Thursday, April 16, 2020

कविता | यसो गरे कसो होला?

बिहान सखारै
पूर्वक्षितिज उर्घिनै लाग्दा
चराहरुको चिरबिर चिरबिरसँगै
शुरु हुन्छ मेरो दैनिकी
उठ्यो, मोबाइल समात्यो
भित्ताभरि पोतिएका
गालीगलौज र उपदेशसँगै
बेचैनी बन्नलाई काण्ड पुग्छ
र, शुरु हुन्छ प्रतिक्रियाको दैनिकी ।

कोरोना, नयाँ बर्ष र नेकपा

आज विश्वको मानवजाति नोवेल कोरोनाभाइरस (कोभिड–१९) संक्रमणको महामारी विरुद्ध लडिरहेको छ। चीनको वुहान शहरमा पहिलोपटक देखिएको उक्त भाइरसको प्रकोप हालसम्म विश्वका २१० देशमा विस्तार भइसकेको छ।
विश्व स्वास्थ्य संगठनको पछिल्लो आँकडाअनुसार कुल १७ लाख ८३ हजार ७ सय २४ जनामा भाइरसको संक्रमण देखा परेको छ भने हालसम्म एक लाख आठ हजार ९ सय ७ जनाले ज्यान गुमाइसकेका छन्। चार लाख चार हजार ८ सय ६५ जना भने उपचारपश्चात् घर फर्किएका छन्। प्रति मिनेट २२८.५९ जनामा यो रोगको संक्रमण बढ्नुले महामारी संक्रमणको गति कति खतरनाक छ भन्ने स्पष्ट हुन्छ।

कोरोना संक्रमणको सबैभन्दा बढी असर संयुक्त राज्य अमेरिकामा परिरहेको छ। अमेरिकामा हालसम्म विश्वकै सबभन्दा बढी २०,५९७ जनाको मृत्यु भइसकेको छ भने संक्रमितको संख्या पनि ५ लाख ३३ हजार २५९ जना रहेको छ।

सपनाको बिज उमार्नु छ

जुन दिन मैले
अर्थ खोजे जीउनुको यस धर्तिमा
सोही दिन देखि
बदलीयो मेरो कर्मक्षेत्र
जे देखें चर्मचक्षुले
जे बुझे अन्तस्करणले
अहँ, पटक्कै मन मानेन
पृथक मोलमोलाई जीवनको
बाटो रोजे समरयात्राको
तर,
शारदाको किनारमा
झण्डा बोक्नु ‘अपराध’ भन्दै
उडाईयो तीन प्राण पखेरु
जारी गरीयो फर्मान
कोहीले बोक्ने छैन यो झण्डा
सोहीदिन देखि हो मैले
झण्डा बोकेको कहिल्यै नछोडनेगरि
कसम खाएको कहिल्यै नभुल्नेगरि
अमर जीवन जिएकाहरुको नाममा ।

स्मृति | कमरेड आक्रोशसँगको अन्तिम भेट

एक निर्भिक कमाण्डर, जसले कहिल्यै चिप्लो दलेर कुरा गर्न जानेन। हो भने हो, होइन भने होइन।
एक कुशल कमाण्डर, जसले कुनै लडाईबाट पनि हारेर फर्किन मानेन। उसले जहाँ लड्न गयो, जितेर आयो। उसले अन्तिम लडाईं पनि वीरतापूर्वक लड्यो। लडाईं जित्यो र जित्यो मृत्युलाई पनि।
प्रिय कमरेड राजेन्द्र बुढाथोकी (आक्रोश)– लाल सलाम!

Monday, January 13, 2020

त्रिवि सभामा

२०७२ असोज ३ गते त्रि.वि. स्मृतिभवनको सभाकक्षमा सम्पन्न त्रिभुवन विश्वविद्यालयको साधारणसभा बैठकमा विद्यार्थी प्रतिनिधिको रुपमा सिनेट सदस्य रमेश मल्लद्वारा
त्रिभुवन विश्वविद्यालयको आर्थीक बर्ष २०७२/०७३ को प्रस्तावित नीति तथा कार्यक्रममा आवश्यक परिमार्जनको लागि पेश गरेको संशोधनसहितका व्यक्त विचार ।

सम्मानीत त्रिवि सभाका अध्यक्ष माननीय शिक्षामन्त्री तथा त्रिविसभाका उपाध्यक्ष ज्यू, आदरणीय त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. तिर्थ खनियाँ ज्यू तथा सम्मानीत सभाका आदरणीय विद्वान सभासद ज्यूहरु !

