Thursday, September 19, 2019

पार्टी एकताका सन्दर्भमा केही कुरा


पुष्पलालले आफ्ना चारजना सहयोद्धाकासाथ सामन्तवाद र साम्राज्यवादका विरुद्ध नेपाल कम्युनिष्ट पार्टीको झण्डा उठाए । इतिहासमा कयौ उतार चढाव ब्यहोर्दै, कहिले सशस्त्र संघर्ष त कहिले शान्तिपुर्ण जनआन्दोलन हुदै नेपाली समाज रुपान्तरणको त्यो रक्तरंजित झण्डा आज नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले सगौरव उचालेको छ ।
नेपालमा कम्युनिष्ट आन्दोलनका दुई फरक धार र दुई भिन्न प्रवृतिको नेतृत्व गर्दै आएका साविकको नेकपा(माओवादी केन्द्र) र साविकको नेकपा(एमाले) नेपालको संविधान २०७२ को कार्यान्वयनको क्रममा सम्पन्न भएको संघ र प्रदेशको निर्वाचनमा पार्टी एकतालाई लक्ष बनाएर चुनावी गठबन्धनको घोषणा गरे । निर्वाचनको ऐतिहासिक सफलता र त्यसको उत्साहलाई पार्टी निमार्णको प्रक्रियामा पुँजीकृत गर्दै गतबर्ष जेठ ३ गते मदन आश्रित स्मृति दिवसको दिन पार्टी एकताको घोषणा गरियो ।  यो घोषणा नेपालको कम्युनिष्ट आन्दोलनमा निरन्तरतामाथिको क्रमभंग, एक ऐतिहासिक छलाङ र उत्सव थियो, र रहिरहनेछ ।
विगतमा नेपाली कम्युनिष्ट आन्दोलनमा देखा परेका वाम, दक्षिण लगायतका अतिवादी प्रवृति र रुझान तथा तिनले पार्टी र आन्दोलनमा पैदा गरेका टुट फुट र विभाजनका नकारात्मक विरासतलाई चिर्दै, नेपाली समाजको ठोस परिस्थितिको ठोस विश्लेषणका साथ समाजवाद उन्मुख जनताको जनवादको तत्कालीन कार्यदिशासहित अघि बढ्ने सामुहिक प्रतिवद्धताका साथ पार्टी एकता घोषणा भयो ।
वाम गठबन्धनदेखि पार्टी एकतासम्मको यो यात्रा दुनियाँका प्रतिगामी तथा प्रतिक्रियावादी तत्व वा शक्तिलाई मन पर्ने कुरै भएन । उनीहरु यो एकतालाई पाइला पाइलामा ध्वंस गर्न चाहन्थे र चाहिरहेकै छन । तर पार्टी भित्रैका पनि केही प्रवृति यो एकता नहोस, भैहाले पनि सुदृढ नबनोस र यसलाई कतै न कतै दुर्घटनामा पु¥याउन सकियोस भन्ने सोच्छन भन्दा पनि दुःख लाग्छ । पार्टी एकता घोषणा देखि एकताको प्रक्रिया जारी नै रहेको आजको अवस्थासम्म आउँदा त्यसखाले प्रवृति सतहमा आउन खोज्दा एकता भाँडियोस भन्ने प्रतिक्रियावादी सपना र योजनालाई नै मलजल भईरहेको हुन्छ । 
नेपाल कम्युनिष्ट पार्टीलाई सर्वहारा श्रमजिवीवर्गको मुक्तिको साधनको रुपमा अझ बढि सुदृढ गर्ने र आजको राष्ट्रिय जिम्मेवारी अनुसार सिंगो देशको कुशलतापुर्वक नेतृत्व गर्ने ऐतिहासिक अवसर छ ।  उक्त अवसरलाई पार्टीले सम्पुर्ण शक्तिका साथ एकतावद्ध भएर मात्र पुरा गर्न सम्भव छ । त्यसको लागि आजका दिनमा पार्टीका नेता कार्यकर्ताले निम्न कुरामा ध्यान दिन जरुरी छ ।

