Tuesday, January 08, 2013

नेपाल संस्कृत विश्वविद्यालय : रुपान्तरणका चुनौतीहरु


विषय प्रवेश : संस्कृत शिक्षा नेपालको प्राचिन शिक्षा मानिन्छ । प्राचीन नेपालको किराँतकालबाटै गुरुकुल पद्दतिको संस्कृत र वौद्ध गरी दुइ छुट्टा–छुट्ट्र्रैखाले शिक्षाको शुरुवात भयो । लिच्छवी र मल्लकालमा गुरुहरु दरबारमै लगेर राजघरानाका सन्तानहरुलाई शिक्षादिक्षा दिइन्थ्यो । केही ऐतिहासिक तथ्यहरू हेर्दा नेपालमा संस्कृत शिक्षाले वि.सं. १८९७ देखि पाठशालाको आकार ग्रहण गरेको पाइन्छ । यद्यपि त्यो गुरुकुलीय र अनौपचारिक प्रकारको थियो । जतिबेला मुलुक विकेन्द्रीत कविलाई अवस्थामा थियो भिन्न–भिन्नै कविलाईहरूका आ–आफ्नै भाषा, धर्म, संस्कार र संस्कृतिहरू थिए, तिनका आफ्नै सिकाइका पद्दतिहरू र उद्देश्यहरू थिए । पछि शाहवंशीय शासकहरूको पालामा संस्कृत भाषा कर्मकाण्ड र हिन्दु संस्कृति पढाउनका लागि संस्कृत पाठशालाहरु खोलिए । जसको औपचारिक शुरुवात भने वि.सं. १९३२ मा भोजपुरको दिङ्ला र वि.सं. १९३४ मा रानीपोखरी काठमाडौँमा संस्कृत विद्यालयको स्थापनाबाट भएको हो । 

राजकीय संस्कृत महाविद्यालय मार्फत् संस्कृतमा उच्च शिक्षाको औपचारिक शुरुवात वि.सं. २००९ मा भयो । २०१८ सम्म यसको पाठ्यक्रम र प्रश्नपत्र वारणसेय संस्कृत विश्वविद्यालयको अनुरुप भएकोमा वि.सं. २०१९ देखि उत्तरमाध्यामादेखि आचार्यसम्मको परीक्षा त्रिविविबाट र पूर्वमाध्यामा (एस.एल.सी.तह) को परीक्षा शिक्षा मन्त्रालय अन्तर्गतको एस.एल.सी. बोर्डले लिने व्यवस्था भयो । वि.सं. २०४३ सालदेखि नेपाल संस्कृत विश्वविद्यालयले संस्थागत आकार लिएपछि यसको आफ्नै पाठ्यक्रम र परिक्षा प्रणाली संस्थागत हुन पुग्यो । यद्यपि यो पनि भारतीय विश्वविद्यालयकै कपीपेष्ट भन्दा फरक पर्दैन । 


विश्वविद्यालयको वर्तमान अवस्था : नेपाल संस्कृत विश्वविद्यालय अन्तर्गत १३ आंगिक र सबै विषयका गरी जम्मा १२ सम्बन्धन प्राप्त महाविद्यालय र विद्यापीठहरु छन् । जसमध्ये केही संस्थाहरु जीवन र मृत्युको दोसाधमा छन् । शैक्षिक तह, विद्यार्थी संख्या र शिक्षक कर्मचारीको अवस्था हेर्दा विश्वविद्यालय कहाँ छ भन्ने चित्र स्पष्ट हुन्छ । साढे तीनदशक गुजारिसकेको विश्वविद्यालयसँग जम्मा ५ सय ६० शिक्षक र ५ सय १ जना कर्मचारी छन् । विद्यार्थीको उपस्थिति हेर्दा उत्तरमाध्यामामा १ हजार ६ सय ५, शास्त्रीमा ५ सय ९५, आचार्यमा ३ सय ७३, आयुर्वेद विज्ञान उत्तरमाध्यामामा २ सय ५६, आयुर्वेद स्नातकमा ३८, शिक्षा शास्त्री तहमा ५ सय ४४ र प्रशिक्षण अन्य गरी २ हजार ३५ जना जोड्दा ५ हजार ४ सय ४६ जना पुग्दछ । (श्रोत : नेसंवि, वार्षिक प्रतिवेदन २०६५/०६६)

नेसंवि नेपालको दोश्रो पुरानो विश्वविद्यालय हो तर यसको पहुँच र प्रभाव हेर्दा यसले आफ्नो स्थान ग्रहण गर्न सकेको छैन । विश्वविद्यालयको पहुँच र प्रभाव त्यसको आउटपुट या उत्पादनमा भर पर्दछ । आउटपुट या उत्पादन त्यसको इनपुट या उद्देश्य, योजना र लगानीमा भर पर्दछ । संस्कृत विश्वविद्यालय स्थापना गर्दा राज्यसँग के उद्देश्य थियो ? पूरा भए÷भएनन् ती उद्देश्यहरु ? उत्पादित जनशक्तिलाई कहाँ व्यवस्थापन गर्ने सोच थियो राज्यसँग ? के संस्कृत क्षेत्रका विद्वानहरुले पनि संस्कृतलाई सधैँ दया र भिक्षाको भरमा बाँच्ने विद्या बनाउन खोजेर आजको आधुनिक युगमा अस्तित्ववान् रहन संभव छ ? यी र यस्तै अनुत्तरित प्रश्नहरु संस्कृत विविसामु छन् । 