आदरणीय शिक्षाध्यक्ष तथा सभासद प्रा. गुणनीधि न्यौपाने ज्यूबाट आव ०७१÷०७२ को प्रगति समिक्षा प्रस्तुत गर्दै गर्दा बोल्न खसखस लागेको थियो तर बोल्न समय मिल्न सकेन । त्रिभुवन विश्वविद्यालयमा शुरु गरेको सेमेष्टर प्रणालीका एउटा पक्ष अर्थात राम्रा पक्षलाई मात्र उठाएर गरिएको समिक्षाले हामीलाई लक्ष प्राप्त गर्न सहयोग पुर्याउदैन भन्ने मेरो मतलाई दृढताकासाथ राख्न चाहन्छु । सेमेष्टर प्रणालीका नकारात्मक पक्षको बारेमा पनि समिक्षा गरौं । आज हामीले भव्य सफलताको उपमा दिएको सेमेष्टर प्रणाली असफलताको दिशामा छ भन्ने कुरालाई कति ख्याल गरेका छौं ? यो सम्मानीत सभालाई मेरो प्रश्न छ । यदी विश्वविद्यालय क्याम्पस विद्यार्थी विहिन सेन्टर अफ एक्सलेन्सको अभ्यासमा लम्कीदै जाने हो भने र विश्वविद्यायलका सबै कलेजका सबै कार्यक्रम सेमेष्टर प्रणालीमा लिदाँ त्रिवि आम जनताको विश्वविद्यालयबाट टाढा पुग्ने हो भने किन चाहियो हामीलाई सेमेष्टर प्रणाली ? म फेरी पनि अपील गर्दछु यसको बस्तुनिष्ट समिक्षा गरेर र कमीहरुलाई सच्च्याएर मात्र यो प्रणाली विस्तार गरौं । 

अब म आदरणीय रजिष्ट्रार प्रा.डा. चन्द्रमणी पौडेलद्वारा प्रस्तुत नीति तथा कार्यक्रममा आफ्नो मत राख्न अनुमति चाहन्छु ।

विश्वविद्यालयका मुख्य कार्यक्षेत्र र नीति भनेर उहाँले ९ वटा उपबुँदाहरु अन्र्तगत कार्यक्रम पेश गर्नुभएको छ । म यसमा दशौं बुँदा थप्न आग्रह गर्दछु ।

