Thursday, September 19, 2019

शब्दचित्रमा १९ औं राष्ट्रिय सम्मेलन !

पृष्ठभुमीः
अखिल(क्रान्तिकारी)ले एकताको १८ औं राष्ट्रिय सम्मेलन २०६७ मंसीर २४–२८ काठमाडौं, किर्तिपुरमा सम्पन्न
गरी हिमाल शर्माको नेतृत्वमा केन्द्रीय समिति निर्वाचित ग¥यो । आन्दोलनको राप र तापको प्रकाशमा सम्पन्न उक्त सम्मेलनले नेपालको क्रान्तिकारी विद्यार्थी आन्दोलन र शैक्षिक आन्दोलनको दिशामा केही नयाँ मार्गदर्शन गर्ने प्रयत्नहरु गरेको थियो । नेपालको क्रान्तिकारी कम्युनिष्ट आन्दोलनसँग सामीप्यता राख्ने अखिल(क्रान्तिकारी)को यो सम्मेलनसम्म आउँदा महान जनयुद्धको बलिबेदीबाट आएको र जनअनुमोदीत सबैभन्दा शिर्ष पार्टी एकीकृत ने.क.पा.(माओवादी) र उसको बर्चश्वको निर्वाचित संविधानसभा थियो । तर पछिल्ला दिनहरु त्यती सुखद रहेनन । पहिलो संविधानसभाको अवशान, माओवादी पार्टीमा भएको विभाजनसँगै अखिल(क्रान्तिकारी)मा आएको विभाजन, पार्टीको एकता राष्ट्रिय महाधिवेशनबाट कर्मचारीको नेतृत्वमा सरकार निमार्ण गरि संविधानसभाको निर्वाचनमा जाने घोषणा र दोश्रो संविधानसभामा पार्टीको पराजयको लगतै ०७० चैत्र २१–२५ मा त्रिभुवन विश्वविद्यालय किर्तिपुरमा संगठनको १९ औं राष्ट्रिय सम्मेलनको आयोजना गरिएको थियो ।
यद्यपी एकीकृत ने.क.पा.(माओवादी) ले हेटौडा महाधिवेशनबाट नेपाली समाजको वर्गविस्लेषण गर्दै समाजवादी क्रान्तिको रणनिति अन्र्तगत जनवादी क्रान्तिका बाँकी कार्यभार पुरागर्ने राजनैतिक कार्यदिशा तय गरि  क्रान्तिको बाटोबारे दशकौं देखि भुमरीमा रहेको वहसलाई ढिलै भएपनि किनारा लगाएको थियो । आन्तरिक संगठनात्मक क्षेत्रमा रहेको अराजकता र तर्दथतालाई तोड्ने भरमग्दुर प्रयत्न पनि गरिरहेको थियो । हेटौडा महाधिवेशनबाट अर्निणित संगठनात्मक कार्यदिशाको वहसलाई टुङ्गो लगाउन विराटनगरमा प्रथम राष्ट्रिय सम्मेलनको आयोजना गरिएको थियो । गाँउ÷नगर पार्टी हुँदै जिल्ला अधिवेशन÷सम्मेलनसम्म नेतृत्व निमार्णका लागि विभिन्न प्रयोगहरु भईरहेका थिए । यसै पृष्ठभुमीमा अखिल(क्रान्तिकारी)को १९ औं राष्ट्रिय सम्मेलन राजनैतिक, शैक्षिक तथा संगठनात्मक कार्यदिशा निमार्णको दृष्टीकोणबाट निरन्तरताको सम्मेलन नभै क्रमभंग गर्ने सम्मेलनको रुपमा आयोजना गरिएको थियो ।

सम्मेलनको पुर्वतयारी
अखिल(क्रान्तिकारी) माओवादी आन्दोलनको एउटा जुझारु जनवर्गीय संगठन हो । विगतकालमा माओवादी आन्दोलनले नेपाली समाजको आमुल परिर्वतनको दिशामा जे जति सफलता प्राप्त ग¥यो, त्यसको हकदार यो संगठन पनि हुनु स्वाभाविक थियो । आज माओवादी आन्दोलनमा जे जस्ता अन्र्तविरोधहरु र समस्याहरु श्रृजना भएका छन त्यसवाट पनि यो मुक्त हुन संभव थिएन र छैन । 