आन्दोलन र उपलब्धि : संस्कृत शिक्षामा रुपान्तरणको आन्दोलन नेपालको सबभन्दा पुरानो विद्यार्थी आन्दोलन हो । २००४ सालको जयन्तु संस्कृतम् आन्दोलनले संस्कृत शिक्षाको सुधारको लागि आधुनिक विषय समेत समावेश गर्नुपर्ने माग अघि सारेपछि शास्त्रीय विषयहरुका साथै इतिहास, भुगोल, अर्थशास्त्र, नागरिकशास्त्रजस्ता विषयहरु समावेश गर्ने क्रम प्रारम्भ भएको हो । हालको पाठ्यक्रममा अनिवार्यतर्फ संस्कृत, अंग्रेज, नेपाली रहेका छन् भने ‘क’ वर्गमा संस्कृतका शास्त्रीय विषयहरु वेद, व्याकरण, ज्योतीष, साहित्य, न्याय, सर्वदर्शन, वेदान्त, मिमांशा, तन्त्र र वौद्धदर्शन आदि र ‘ख’ वर्गमा नेपाली, अंग्रेजी, राजनीति, अर्थशास्त्र आदि विषयको पठनपाठन हुने गरेको छ । जसलाई आधुनिक र शास्त्रीय विषयको योग भन्दै केही संस्कृत विज्ञहरु मानविकीका अध्येताभन्दा राम्रो पाठ्यक्रम भन्दै नाक फुलाउने गर्छन् । यसले आत्मतुष्टिको काम त गर्ला तर संस्कृत विश्वविद्यालयको आजको अवस्था र अनिवार्य रुपान्तरणको समग्र प्रक्रियालाई ओझेल पार्नेभन्दा अर्को हुनै सक्दैन ।

अखिल (क्रान्तिकारी)ले विगत लामो समयदेखि नेसंविको रुपान्तरणको पक्षमा आन्दोलन गर्दै आएको छ । विगतमा विद्यालय तहको शिक्षामा भएको अनिवार्य संस्कृतका विरुद्ध संघर्षमा रहँदा क्रान्तिकारीलाई संस्कृत भाषा विरोधी पक्षको रुपमा चित्रित गरियो, जो सही थिएन । प्रश्न त नेपालजस्तो बहुभाषी, बहुजातीय र बहुसाँस्कृतिक मुलुकमा अरु भाषा संस्कृतिका अधिकारलाई कुण्ठीत गरेर एक भाषा र संस्कृतिलाई मात्र विशेषाधिकार प्राप्त भएझैँ गरी लाद्ने काम नगरौँ । भाषा शिक्षालाई छनौटको अधिकार सहित पाठ्यक्रममा समावेश गरौं, निषेध होइन । आन्दोलनले विषयको वैज्ञानिकतालाई स्थापित गरेरै छाड्यो पनि । सोही प्रक्रियामा तत्कालीन मसंविलाई बहुभाषिक र बहुसाँस्कृतिक विश्वविद्यालयमा रुपान्तरण गर भन्ने माग क्रान्तिकारीले अघि सारेको हो जुन मुद्दा आज झन अनिवार्य बन्न पुगेको छ किनकि समग्र मुलुक रुपान्तरणको डिलमा छ । 

रूपान्तरणका चुनौतीहरू : हामीले नेसंविको रुपान्तरणको कुरा गर्दा त्यसभित्रका चुनौती र समस्याको बारेमा चर्चा गर्नै पर्दछ । नेसंविको मुख्य चुनौती भनेको सामन्ती आधार, सामन्ती चिन्तन, संस्कृति र प्रवृत्तिको हो । राजारजौटा र सामन्तहरुका छोराछोरीको गुरुकुलीय शिक्षादिक्षाबाट प्रारम्भ भएको सामन्ती परम्परालाई थेग्ने काम आज विश्वविद्यालयका हर्ताकर्ताहरुले गरिरहेका छन् । जसलाई हामीले तीनवटा साझा निष्कर्षमा व्यक्त गर्न सक्दछौँ । 

पहिलो समस्या, राजनैतिक रुपमा काँग्रेसीकरणको समस्या हो । जहाँ काँग्रेसीकरण पनि सामन्ती पारिवारीकरणको रुपमा अभिव्यक्त हुँदै आएको छ । विश्वविद्यालय स्थापनापछिका १२ बर्षे हर्ताकर्ताद्वारा खडा गरिएको त्यो काँग्रेसको छाता ओढेको सामन्ती सञ्जालसँगको संघर्ष मुख्य राजनैतिक चुनौती बनेको छ । 