१.थप शिर्षकः उच्च शिक्षामा विद्यार्थीको सहज पहुँचः
# हाल आंगीक क्याम्पसमा रहेको नियमीत कोटा सम्वन्धी व्यवस्थालाई यथावत राख्दै जम्मा विद्यार्थी संख्याको २० प्रतिशत लक्षित विद्यार्थीलाई पुर्ण छात्रवृति लागु गरिनेछ ।
# त्रिविका सबै सम्वन्धनप्राप्त (नीजि तथा सामुदायीक ) सबै क्याम्पस÷कलेजहरुमा लक्षित विद्यार्थीहरुको लागि १० प्रतिशत पुर्ण छात्रवृति कार्यक्रम अनिवार्य लागु गरिनेछ ।
# छात्रवृति कार्यक्रम लागु गर्दा लक्षित समुदायको किटानी गर्दा सरकारी÷सार्वजनिक विद्यालय, उमावि, त्रिविका आंगीक÷सामुदायीक क्याम्पसका विद्यार्थीहरुलाई एउटा प्रमुख आधार बनाइने छ । यो कार्यक्रमको प्रभावकारी कार्यान्वयनको लागि विश्वविद्यालयको तर्फबाट छुट्टै छात्रवृति सम्वन्धी नियमको व्यवस्था गरिनेछ । 
# आंगीक क्याम्पसमा वितरीत सबै प्राइभेट कार्यक्रमहरुलाई क्रमशः आंगीक कार्यक्रमा रुपान्तरीत गरिनेछ । कुनै पनि नयाँ कार्यक्रम वितरण गर्दा सबभन्दा पहिले आंगीक क्याम्पसहरुमा विस्तार गरिनेछ ।
# चिकित्साशास्त्र, इन्जीनियरीङ, बन विज्ञान, कृषि तथा पशुविज्ञान लगायतका प्राविधिक शिक्षाका कार्यक्रमहरुमा आवश्यक पुर्वाधार विकास गरि विद्यार्थी कोटा वृद्धि गरिनु पर्ने ।
# प्रत्येक शैक्षिक सत्रमा १० प्रतिशत शुल्क वृद्धिको निर्णय खारेज गरिनुपर्ने ।
# विद्यार्थीको स्वास्थ्य विमाको व्यवस्था गरेर मात्र स्वास्थ्य विमाशुल्क लागु गर्नुपर्ने ।
# केन्द्रीय क्याम्पस किर्तिपुर र अन्य केही क्याम्पस र विषयमा स्नाकोत्तर तहमा सेमेष्टर प्रणाली लागु गर्दा एउटै समयमा र एउटै विषयमा त्रिविमा फरक फरक व्यवस्थापन र प्रणालीमा विद्यार्थी उत्पादन हुने अवस्थाको अन्त्य गरियोस । सेमेष्टर प्रणाली अवलम्वन गर्दा १३ विद्यार्थी संगठनसँग गरिएको १२ बुँदे प्रतिवद्धता अक्षरसः लागु गरीयोस ।
# उच्च शिक्षा विशेष गरि त्रिभुवन विश्वविद्यालयमा हाल रहेको सरकारी बजेटलाई गुणात्मक रुपले वृद्धि गरिनुपर्ने ।
२. नीति तथा कार्यक्रमको बुँदा नं.क मा प्राध्यापकहरुलाई नियमीत रुपमा क्याम्पसमा रहने वातावरण बनाउने भनिएको छ । त्यसमा प्राईभेट क्षेत्रमा संलग्न, अनियमीत र अनुपस्थीत प्राध्यापक÷शिक्षकहरुलाई वार की पारको नीति अवलम्वन गर्ने । जिम्मेवारी पुरा नगर्ने र प्राइभेट क्षेत्र छोडन नचाहनेलाई सेवाबाट विदा गर्ने भन्ने विषय थपीयोस । 
३. बुँदा नम्वर ख मा तीनवटा बुलेट सम्वन्धनको विषयमा खर्चिएको देखिएको छ । त्यसलाई त्रिवि जस्तो राष्ट्रको उच्च शिक्षाको जिम्मा लिएको जिम्मेवार संस्थाले आफुखुसी सम्वन्धन बाँड्ने काम नगरौं । राष्ट्रिय योजना आयोगसँग बसेर राष्ट्रिय मानव संशाधन सम्वन्धी नीति निर्माण गरेर मात्र र मुलुक संघीयतामा गएपछि राष्ट्रिय र क्षेत्रीय तथा विषयगत विश्वविद्यालयको जिम्मेवारी र क्षेत्राधिकार किटानी गरेरमात्र सम्वन्धन सम्वन्धी नीति बनाउने काम गर्नु राम्रो हुनेछ ।  हाललाई सम्वन्धनका सबै प्रक्रियाहरु स्थगन गरियोस ।