१. पार्टीको गौरवशाली इतिहासप्रति गर्व गर्न सकौं
२००६ सालमा पार्टी स्थापना भए लगतै सामन्ती दरवारिया तथा प्रतिक्रियावादी तत्वको षडयन्त्रको शिकार भयो । समकालीन पार्टी नेतृत्व नै दरबार पसे । पार्टी विभिन्न समुहमा विभाजीत भयो । पञ्चायती निरंकुशताकैबीचमा पार्टी र आन्दोलनलाई पुर्नगठनको प्रयास गरेको पनि देखिन्छ । मुलतः पुष्पलाल आफैले २०२५ सालतिर शुरु गरेका प्रयत्न, झापा आन्दोलनको रुपमा भएको सशस्त्र संघर्ष र केन्द्रीय न्युक्लियसका नेताहरुले गरेको प्रयत्न उल्लेख्य देखिन्छन । 
पार्टी पुर्नगठनको प्रयासमा ठोस पहलकदमी भने एकातिर कम्युनिष्ट आन्दोलनलाई लोकतान्त्रिकरणको बाटोमा लिएर जननेता मदन भण्डारीले गरे । उनले जनताको बहुदलीय जनवादलाई पार्टीको न्युनतम राजनैतिक कार्यक्रमको रुपमा अघि सारे र पछि साविकको एमालेले त्यसलाई सिद्धान्तको रुपमा व्याख्या ग¥यो । अर्कोतिर कमरेड प्रचण्डको नेतृत्वको साविकको नेकपा(माओवादी) ले मालेमावादलाई पथप्रर्दशक मान्दै नेपाली समाजको आमुल परिवर्तनको लागि जनयुद्धको झण्डा उठायो । र, जनयुद्धकै दौरान सामन्तवाद तथा साम्राज्यवादविरोधि शक्तिबीचको दलिय प्रतिस्पर्धा र राजनैतिक सत्तामा जनताको नियन्त्रण, निगरानी र हस्तक्षेपको मार्गचित्र सहितको २१ औं शताब्दीमा जनवादको विकास सम्वन्धि प्रस्तावलाई अघि सा¥यो ।
इतिहासले यो कुरा पुष्टी गरिसकेको छ कि नेपाली कम्युनिष्ट आन्दोलनको लोकतान्त्रिकरण, सडक र सदनमा गरिएका जनसंघर्ष र त्यसका उपलब्धिलाई फर्केर हेर्दा कमरेड मदन भण्डारीको नेपाली कम्युनिष्ट आन्दोलनमा एउटा वैचारिक धार निमार्ण गर्न महत्वपुर्ण योगदान रहेको छ भने कमरेड प्रचण्डको नेतृत्वमा भएको गौरवशाली जनयुद्ध, जनयुद्धका दौरानमा गरिएका वैचारिक संश्लेषण तथा राजनैतिक परिवर्तनमा जनयुद्धको निर्णायक भुमीका रहेको छ । यी विषयलाई नेकपाले आफ्नो राजनैतिक दस्तावेजमा संश्लेषण गरिसकेको छ । इतिहासमा जनयुद्ध र जनआन्दोलनले खेलेको गौरवशाली भुमिका र त्यसक्रममा भएको अद्धितिय त्याग, तपस्या र वलिदानप्रति हामी सबैले गर्व गर्न सक्नु पर्छ । यी उपलब्धिहरु अब कुनै समुह विशेषका नभई पार्टीकै साझा सम्पति हुन भन्ने कुरा पार्टी दस्तावेजले भनिसकेको छ ।

