन्न कसरी बन्ने भन्ने मनोभावना देखिएको छ ।
प्रचण्ड र बाबुरामले आफ्नो जीवनभर क्रान्तिकारी आन्दोलनलाई नेतृत्व गरेर जानुहोला, त्यसपछि हामीले के गरौँला ? हामीले नयाँ ढंगले जाने विषयमा सोचेको, सहयोग गरेको खै ? युवाहरू अवसर र सुविधाका लागि समूह बनाएर दबाब दिने र बार्गेनिङ गर्ने गरेका छौँ । भोलिको नेतृत्वका लागि आफूलाई सक्षम बनाउने प्रयास गरेका छैनौँ । सर्वहारा वर्गको पार्टी बनाउन सहयोग गरेको खै ? किन कुर्सीमा जान प्रतिस्पर्धा गरेका छौँ ? यस्ता चुनौती हामीसामु छन् । यी विषयबारे पार्टीको महाधिवेशनमा कसरी मुद्दा बनाउन सक्छौँ, त्यसमा हाम्रो भविष्य निर्धारण हुनेछ । प्रचण्ड नहुँदा पार्टी कहाँ जान्छ भन्ने हामीले चिन्ता गर्नुपर्छ ।
प्रस्तुति : भवानीश्वर गौतम
नयाँ पत्रिका दैनिक, २०६९ माघ १० गते प्रकाशित
http://nayapatrika.com/index.php?option=com_content&view=article&id=8582:2013-01-23-08-15-42&catid=39:2011-07-03-13-23-23&Itemid=55

No comments:

Post a Comment