४. बुँदा नम्वर घ को गुणस्तरिय उच्च शिक्षा भन्ने शिर्षकमाः पहिलो कुरा, त्रिवि सभाले विश्वविद्यालयका अब उप्रान्तका नियुक्तिहरु राजनैतिक भागबण्डामा नहुने र नियुक्तिको प्रचलित ऐन संशोधनको लागि सभाले नेपाल सरकारमार्फत व्यवस्थापीका संसदमा पठाउने निर्णय गरोस । जब की अबका सबै नियुक्तिहरु प्राज्ञिक प्रतियोगीताको आधारमा योग्य व्यक्तिहरुले प्राप्त गरुन । 
दोश्रोकुरा, विश्वविद्यालयका सबै प्राध्यापक र कर्मचारीको नियुक्ति खुला प्रतिस्पर्धाका आधारमा गरिनु पर्दछ । आन्तरिक प्रतियोगीताबाट स्वतः स्थायी गर्ने परम्पराको अन्त गरियोस । हाल सेवा आयोगले गलत नियतका साथ गरिएको विज्ञापन रद्द गरियोस ।
५. बुँदा नम्वर च मा भौतिक विकास.........को शिर्षकमा क्षेत्रीय परिक्षा नियन्त्रण कार्यालयको भवन निमार्ण गर्ने भनिएको छ । विद्यार्थीका सबै सेवा सुविधाहरु क्षेत्रीय कार्यालयबाटै उपलब्ध गराउने व्यवस्था गरिनेछ भन्ने उल्लेख गरियोस ।
६. बुँदा नम्वर झ मा आन्तरिक श्रोत परिचालन र आय आर्जनको शिर्षक राखिएको छ । यसमा त्रिविको सबै चल अचल सम्पतिको बारेमा एक महिनाभित्र श्वेतपत्र जारी गर्ने । सम्पति जाँचवुझ गर्नको लागि करिव पन्ध्र दिनको समय दिएर एक कार्यदल गठन गरियोस । ल्याव स्कुलको सम्झौता खारेज गरि त्रिवि आफैले आफनो प्रयोजनमा स्कुल सन्चालन गरोस ।
७. विश्वविद्यालयले सरोकारवालाहरुको सहभागीतामा एकेडेमेक क्यालेण्डर सार्वजनिक गरि लागु गर्ने प्रतिवद्धता जारी गर्ने । स्ववियु निर्वाचनलाई क्यालेण्डरकै मितिमा सम्पन्न गर्ने वातावरण तयार गरोस ।
८. त्रिवि राष्ट्रिय विश्वविद्यालय हो । यो राष्ट्रिय जिम्मेवारी बोकेको प्राज्ञिक संस्थामा राष्ट्रिय भुमीकामा रहेका विद्यार्थी संगठनहरुको सभामा संस्थागत प्रतिनिधित्वका लागि ऐन संशोधन गरियोस । स्ववियु निर्वाचनमा प्राप्त मतलाई आधार मानी राष्ट्रिय संगठनको मापदण्ड निमार्ण गरिनुपर्दछ । 
सम्मानीत सभाका आदरणीय विज्ञप्राज्ञ ज्युहरु,
मैले विषय राख्दा थुप्रै ठाँउमा माग राखे जसरी राखेको छ । यहाँँहरुले एउटा विद्यार्थी प्रतिनिधिको हैसीयतले विद्यार्थी समुदायको तर्फबाट यी विषयहरु सभासमक्ष दर्ज भएका छन भन्ने मानिदिनु होला  र नीति तथा कार्यक्रममा यी विषय समावेश गर्दा भाषा मिलाएर समावेश गर्नुहुनेछ । नीति तथा कार्यक्रममा आदरणीय रजिष्ट्रार ज्युले पेश गरेका बाँकी अन्य विषयलाई कार्यान्वयन गर्ने प्रतिवद्धतासाथ अघि बढौं ।
अन्तमा, विनाशकारी भुकम्पले ज्यान गुमाएका विश्वविद्यालय परिवारका हरेक सदस्यलाई विश्वविद्यालयको तर्फबाट आवश्यक सहयोग गर्ने छ भन्ने विश्वास सहित मेरा भनाई अन्त गर्दछु ।
 ( माननीय रञ्जीत कर्ण र सिनेटर किशोरबिक्रम मल्लको समेत यी विषयहरुमा समहति रहेको थियो )