२. पार्टीको राजनैतिक कार्यदिशालाई दृढतापुर्वक पकडौं ।
माक्र्सवादले हामीलाई सिकाएको छ कि प्रकृति र मानव समाजका हर बस्तु गतिशिल छन । यदी हामीले पदार्थको गतिलाई ठिक ढंगले बुझ्न सकेनौ भने चीज कहाँ कता पुगिसकेको हुन्छ हामी चाहीँ कुवाको भ्यागुतो जस्तै बन्दारहेछौं । यहाँ विषय विचारधारात्मक राजनैतिक कार्यदिशाको हो । यसका बारेमा माओले भन्नुभएको छ, “ विचारधारात्मक तथा राजनैतिक कार्यदिशाले नै सवथोक निर्धारण गर्दछ, यदी यो सहि छ भने नभएका कुरा पनि प्राप्त हुन्छन, यदी यो गलत छ भने भएका कुरा पनि गुम्दछन ।” राजनैतिक कार्यदिशा वा क्रान्तिको बाटोको बारेमा लेनिन भन्दछन, “ कम्युनिष्ट क्रान्तिकारीहरुले कुनै पनि सिद्धान्तलाई जडसुत्रको रुपमा लिनु हुदैन । ” उनले सिद्धान्तलाई कामको सजिव मार्गदर्शक बनाउनु पर्ने बताएका थिए । ठोस परिस्थितिको ठोस विश्लेषणबाट मात्रै सहि निष्कर्षमा पुग्न सकिने उनको भनाई थियो । 
नेपाली समाजको ठोस परिस्थितिको ठोस विश्लेषण गर्दै नेकपाले आफ्नो राजनैतिक दस्तावेजमा माक्र्सवाद लेनिनवादलाई मार्गनिर्देशक सिद्धान्त र समाजवादउन्मुख जनताको जनवादलाई तत्कालीन राजनैतिक कार्यदिशा मानेको छ । माओवाद र २१ औं शताब्दीको जनवाद तथा जनताको बहुदलिय जनवादलाई एकताको राष्ट्रिय महाधिवेशनको सम्पतिको रुपमा सुरक्षित गरेको छ । जुन विषय महाधिवेशनको कार्यसुची भित्र पार्टीको आन्तरिक छलफलको विषय हुनेछ । यसमा कतै दुईमत हुनैसक्दैन । तर,
पार्टीको यो निर्णयलाई जान्दाजान्दै कोही पनि व्यक्ति वा प्रवृतिले आजकै दिन जनताको बहुदलीय जनवाद चाहियो भन्दै वा वकालत गर्दै हिड्छ या माओवाद र २१ औं शताब्दीको जनवाद चाहियो भन्छ वा वकालत गर्छ भने त्यो एकता विरोधी कुरा हो । त्यतिमात्र होइन माओवाद, २१ औं शताब्दीको जनवाद वा जनताको बहुदलिय जनवादमा प्रयोग भएका प्रवर्ग र विशेषता वा प्रवर्ग कहाँ गए वा कता समाप्त पारियो भन्नु भनेको त कि त्यसले माक्र्सवाद नै बुझेन कि त त्यसले एकताविरोधी विषवमन नियोजित रुपमा गर्दैछ भन्ने बुझ्नु पर्दछ या यो त हदैसम्मको बच्कनापना भएन र ? किनकी हामीले त ति बैचारिक मार्गदर्शन र प्रवर्गहरुलाई समाजवाद उन्मुख जनताको जनवादमा विकसित गर्दैछौं भन्ने सकारात्मक बुझाई राख्ने होला नि हैन र ? समाजवाद निमार्णको गन्तब्यको लागि आवश्यक पर्ने विकसित विचार सहितको समाजवाद उन्मुख जनताको जनवादको धेरथोर व्याख्या त हरेक सचेत कार्यकर्ताले गर्न सक्दछन होला हैन र ?