हामी संगठनको नियमीत प्रक्रिया अन्र्तगत तर निर्धारित समयभन्दा करिव डेढ बर्ष पछि राष्ट्रिय सम्मेलन सम्पन्न गर्न गईरहेका थियौं । सम्मेलनलाई विगतका परम्परा भन्दा केही माथि उठेर सम्पन्न गर्न पर्छ भन्नेमा सामान्यतः आयोजक समितिको भुमीकामा रहेको केन्द्रीय समिति विशेष गरी केन्द्रीय कार्यालयको टिम पुरापुर सहमत थियो । त्यही सहमतिको जगमा केन्द्रीय पदाधिकारीको विस्तारित बैठकले सम्मेलन सम्पन्न गर्नका लागि अध्यक्ष हिमाल शर्माको नेतृत्वमा प्रतिवेदन लेखन समिति र महासचिव विन्दमान विष्टको संयोजकत्वमा विधान संशोधन तथा निर्वाचन कार्यविधि निमार्ण समिति निमार्ण ग¥यो ।
क्रान्तिकारी विद्यार्थी आन्दोलनभित्रका प्रायःसबै आन्दोलनका धारा र प्रवृतिको प्रतिनिधित्व गर्दै एकीकृत भएको हाम्रो जस्तो संगठनमा अन्र्तघुलीत बन्दै गएका सबै धारा, प्रवृति र मनोविज्ञानहरुलाई समेटेर कार्यदलहरु तयार गरियो । दुबै समितिले आफनो कामलाई अगाडि बढाए । संगठनको पदाधिकारीको बैठक बसी कार्यदलले तयार पारेको कार्यविधिलाई संगठनको इकाईतहसम्म पु¥याई छलफल गर्ने हेतुले तल्लो समितिसम्म पठाईयो र सुझावहरुलाई केन्द्रीय समितिको बैठक र सम्मेलनको हलसम्म केन्द्रीत गर्ने निधो गरियो । उक्त कार्यविधिले विद्यान संशोधन र मुलतः नेतृत्व निमार्ण सम्वन्धी दुईवटा मुलभुत विकल्पको परिकल्पना गरेको थियो । 
पहिलो विकल्प, नेतृत्व निमार्णको लागि विद्यार्थी फ्याक्सन इन्चार्जमार्फत आउने प्रस्तावमा आयोजक समितिमा सहमति खोज्ने र त्यसलार्ई सम्मेलनको हल समक्ष पेश गरेर प्रतिनिधिहरुबाट अनुमोदन गराउने, जुन विधि हालसम्म अभ्यास हुदै आएको थियो ।
दोश्रो विकल्प, बन्दसत्रमा सार्वभौम प्रतिनिधिहरुको प्रत्यक्ष मतबाट मुल नेतृत्वको टिम निर्वाचित गर्ने विधि । जुन विधि हाम्रो संगठनभित्र हालसम्म अभ्यास गरिएको थिएन । यो विधि हाम्रो लागि नयाँ प्रयोग नै हुन जान्थ्यो । 
पहिलो विधि हाम्रो जस्तो सर्वहारा क्रान्तिको अभिन्न अंगको रुपमा विकसीत हुदै आएको संगठनमा आर्दश र आदेशको स्वीकारोक्तिको रुपमा प्रयोग हुदै आएको थियो । आजको वस्तुगत परिस्थीतिमा संगठनमा प्रयोग हुदै आएको यो विधि अपुर्ण र औपचारिक बन्न थालेको थियो भने दोश्रो विधिले प्रतिनिधिहरुलाई नै नेतृत्व निमार्णको जनवाद त प्रदान गर्दथ्यो तर त्यसलाई समानुपातिक तथा समावेशी प्रतिनिधित्व कायम गर्ने र प्रतिस्पर्धालाई स्वस्थ, मर्यादित र न्यायोचित बनाउने विषयमा थुप्रै चुनौतीहरु थिए । निर्वाचनको न्यायोचित विधि विकास गरि क्रान्तिकारी आन्दोलनको विधिवत वुर्जुवाकरणको खतराबाट बचाउने जिम्मेवारी पनि हामीले पुरा गर्नुपर्ने थियो । हामीले त्यसका लागि आवश्यक विधिको विकास गरि यसलाई एउटा विकल्पको रुपमा पेश ग¥यौं । हामीले यो विकल्प खोज्नुका केही बस्तुगत कारणहरु यस्ता थिए ।