Thursday, November 14, 2019

समाजवाद निमार्ण र कम्युनिष्ट पार्टी : एक छलफल

– रमेश मल्ल
सन् १८४८ मा महान् चिन्तक कार्लमाक्र्स र उनका निकट सहयोगी फेंडरिक ऐँगेल्सले वैज्ञानिक अनुसन्धान र विश्लेषणका आधारमा मानव सभ्यताको ऐतिहासिक विकासक्रम र यसको द्धन्द्धात्मक प्रक्रियाको अध्ययन गर्दै साम्यवादी समाजको सैद्धान्तिक आधार तयार गरे । जसलाई कम्युनिस्ट पार्टीको घोषणापत्र भनियो । कम्युनिस्ट घोषणापत्र नै समाजवादी राज्य र वैज्ञानिक समाजवादको रुपरेखा कोर्ने प्रारम्भिक दस्तावेज थियो । पुँजीवादी विकासको मोडेलमा रहेका ज्ञानका अत्यावश्यक आधार विशेषगरि बेलायती राजनैतिक अर्थशास्त्रलाई आधार मानेर यसका सिमीतता र कम्जोरीलाई केलाउँदै, जर्मन शास्त्रिय दर्शन र फ्रान्सेली समाजवादको अध्ययन गर्दै तथा युरोपको प्रकृति विज्ञानको आगमनलाई विचार गर्दै माक्र्सले त्यो भन्दा अगाडि बढेर मानव समाजको ऐतिहासिक विकासक्रमको उत्कर्ष समाजवाद र साम्यवादको सिद्धान्त  आविस्कार गरे । समाजवाद र साम्यवादको लागि आवश्यक युक्ति, रणनिति, संगठनात्मक तयारी र सर्वहारा वर्गीय नेतृत्वको प्रारम्भिक रुपरेखा पनि प्रस्तुत गरे ।
माक्र्स ऐंगेल्सले कम्युनिस्ट लिग र प्रथम अन्र्तराष्ट्रिय जस्ता संगठनमार्फत विभिन्न क्रान्तिकारी गतिविधिमा पनि भाग लिए । सन् १८४९ को असफल क्रान्तिको २३ बर्षपछि पेरिसका मजदुरहरुले विद्रोहमार्फत संसारकै पहिलो मजदुर सरकार पेरिस कम्युनको स्थापना गरे जो ७२ दिन टिकेको थियो । माक्र्सले पेरिस कम्युनका क्रान्तिकारी शिक्षाहरुलाई फ्रान्सको गृहयुद्ध नामक पुस्तकमा सान्दार ढंगले ब्याख्या गरेका छन र यसको ४६ बर्ष पछि रसियाका मजदुरहरुले संसारलाई झक्झकाउने अक्टुबर (नोभेम्बर) क्रान्ति सफल बनाए । 
पुँजी सञ्चयको बाटो हुँदै पुँजीवाद एकाधिकारको चरणमा पुग्ने कुरा कार्लमाक्र्सले आफ्नो पुस्तक दास क्यापिटलमा विस्तृत रुपमा उल्लेख गरेका छन । तर माक्र्सले साम्राज्यवादी चरणमा प्रवेश गरिसकेको पुँजीवाद देख्न पाएनन । लेनिनले आफ्नो किताव “साम्राज्यवादः पुँजीवादको उच्चतम चरण”मा साम्राज्यवादको चरणसम्म आईपुग्दा पुँजीमाथि एकाधिकारको अनिवार्यताले गर्दा संसार विभिन्न साम्राज्यवादी गुटमा विभक्त हुनेछ र जसले युद्धको आवश्यकता अपरिहार्य बन्नेछ भन्ने कुरा विस्तृत तर्कसहित विवेचना गरेका छन । लेनिनको विश्लेषण थियो कि, ”जहाँ पुँजीवादको संकटले युद्धलाई अपरिहार्य बनाईरहेको हुन्छ, त्यहाँ युद्धले झन ठुलो संकटलाई स्वागत गरिरहेको हुन्छ ।“ जहाँ साम्राज्यवादको कडि कम्जोर बन्छ त्यहाँ क्रान्तिमार्फत समाजवाद निमार्ण सम्भव हुने तर्कलाई उनकै नेतृत्वको अक्टुबर समाजवादी क्रान्तिले पुष्टी गरेर छाड्यो । 
क्रान्तिको मोडेल विकासमा योगदान गर्दै क्रान्ति भनेको कुनै धर्मशास्त्र होइन र यो बनिबनाउ सिद्धान्त जपेर पुरा हुदैन बरु यो त ठोस परिस्थितिको ठोस विश्लेषणको आधारमा तयार गरिन्छ । क्रान्ति कुन चरणमा छ भन्ने कुराको निर्धारण सत्तामा कुन वर्ग छ र त्यसलाई कुन वर्गले विस्थापीत गर्ने भन्ने कुराले निधो गर्दछ भन्ने कुरा लेनिनले स्पष्ट गरेका छन ।
सोभियत सरकारका विरुद्ध बेलायत, फ्रान्स, जमर्नी, अमेरिकासहित दुनियाँका प्रतिक्रियावादीहरु लागि परे । सत्ताच्युत वर्गलाई पुनः सत्तासिन गराउन गरिएको आक्रमण, घेराबन्दी, आन्तरिक तोडफोड, श्वेत विद्रोही सेना निमार्ण देखि 
श्वेत सरकार गठनसम्मका सैन्य र राजनैतिक परिस्थितिको प्रतिवाद गर्दै लेनिनले “नयाँ आर्थिक नीति” र “युद्ध साम्यवाद” को सफलतापुर्वक लागु गरे । कमरेड लेनिनले गरेको माक्र्सवादको रचनात्मक प्रयोग लेनिनको निधनपश्चात स्टालीनको नेतृत्वमा अघि बढाईयो । पार्टी, सोभियत सरकार र अन्र्तराष्ट्रिय कम्युनिस्ट आन्दोलनका अन्र्तविरोधलाई बुझ्ने र सञ्चालन गर्ने सवालमा कमरेड स्तालिनका देखिएको केही अधिभुतवादी सोंचले कम्युनिस्ट आन्दोलनमा कही न कही नकारात्मक असर परेतापनि कम्युनिष्ट आन्दोलनमा उनको भुमीका विश्वका एक तिहाई भुगोलमा एकछत्र समाजवाद स्थापना गर्ने, सोभियतसत्तालाई विकास गर्ने तथा विचारको क्षेत्रमा माक्र्सवादलाई समृद्ध गरि लेनिनवादमा विकसीत र प्रसारित गर्न महत्वपुर्ण रह्यो ।