दोश्रो समस्या, आर्थिक अनियमितता र भ्रष्टाचारको हो । तेश्रो समस्या, प्राज्ञिक शैक्षिक स्तरहीनताको हो । जसको कारण नक्कली प्रमाण–पत्रधारीहरुको गिरोह जसले बाहुबलको आधारमा विश्वविद्यालयका नियुक्ति र अवसरहरुमा कब्जा जमाउँदै आएको छ र विश्वविद्यालय सुधारका विरुद्ध तगारो हाल्दछ । विश्वविद्यालयको नीति, निर्माणको तहमा वर्चस्व राख्ने सोही गिरोह जसले बर्षौँदेखि विश्वविद्यालयलाई आफ्नो पेवा ठान्दछ, त्यसले विश्वविद्यालयलाई यथास्थितिको बन्दी बनाउन चाहन्छ । विश्वविद्यालयको जीवन यसको गति, प्रगति र विकासमा अझभन्दा रुपान्तरणमा मात्र सम्भव छ । विश्वविद्यालयको यथास्थिति यसको मृत्यु हो । यो गिरोह विश्वविद्यालयको जीवन होइन मृत्यु चाहन्छ । 

नेपाल संस्कृत विश्वविद्यालयको जीवन चाहने हामीहरु यसको विकास र रुपान्तरणको लागि दुइवटा विषयमा छलफल चलाऔँ । हिजो मुठ्ठीभर मान्छेहरु धर्म र शास्त्रको आडमा शोषण गर्दथे । अध्यात्म मान्छेहरुको जीवन दर्शन थियो तर आज त्यसको ठाउँ विज्ञान र प्रविधिले लिएको छ । मानिसले भौतिकवादलाई आफ्नो जीवन दर्शन बनाइरहेको छ । शास्तास्त्रमा टिकेको पुरानो शिक्षालाई वैज्ञानिकीकरण नगरी विश्वविद्यालयको प्राज्ञिक उन्नयन सम्भव नै छैन । तसर्थ वैज्ञानिक र व्यावहारिक पाठ्यक्रममा आधारित बहुभाषिक र बहुसाँस्कृतिक विश्वविद्यालय निर्माणको लागि पहल गर्नुपर्दछ । देश संघीयतातिर जाँदैछ । सबै भाषा र संस्कृतिको विषय राज्य सरकारले आफ्नो पाठ्यक्रममा समावेश गर्छन् । केन्द्र सरकारको तर्फबाट त्यसलाई उच्चस्तरमा संयोजन गर्ने केन्द्रीय संस्थाको रुपमा यो विश्वविद्यालयको अनिवार्य आवश्यक्ता बन्न जान्छ । बहुभाषा, बहुसंस्कृतिको धनी देश नेपालमा सबै भाषा र संस्कृतिको खोजी र अनुसन्धानको थलो बन्दछ– नेपाल संस्कृत विश्वविद्यालय ।

विश्वमा विश्वविद्यालयको अर्को मोडल पनि छ । जुन विषय यहाँ वैकल्पिक छलफलको लागि मात्र प्रस्तुत गर्न खोजिएको छ । त्यो हो विद्यालय तहदेखि विश्वविद्यालय तहसम्म एउटै छाना र संरचनामुनि शिक्षा र गतिविधि गर्ने मोडेलका विश्वविद्यालय । नेपालमा पनि हालको नेसंविलाई आजकै विषयभित्र अनुसन्धान र अध्ययनको विषय बनाउने हो भने यसको देशव्यापी  संरचना एकै स्थानमा केन्द्रीत गर्न सकिन्छ । पाठ्यक्रमको वैज्ञानिकता त अनिवार्य सर्त नै भैहाल्यो । जहाँसम्म इतिहास, संस्कृत र परम्पराको खोज एवम् अनुसन्धानको प्रश्न छ, इच्छुक जनसमुदायका छोराछोरीको शिक्षा दिक्षा त्यही केन्द्रीत विश्वविद्यालयको संरचनाभित्र लिएर गर्न पनि सक्छ । त्यसो गरेमा हालको विकेन्द्रीत संरचना, देशव्यापी दौडधुप, विद्यार्थी संख्याभन्दा शिक्षक बढी हुने, परीक्षा सञ्चालन, विद्यार्थीको विश्वविद्यालयको पहुँच, राज्यको लगानी आदि चिजहरु सरल र सहज व्यवस्थापनको दृष्टिले पनि केन्द्रीत रुपमा परिचालन गर्न सकिने सम्भावना हुन सक्छ । यी विकल्प खुला राखेर नेसंविको लागि बहस थालौँ । विश्वविद्यालयलाई माफियाहरुको गिरोहबाट मुक्त गर्न संघर्ष गरौँ ।

२०६७ माघ ६, काठमाण्डौं

No comments:

Post a Comment