३. पार्टीका संगठनात्मक निर्णयलाई कडाईपुर्वक पालना गरौं ।
पार्टी एकता दुई भिमकाय र विशाल पार्टीको एकता हो  । हामी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई करिब १० लाख पार्टी सदस्यहरुको पार्टी भन्र्छौं । कम्युनिष्ट पार्टीमा हरेक पार्टी सदस्यले पार्टी चेन अफ कमाण्डमा रहेर कुनै न कुनै जिम्मेवारी पाउनु पर्छ र दिनु पर्छ भन्ने कुरा सामान्य कार्यविभाजनको सिद्धान्त नै हो । पार्टी एकताको केही काम अझैं बाँकी रहेको र नेतृत्व तह देखि नै कार्यविभाजन बाँकि रहेकोले ठिक ठिक समयमा संगतिपुर्ण कार्यविभाजन पनि हुन सकेका छैनन । अहिले पार्टी संचालन गर्ने विधि भनेकै पार्टीको अन्तरिम विधान, नियमावली, अपानी, पार्टी एकता बेला नेतृत्वतहमा गरिएका लिखित, अलिखित सहमति तथा पार्टी केन्द्रीय समिति (मुलतः सचिवालय) र तत्तत् समितिले गरेका निर्णयहरु नै पार्टीका संगठनात्मक सिद्धान्त, संरचना, कार्यप्रणाली, जिम्मेवारी र उत्तरदायीत्व हुन ।
पार्टीमा निर्णय एउटा गर्ने र कार्यान्वयन अर्कै गर्ने वा नगर्ने, सहमति एउटा गर्ने र लागु गर्दा तर्किने, पार्टी निर्णय अमुक नेता वा अमुक कार्यकर्ताका लागि लागु गर्नुपर्ने तर अमुक नेता तथा अमुक कार्यकर्तालाई लागु गर्नु नपर्ने, आफ्नो स्वार्थ अनुकुल भईन्जेल पार्टी निर्णय हुुने प्रतिकुल हुने भए ए भएको थियो र ? कहिले भएछ ? भन्दै पन्छिने आदी जस्तो अवस्था सिर्जना भएमा यसले एकतामा गम्भीर असर पर्न सक्छ । किनकी हामी एकताको विशिष्ट अवस्थामा छौं । पार्टीमा भएका सहमति र निर्णयको कार्यान्वयन भनेको विश्वास आर्जनको आधार पनि हो । यदी निर्णयहरु लत्याईएमा त्यो निर्णय लत्याईएको मात्र हुदैन त्यो त विश्वासलाई लत्याईएको हुन्छ र त्यसले पार्टी एकतालाई क्षतविक्षत पारिदिन्छ । पार्टीमा कोही माग्ने र कोही दिनेको सम्वन्ध निमार्ण गर्न खोजेमा त्यो संभव छैन किनकी सिंगो पार्टीपंक्ति सामन्तवादविरुद्ध मलामी गएर भर्खरै आएका हो । तसर्थ आज हाम्रो पार्टीमा सबभन्दा पहिले सहमतिको कार्यान्वयन नेतृत्वको कार्यविभाजनबाटै शुरु गर्नुपर्छ । आलोपालो पार्टीको अध्यक्षता, आलोपालो सरकारको नेतृत्व लगायतका सहमतिहरु सार्वजनिक भएकै हुन । यी विषयहरुमा जिब्रो चपाउन थालेको हो कि भन्ने प्रश्नहरु उठेका छन । नेतृत्वले जिम्मेवार भएर उच्चस्तरका सहमति र समझदारीको कार्यान्वयन गरी विश्वास आर्जन गर्नु पर्दछ र एकताप्रति इमान्दार बन्नु पर्दछ ।

४. पार्टीमा वर्गीय आचरण र संस्कृति निर्माणको प्रश्न : 
पार्टीमा वर्गिय आचरण र संस्कृति निमार्णको प्रश्न कम्युनिष्ट आन्दोलनको आधारभुत प्रश्न हो । जब यी विषयहरुमा असझदारी विकास हुन्छ वा यसलाई नजरअन्दाज गरिन्छ, त्यहीनेरबाट कम्युनिष्ट आन्दोलनमा स्खलनको सुरुवात हुन्छ । तर आजका दिनमा संसदीय राजनैतिक संस्कृति र परम्पराबाट आएको एउटा पंक्ति र केही समययता आएर त्यही परम्पराको लागि अभ्यस्त हुन खोजेको अर्को पंक्तिको बिचको एकतालाई एकीकृत स्वरुप दिन केही समय लाग्न सक्छ । तर यसको गन्तब्य एउटा बुर्जुवा संसदीय व्यवस्थाको पहरेदार भयो भने नेपाली कम्युनिष्ट आन्दोलन भयानक दुर्घटनामा पुगेर समाप्त हुनेछ । तसर्थ कम्युनिष्ट पार्टीले आफ्ना सदस्यहरुलाई कसरी प्रशिक्षित गर्ने हो ? सधैंभरि बुर्जुवा संसदिय व्यवस्थाका पहरेदार बनाएर राख्ने हो या समाज र राजनीतिलाई निरन्तर अग्रगामी रुपान्तरण गर्ने समाजवादी अभियान्ता बनाउने हो ? आदी प्रश्नको उत्तर खोज्ने विषयसँग अबको पार्टी आचरण र संस्कृतिको विषयले स्थान पाउला र पाउनु पर्छ ।
कम्युनिष्ट पार्टीलाई यथास्थितिको रक्षाकवज बनाउने प्रयास मात्र गरियो र समाजको अग्रगामी रुपान्तरणको साधन बनाउने कुरालाई तपसिलको विषय बनाउन खोजियो भने  एकतालाई उद्देश्यकेन्द्रीत बनाउन सकिदैन । आगामी दिनमा नेकपाले यसलाई आफ्नो प्राथमिक एजेण्डा बनाओस । 
बुधबार २९ साउन, २०७६
www. everestdainik.com मा प्रकाशित

No comments:

Post a Comment