सोभियत समाजवादलाई परास्त गर्न विश्वभरका साम्राज्यवादीहरु अमेरिकी साम्राज्यवादको नेतृत्वमा सैन्य गठबन्धन निमार्ण गरेर अगाडि बढे । शितयुद्धको पुर्वसन्ध्यामा भर्खर मुक्त भएका देशहरुमा साम्राज्यवादी सैनिक शासन वा अधिनायकवादी सरकार गठन गरे । कु गरेर होस या राजर्नैतिक नेतृत्वको हत्या गरेर होस आफुले चाहेका कयौ देशहरुमा आफु अनुकुलको राजनैतिक सत्ता स्थापना गरे । सोभीयत युगको अन्तपछि यो कुरा प्रस्ट भएको छ कि उनीहरुले जम्मा गरेको विशाल सैन्य साम्रागी उनीहरुको कथित सुरक्षाका लागि नभै साम्राज्यवादको युद्धकेन्द्रीत अर्थतन्त्र निमार्णका लागि थियो । 
सोभीयत संघको विघठन पछि विश्व कम्युनिस्ट आन्दोलन रक्षात्मक चरणबाट गुज्रीरहेको छ । महान वहसका समयमा रुसीधार र चीनीयाँ धारको रुपमा विभाजित विश्व कम्युनिस्ट आन्दोलन एकत्रित हुन नपाई धरासायी भएको छ । शान्तिपुर्ण प्रतिस्पर्धाको मार्ग अवलम्बन गरेको कम्युनिस्ट धारा विश्वव्यापी रुपमा संसदवादको माध्यमबाट पुँजीवादी सत्ताकै वरिपरि चक्कर काटीरहेको छ भने माओत्सेतुङको नेतृत्वमा चीनियाँ नयाँ जनवादी क्रान्तिको सफलता पछिका नयाँ जनवादी क्रान्तिको मोडेलहुदै सशस्त्र संघर्षको बाटोबाट अघि बढेका कम्युनिस्ट क्रान्ति कि त सम्झौता गएर टुँगीएका छन कि त पुर्णतः समाप्त भएका छन । 
यो परिवेशमा नेपालमा मालेमावादलाई पथप्रर्दशक सिद्धान्त मान्दै नयाँ जनवादी क्रान्ति सम्पन्न गर्न नेकपा(माओवादी)को नेतृत्वमा सञ्चालीत १० बर्षे जनयुद्धले २१ औं शताब्दीमा जनवादको विकास सम्बन्धी क्रान्तिको नयाँ रणनैतिक प्रस्ताव तयार गर्दै मौलिक मोडेलको विकास गर्ने प्रयत्न ग¥यो । कमरेड प्रचण्ड नेतृत्वको तत्कालीन माओवादीले जनयुद्ध र जनविद्रोह वा जनआन्दोलनको समायोजन(फ्युजन)को मोडेलको रुपमा सैद्धान्तिकरण गरिएको उक्त विचारको कार्यान्वयन जनयुद्ध र जनआन्दोलनको सुन्दर समायोजनको रुपमा अघि बढ्यो भने रक्षात्मक रहेको कम्युनिष्ट आन्दोलनलाई जीवन र गति दिन कम्युनिष्ट आन्दोलनमा लोकतान्त्रिकरणको जर्बजस्त वहस प्रवेश गराएर जनताको बहुदलीय जनवादको जनप्रिय कार्यक्रममार्फत कमरेड मदन भण्डारी र तत्कालीन नेकपा(एमाले) अगाडी आयो । जुन विचारलाई पछि साविकको नेकपा(एमाले)ले जनवादी क्रान्तिको मौलिक सिद्धान्तको रुपमा अगाडी सारेको थियो ।
एकात्मक सामन्ती निरंकुश राजतन्त्रलाई संघीय लोकतान्त्रीक गणतन्त्रले विस्थापीत गरि संविधानसभाबाट संविधान निमार्ण तथा यसको कार्यान्वयनको चरणसम्म आईपुग्दा सिँगो देश करिब दूइतिहाई वामपन्थी शक्तिको हातमा आईपुगेको छ । रुसी र चीनियाँ धारमा विभक्त नेपालका वामपन्थी कम्युनिस्टहरु पार्टी एकतामार्फत एकिकृत भएका छन । यसले आज विश्वव्यापी रुपमा रक्षात्मक अवस्थामा पुगेको कम्युनिस्ट आन्दोलन र समाजवादको वहस फेरी एकपटक सतहमा आएकोछ । विश्वभरका कम्युनिस्ट तथा समाजवादी शक्तिहरु नेपालतर्फ फर्केर हेर्न थालेका छन । अबको प्रश्न यो हो कि हामीले समाजवाद कसरी, कस्तो र कस्का लागि निमार्ण गर्छौ । हामी सबै विना आग्रह समाजवाद निर्माणको यो वहसमा सामेल हौं । कम्युनिष्ट आन्दोलन रुपमा राष्ट्रिय भएता पनि यसको सार अन्र्तराष्ट्रिय रहँदै आएकोछ । मान्छेले मान्छेमाथि गरिएका सबै खाले शोषणहरुको अन्त्य गर्नु यसको मुख्य कार्यभार हो । नेपालको वर्तमान सन्दर्भमा दलाल तथा नोकरशाही पुँजीपति वर्गका विरुद्धको संघर्षमा सर्वहारा श्रमजिवी तथा देशभक्त शक्तिहरुको एकता आजको अनिवार्य आवश्यकता बन्न पुगेको छ । त्यसका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को कुशल नेतृत्व र आफ्ना लोकप्रिय काममार्फत सरकारको तर्फबाट गरिने सकारात्मक योगदानको बलमा सिंगो देश र जनताका माझमा विश्वासको वातावरण तयार हुन सक्छ । आज पर्यावरणीय कोणबाट भावि पुस्ता बस्न र बाँच्न सक्ने पृथ्वीको हस्तान्तरण पनि कम्युनिष्ट तथा समाजवादीहरुको आधारभुत मुद्धा बन्नपर्दछ । मानवसमाज र प्रकृतिका यीनै आधारभुत अन्र्तविरोधको बस्तुनिष्ट हल दिने कम्युनिस्ट पार्टीको निमार्ण अबका समाजवादीहरुको दायीत्व हुनेछ । उक्त पार्टी विश्वका सर्वहारा श्रमजीवि जनताको नेपाली इकाई हुनेछ ।  जसले साम्राज्यवाद विरुद्धको विश्वमञ्चमा आफुलाई उभ्याउने छ । वहसको यो श्रृङ्खलामा हामीसबै सहभागी बनौं । धन्यवाद !
तिनकुने, २०७६।०७।२९