१. संगठनले आफैलाई प्रतिस्पर्धात्मक राजनितिमा श्रेष्ठता सावित गर्नुपर्ने वर्तमान परिस्थीति नै पहिलो बस्तुगत आधार बन्न जान्थ्यो । 
२. यसले माओवादी आन्दोलनको जनवादी अभ्यासप्रति मानिसका परम्परागत आरोपहरुलाई खण्डीत गर्न र आन्तरिक जनवादको सवल पक्षलाई लोकले पनि हेर्न र देख्न सक्ने तुल्याउँथ्यो ।
३. नेतृत्व निमार्णमा देखा परेको मनोनित प्रणालीले संगठनमा “गणेश प्रवृति” हावी हुने र यसले नेता र जनताबिचको सम्वन्ध असाध्यै औपचारिक र नोकरशाही बन्दै जाने अवस्था श्रृजना भयो । फलस्वरुप जनसम्वन्ध कम्जोर बन्दै जानुले निश्चित विधि र मापदण्डको विकास गरेर नेतृत्वलाई कार्यकर्ता र जनताबिचबाट निर्वाचित गर्दै जानुपर्ने अवस्थामा संगठन पुगेको कुरा हाम्रो साझा निष्कर्ष थियो । 
४. नेता,कार्यकर्ता र जनताबिचको दुरीलाई कम गर्ने हतियार भनेकै जननिर्वाचित र जनअनुमोदीत संगठन हुनुपर्छ भन्ने एकीकृत ने.क.पा.(माओवादी)को निष्कर्षले पनि हामीलाई सकारात्मक रुपले प्रेरीत गरेकै थियो । जुन विधि विकास गरेर पाटीले स्थानिय तहदेखि सम्मेलन सम्पन्न गर्दैै राष्ट्रिय सम्मेलनमा जुटेको थियो । 
५. एकीकृत ने.क.पा.(माओवादी)को हेटौंडा महाधिवेशन र वाइसीयलको राष्ट्रिय सम्मेलनमा नेतृत्व निमार्णमा रहेको असफलताको नकारात्मक शिक्षा पनि हामीसँग थियो ।
६. हाम्रा आफनै इकाई र जिल्ला सम्मेलनमा नेतृत्व निमार्ण सम्वन्धी माथिल्लो कमिटि र नेतृत्व तहबाट गरिएको हलले संगठनमा सन्तुष्टी र सन्तुलनभन्दा असन्तुुष्टी र असन्तुलन नै बढी रहेको तथ्य हाम्रा अगाडि प्रशस्त थिए । 
७. एकातिर संगठनमा निर्धारीत समयमा सम्मेलन नहुँदा वा भएर पनि पुरानै नेतृत्व दोहोरीदा नयाँ रक्तसंचार हुन सकिराखेको थिएन भने अर्कोतिर संगठनमा नेतृत्व निमार्णको मुख्य आधार संगठनमा भर्ति भएको दिनगन्तीलाई आधार बनाई पुस्तामा सिनियर र जुनियर ठान्ने “पालोकुरुवा प्रणाली” बन्न पुग्यो । यो प्रणालीले नयाँ र उर्जाशिल विद्यार्थीहरुलाई तल्लो समितिबाटै बाहिरीनु पर्ने स्थीति पैदा हुदै गयो । प्रतिस्पर्धात्मक वातावरणले संगठनमा नयाँ पुस्ताको भर्ति र नयाँ रक्तसंञ्चार हुन संभव थियो ।
माथि उल्लेखित आधार र शिक्षाहरुले हामीलाई संगठन निमार्ण र परिचालनको क्षेत्रमा केही थप नयाँ विधिहरुको विकास गर्न प्रेरित गरेका थिए ।

अध्यक्ष कमरेड प्रचण्डद्वारा उदघाटन