Monday, September 23, 2019

स्कुल विभाग: पहिलो बलमै छक्का, भव्य कार्यक्रमको संक्षिप्त टिप्पणी

हिजोदेखि काठमाडौंमा नेपाल कम्युनिष्ट पार्टी विदेश विभाग र चिनियाँ कम्युनिष्ट विदेश विभागको सहआयोजनामा सि जिनपिङ विचारधाराबारे चिनियाँ कम्युनिष्ट पार्टीका धारणा तथा नेपाल कम्युनिष्ट पार्टी र चिनियाँ कम्युनिष्ट पार्टीबिच विचारधारात्मक छलफल कार्यक्रम शुरू भएको छ । दुई दिन चल्ने उक्त कार्यक्रमको उदघाटन प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले गरेका छन भने उदघाटन सत्रमा नेकपाका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री कमरेड प्रचण्ड र चिनियाँ प्रतिनिधिमण्डलको नेतृत्व गरिरहेका केन्द्रीय समिति विदेश विभागका मन्त्री सुङ ताओले उदघाटन सत्रलाई सम्बोधन गरेका छन ।
हिजो साँझ नै कार्यक्रमको प्रथम सत्र शुरू भईसकेको छ । Completing the Building of Moderately Comfortable Society भन्ने शिर्षकमा शुरु भएको यो शेषणको संयोजनकर्ता हु झाओ मिन छन भने यसको प्रस्तोता काओ ली रहेकी छिन । काओ चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय पार्टी स्कुलमा कार्यरत छिन ।

यो नेकपा स्कुल विभागको आयोजना, व्यवस्थापन र पहलकदमीमा भएको पहिलो, नयाँ र भव्य कार्यक्रम हो । मैले बुझँेसम्म यो कार्यक्रम दुई देशका सत्तासिन कम्युनिष्ट पार्टीका बिचमा विचारधारात्मक तहमा भएको यो पहिलो अन्र्तक्रिया, छलफल वा प्रचण्डको शब्दमा अन्तरसम्वादको कार्यक्रम हुनुपर्छ ।