त्रिभुवन विश्वविद्यालय किर्तिपुरस्थित गान्धी भवन परिसरमा अध्यक्ष कमरेड प्रचण्डबाट वेलुन उडाएर सम्मेलनको उदघाटन गरियो । उदघाटन समारोहमा उपाध्यक्षद्वय .डा. बाबुराम भट्टराई, र नारायणकाजी श्रेष्ठ, महासचिव कमरेड पोष्टबहादुर बोगटीको गौरवपुर्ण उपस्थीति र भावपुर्ण सम्वोधन, आदरणीय शहिद वेनोज अधिकारीका आमा बा लगायतका शहिद परिवार तथा वेपत्ता योद्धा परिवार, त्रिवि लगायत विश्वविद्यालयका पदाधिकारीहरु, सहयात्री विद्यार्थी संघसंगठनका अध्यक्ष तथा प्रतिनिधिहरु, प्राध्यापक÷शिक्षक तथा अभिभावक संगठनका नेताहरु, विभिन्न जनवर्गीय संगठनका नेताहरु, तथा अन्य अतिथि पाहुनाहरु, पत्रकार मित्रहरु तथा देशभरबाट आएका प्रतिनिधि पर्यवेक्षकसहित हजारौं विद्यार्थीहरुको विशेष उपस्थीति तथा सहभागीता रहेको थियो ।

बन्द सत्रः विधान प्रतिवेदन पारीत
आयोजक समितिको भुमीकामा रहेको २६९ सदस्यीय केन्द्रीय समिति सहित ११८८ जना प्रतिनिधिको सहभागीतामा हिमाल शर्माको नेतृत्वमा अध्यक्षमण्डल निमार्ण गरी बन्द सत्र शुरु भयो । बन्द सत्रमा आयोजक समितिको तर्फबाट प्रतिवेदन र विधान प्रस्तुत गरियो । भौगोलीक र गैर भौगोलिक      (विश्वविद्यालय समितिहरु)  राज्य समितिहरुको अलग अलग १७ वटा टोली निमार्ण गरी समुहगत छलफल गरियो । बन्दसत्रमा समुहगत छलफलको रिर्पोट प्रायःराज्यका संयोजकहरुबाट नै प्रस्तुत भयो । केही गंभीर आलोचना र सुझाव सहित राजनैतिक÷शैक्षिक तथा संगठनात्मक प्रतिवेदन र विधान सर्वसम्मतिले पारीत भयो । एकीकृत ने.क.पा.(माओवादी) का उपाध्यक्ष कमरेड नारायणकाजी श्रेष्ठ प्रकाशले बन्दसत्रलाई प्रशिक्षित गर्नुभयो ।


कार्यदिशाको मुलपक्षः शिक्षामा माफीयाकरणका विरुद्धको संघर्ष
शिक्षा क्षेत्रमा जरा गाडेर बसेको निजिकरण,व्यापारीकरण र माफीयाकरण विशुद्ध शैक्षिक क्षेत्रको मात्र समस्या कदापी हैन । बरु यो समस्या नेपाली समाजको अर्थराजनितिको सजीव अभिव्यक्ति हो । जब समान्तवादबाट पुँजीवादमा संक्रमणको दिशामा रहेको नेपाली समाजमा सामान्तवाद र साम्राज्यवादका दलालहरुको गठजोडमा (अन्नतः नेपालको राजतन्त्र पनि साम्राज्यवाद र विस्तारबादकै अर्को दलाल भन्दा अरु केही थिएन ।) ०३५ ÷०३६ देखि नै शिक्षा क्षेत्रमा निजीकरणको प्रवेश गराईयो । ०४६ को राजनैतिक परिर्वतन पछि यो फक्रने मौका पायो । महान् जनयुद्धको प्रक्रियामा र पछि यसमा नियन्त्रण र नियमनको प्रयास भएता पनि यो रोग शिक्षा क्षेत्रमा ऐंजेरु सरह फैलीएको छ । यसले नेपालको सार्वजनिक शिक्षालाई समाप्त पार्दैछ ।
राष्ट्रका लुटेरा, भ्रष्ट, घुसखोर, कमिशनखोर तथा विचौलीया दलालहरुले लुटेर कुम्ल्याएको कालो धनलाई सेतो बनाउन शिक्षा क्षेत्र रोजीरहेका छन । राजनैतिक दल, कर्मचारीतन्त्र र औद्योगीक घरानाका मानिसको गन्तव्य आज शैक्षिक व्यवसाय बन्न पुगेको छ । यसले राष्ट्रमा र शिक्षा क्षेत्रमा हुने ठुला ठुला नितिगत भ्रष्टाचारलाई संस्थागत गर्ने काम गर्दै आएको छ । शैक्षिक अराजकता र विभेद अझ बढि संस्थागत बन्दै गएको छ ।
तसर्थ, हाम्रो संघर्षको पहिलो निशाना लुटेराहरुबाट राष्ट्रको सम्पति फिर्ता गर्नु हो । तिनिहरुको लगानी रहेका निजी शिक्षण संस्थाबाट शिक्षामा राष्ट्रियकरणको अभियान छेडन नेपालको विद्यार्थी आन्दोलन अघि सर्नै पर्छ । यसरी नै सार्वजनिक शिक्षामा नीति निमार्णकर्ताको  गन्तव्य नबनाई संविधानमा जतिसुकै लेखिएता पनि यो जनताको मौलिक हक र राज्यको दायीत्व हुन संभव छैन । यही अखिल(क्रान्तिकारी)को शैक्षिक आजको कार्यदिशा हो ।

समाजवादी क्रान्तिको रणनितिबारे बहस केन्द्रीत
कार्यदिशाको अर्को पक्ष विद्यार्थी आन्दोलनलाई समाजवाद निमार्णको पाठशालामा बदल्नु हो । जवसम्म युवा विद्यार्थीहरुलाई सर्वहारावर्गीय दर्शन, बैज्ञानिक र क्रान्तिकारी चेतनाले निर्देशित गर्न सकिदैन तवसम्म जनवाद र समाजवाद निमार्णका कुरा कोरा वकबास मात्र बन्ने छन । तसर्थ विधिप्रधान होइन विचारप्रधान वहसले मात्र समाजवादी चेतना र संस्कृति निमार्णमा सहयोग पुग्दछ । आर्दश लक्षका निम्ति सवभन्दा पहिले आफैले, मबाटै शुरु गर्ने अभियानले मात्रै कार्यदिशा कार्यान्वयन संभव छ । विचारलाई संगठनको राजनैतिक, संगठनात्मक र आर्थिक तथा सांस्कृतिक योजना र कार्यक्रममा अभिव्यक्त गर्नेकुरा सम्मेलनले निर्देशीत गर्ने विश्वास गरिएको थियो ।

नेतृत्व निमार्णको असफल अभ्यास
जब सम्मेलन नेतृत्व निमार्णको चरणमा प्रवेश ग¥यो तव संगठनभित्रका विभिन्न प्रवृति र समस्याहरु सतहमा देखा पर्न थाले । आन्दोलनले विकास गरेका संगठनका क्याडरहरुको बिचमा नेतृत्वको दावा हुनु सर्वथा स्वाभाविक कुरा हो । आफ्नो वर्गहितका लागि झण्डाको नेतृत्व गर्छु भन्ने दावा गर्नु पनि गलत होइन तर हामी कता कता विचार, कार्यदिशा र कार्यक्रम केन्द्रीत वहस होइन सत्ता र शक्तिको छिनाझप्टीमा लाग्न थाल्यौं । आफ्नो वर्ग र समुदायको हितलाई केन्द्रमा राखेर होइन पद, प्रतिष्ठा र व्यक्तिगत महत्वाकांक्षालाई केन्द्रमा राखेर छलफल गर्न थाल्यौं । एकाध राज्य बाहेक प्रायःसबै राज्यमा केन्द्रीय समिति सदस्यहरुको निर्वाचन सहमतिय प्रक्रियाबाट टुङ्गो लागि सकेको थियो र घोषणा गर्न मात्र बाँकी थियो । बिडम्वना, त्यो निर्णय इतिहासको चक्रव्युह तोड्न नसकेर स्थगन भयो । मुख्य नेतृत्व र पदाधिकारीमा सहमति जुट्न नसकेपछि प्रत्यक्ष निर्वाचनको प्रक्रियामा जाने कुरा कार्यविधि बोल्दथ्यो । बन्दसत्रको हलमा विभिन्न नाममा विभाजनका कृतिम रेखाहरु कोरीए । सहमतिका प्रयत्नहरु व्यक्तिगत र गुटगत स्वार्थका अगाडि फिका सावित भए । व्यक्तिपिच्छे चुलीएका महत्वाकांक्षालाई सहमतिको हवाई अपीलले संवोधन गर्ने संभावना पनि देखिएन । विधानले निदृष्ट गरेको विधि अनुसार सम्मेलन प्रक्रियामा प्रवेश गर्ने निश्चित भयो । 
प्रक्रिया शुरु गर्ने कुरामा केही साथीहरुको फरक मत हलमा प्रकट भयो । भर्खरै पारित विधानमाथि प्रश्न खडा गर्दै जब प्रक्रिया अवरुद्ध गरियो त्यसले राष्ट्रिय सम्मेलनको सार्वभौम हललाई बन्धक तुल्यायो । सम्मेलन अगाडि बढ्न सकेन । प्रतिनिधिहरुमा आक्रोश र आवेग व्यक्त हुन थाल्यो । सहमति होस या निर्वाचन दुबै विकल्पको लागि तयार हौं र सम्मेलन नविथोलौं भन्ने अधिकांश साथीहरुको भावना थियो । तर हलमा देखा परेको पथविचलित मनोविज्ञान हेर्दा संगठन विभाजनसम्म पुग्ने खतरा देखा पर्न थाल्यो । पार्टीको आसन्न राष्ट्रिय सम्मेलनप्रति जिम्मेवार हुदँै र संगठनलाई विभाजनको खतराबाट रोक्नका लागि विद्यार्थी फ्रयाक्सन इन्चार्जमार्फत सार्वभौम प्रतिनिधिहरुको नेतृत्व निमार्णको अधिकार पार्टीलाई दिने अप्रीय निर्णयमा पुग्न विघठित पदाधिकारीहरु बाध्य भयौं । अध्यक्षमण्डलको जिम्मामा सुम्पीएको हल र निर्वाचन आयोगको जिम्मामा सुम्पीएको नेतृत्व निमार्णको प्रक्रियाबाट हठात पछि हटेर विघठित पदाधिकारीले गरेको यो निर्णय विद्यार्थी आन्दोलनको इतिहासमा सधैं समिक्षाको विषय बनिरहनेछ । सम्मेलनको हलमा उपस्थीत सार्वभौम प्रतिनिधि आफ्ना कार्यकर्ताप्रति विश्वास र भरोसा नगर्ने, सिर्फ मनोनयन र आर्शिवादमा विश्वास गर्ने हामी विद्यार्थी नेताहरुको हुतिहारा प्रवृतिप्रतिको उचित फैसला गर्ने जिम्मा इतिहासलाई नै सुम्पीनु वेश होला । 
पार्टीले पुुरानै समितिलाई निरन्तरता दिने निर्णय सुनायो । यो निर्णयबाट स्पष्ट हुन्थ्यो कि, यो समस्या विद्यार्थी संगठन मात्रको होइन बरु पार्टीमा रहेको समस्याको प्रतिविम्वन मात्र हो । तर, बन्दसत्रमा रहेका प्रतिनिधिहरुले पुर्वपदाधिकारीले गरेको निर्णयलाई अवैद्य भने र पार्टी निर्णयलाई अस्वीकार गरे । बन्दसत्रको हल आन्दोलनमा बदलीयो । नाराबाजी त चलेकै थियो केही साथीहरु नेतृत्वको फैसला प्रतिनिधिले गर्न पाउनु पर्छ भन्दै आमरण अनसनमा बसे । हामी किकर्तव्यविमुठ भयौं । आमरण अनसनको दोश्रो दिन पुर्वपदाधिकारीको अन्तिम छलफलले “यो सम्मेलनलाई निरन्तरतामा लैजाने, विधान र प्रतिवेदन अहिले पारित भएको छ र तीन महिनाभित्र राष्ट्रिय भेला वा विस्तारित बैठकको आयोजना गरि नेतृत्व निमार्ण गर्ने । हाललाई पुरानै समितिलाई काम चलाउ हैसियत प्रदान गर्ने ।” भन्ने व्यहोराको सुचना तयार गरियो । साथीहरुको भावनाको उच्च सम्मान गर्दै अनसन तोड्न आग्रह गरियो । साथीहरु मानेका थिएनन । मैले आफै अघि सरेर संकल्प गर्नुको विकल्प रहेन । साथीहरुलाई आश्वस्त पार्दै जुस पिलाएर अनसन तोडाएँ । हलमा सुचना बाचन गरियो र प्रतिनिधिहरुलाई सम्वोधन गर्दै सम्मेलन समापन गरियो ।

उत्साह दिएन सम्मेलनले
सम्मेलनले खराव मध्यको राम्रो विकल्प, विभाजन हुनु भन्दा निरन्तरता रोज्यो । दुई बर्षमा हुनु पर्ने सम्मेलन चार बर्षमा त्यो पनि पुरानैको निरन्तरता भन्दा कसको काममा उत्साह ल्याउला ? देशभरबाट जम्मा भएका प्रतिनिधि जिन्दावाद र मुर्दावादमा विभक्त हुनु पर्दा कस्तो मनस्थीति बोकेर फर्कीए होलान? राष्ट्रिय सम्मेलनको के सन्देश लिएर आफना सहपाठी र आम विद्यार्थीहरुलाई पस्के होलान ? यसले उनको विचारको आस्था ढकमक्क फुल्यो होला की कम्जोर बन्यो होला ? यसले आन्दोलनलाई संगठित हुन मद्दत ग¥यो होला की विघठन हुन ? हामी सहज बुझ्न सक्छौं । हामी अलिकति पनि उत्पीडित वर्गप्रति इमान्दार छौं र राष्ट्रप्रति जिम्मेवार छौं भने समय अझैं छ, आत्समीक्षा गरौं र राष्ट्रिय सम्मेलनबाट गम्भीर शिक्षा लिऔं ।

बाटो खुलेको छ, आशावादी बनौं 
तीन महिना होइन, पाँच महिना पछि दोहोरो जिम्मेवारीको कारण अध्यक्ष हिमाल शर्माको राजीनामा आयो । त्यसको ४ महिना पछि पार्टी केन्द्रीय कार्यालय पेरीसडाँडामा पेश गरेको उक्त राजिनामा स्वीकृत भयो । करिब १ बर्षसम्म मुख्य नेतृत्वविहीन बन्दाको अखिल(क्रान्तिकारी) को अवस्था कस्तो थियो होला ? भलै संगठनभित्रका जिम्मेवार कार्यकर्ताहरुको जिम्मेवारीबोधले संगठनको उपस्थीति कम्जोर हुन त दिएइन । अखिल (क्रान्तिकारी) १९ औं राष्ट्रिय सम्मेलनबाट नयाँँ नेतृत्व निमार्णको अभिभारा पुरा नगरीकनै २० औं राष्ट्रिय सम्मेलन आयोजक समितिमा बदलिएको थियो । पेट्रोलीयम पदार्थको स्वचालित मुल्य समायोजन, सार्वजनिक यातायातको भाडा घटाउन र विद्यार्थी सहुलीयत कार्यान्वयन गर्न, पुजा साह लगायतका बालीका बलात्कार र हत्याका विरुद्धको संर्घष, बसन्तपुर एसीड आक्रमणका विरुद्धको संघर्ष, भिसा प्रमाणीकरणको सरकारी गलत निर्णयको विरुद्ध संघर्ष, राष्ट्रिय सहमतिका आधारमा संविधान निमार्णका लागि गरिएको सडक संघर्ष तथा निजि विद्यालयको शुल्कबृद्धि खारेज गर्न र भुकम्पपीडित विद्यार्थीलाई राहतका लागि गरीएका एकल तथा संयुक्त आन्दोलनमा अखिल(क्रान्तिकारी)ले आफुलाई नेता संगठनको रुपमा स्थापीत गरेको छ । आशा र विश्वास गरौं, निकट भविष्यमै यसले विगतको शिक्षाबाट आलोकीत हुँदै २० औं राष्ट्रिय सम्मेलन सम्पन्न गर्नेछ । अखिल(क्रान्तिकारी)का विभाजित धाराहरुलाई एकतावद्ध गर्ने प्रयास जारी राख्ने छ र  आन्दोलनमा सकारात्मक अर्थको क्रमभंग संभव तुल्याउने छ ।
भाद्र, २०७२
(नोटः २०७२ पौष २५ गते काठमाडौं नयाँ बानेश्वरको म्याक डोनाल्ड पार्टी प्यालेसमा संगठनको प्रथम विस्तारित बैठक बसी १९ राष्ट्रिय सम्मेलनको नेतृत्वको गत्यारोध अन्त्य गरियो । रमेश मल्लको अध्यक्षतामा २१ पदाधिकारी सहित १९९ केन्द्रीय नेतृत्व निमार्ण गरियो र २० औं राष्ट्रिय सम्मेलनको तयारीमा जुट्ने निर्णय गरियो ।)

No comments:

Post a Comment