हिजोआज यो कार्यक्रमको देशव्यापी चर्चा छ, तरङ्ग छ, हल्लीखल्ली छ । कतिले त नेकपा सिवादी भयो, यसले सि विचार अबलम्बन गर्ने भयो भन्न सम्म भ्याएका छन । उनीहरु नेकपाले नेपालमा चिनको हस्तक्षेप निम्त्यायो भन्न पनि पछि परेका छैनन । जे होस एकथरी मानिस अत्तालिएका छन । तर, कार्यक्रममा भने दुई देश बिचको हजारौं बर्षदेखिको मैत्री सम्बन्ध, नेपालको एक चिन निति र चिनको छिमेकप्रतिको सहिष्णुताको बारेमा छलफल चलिरहेको छ । एक अर्काका देशका संवेदशिलता, सार्वभौमिकता र अखण्डताको रक्षाको लागि विगत, वर्तमान र भविष्यसम्म एकबद्ध रहने दृढता व्यक्त भईरहेका छन ।

कम्युनिष्ट पार्टीको नाताले विश्वब्यापी विचारधारात्मक खडेरीलाई चिनियाँ कम्युनिष्ट पार्टीले विगतमा कसरी हल ग¥यो र वर्तमानमा के गरिरहेको छ भन्ने कुरा छलफलमा प्रस्तुत भयो । त्यसैगरि नेपाल कम्युनिष्ट पार्टीले कसरी योगदान गरेको छ भन्ने विषय चर्चा गरियो । माक्र्सवादलाई जडसुत्रको रुपमा होइन ठोस परिस्थितिको ठोस विष्लेषण गर्ने र तथ्यबाट सत्य पत्ता लगाउने लेनिन र माओका शिक्षा र मार्गदर्शन अनुसार अघि बढेका सफल अनुभवहरू आदानप्रदानका काम भईरहेका छन ।

चिनले अहिले दुई सतबार्षिकी लक्ष सहित काम गरिरहेको छ । सन २०२१ सम्म पार्टी स्थापनाको सतबार्षिकी र सन २०४९ सम्म जनवादी चिन स्थापनाको सतबार्षिकी । सन् २०५० सम्म चिनलाई समुन्नत समाजवादी चिन निमार्ण गर्ने चिनियाँहरुको लक्ष रहेकोछ । एक साता पछि चिनले राष्ट्रिय दिवस मनाउन गइरहेको छ । नेपालले पनि भर्खरै संविधान दिवस तथा राष्ट्रिय दिवस मनाएको छ । कार्यक्रममा दुबै देशका बिच राष्ट्रिय दिवसको शुभकामना आदानप्रदान गरियो ।

चिनमा समाजवाद निर्माणको प्रमुख चुनौतीको रुपमा रहेको गरिबि र त्यसको सामना गर्न चिनियाँ कम्युनिष्ट पार्टीले गरिबि निवारणको कार्यक्रम अघि सारेको छ । त्यसलाई उनीहरु युद्ध लडनुभन्दा कठिन ठान्दछन । राष्ट्रपति सि को नेतृत्वमा चिनले गरिवि निवारणको क्षेत्रमा थुप्रै काम गरेको छ । विगत ६ बर्षमा चिनले ८ करोड जनसंख्यामा गरिवि निवारण गरेको छ, जुन संख्या जर्मनीको कुल जनसंख्या बराबर हो । अझैं पनि चिनमा १० करोडको हाराहारीमा गरिविको रेखामुनीको जनसंख्या रहेको छ । गरिवि निवारणमा चीनियाँ कम्युनिष्ट पार्टीले प्रत्येक पार्टी कमिटि र सदस्यहरूलाई परिचालन गरेको छ । जुन कमिटिले दिएको दायित्व पुरा गर्दैन त्यो कमिटिको सचिवको बढुवा मात्र रोकिदैन कार्वाही पनि गरिन्छ । गरिवि घटाउन योगदान गर्ने पार्टी कमिटि र सदस्यलाई प्रोत्साहन गरिन्छ । गरिवि घटाउने कम्पनीलाई कर छुट गरिन्छ । प्रमण्डलको भनाई अनुसार चिनले भ्रष्टाचारका विरुद्ध कडा रुख अपनाएको छ । यदी कसैले भ्रष्टाचार गरेमा फलानो भ्रष्टाचारी हो भनेर उसको घरमै भ्रष्टाचारी भनेर सुचना, पोष्टर टाँसिन्छ । यो कुरा सुन्दा हामी सहभागीले सर्वहारा साँस्कृतिक क्रान्तिको विरासत अझैं बाँकी रहेको अनुमान ग¥यौं ।

हामीले पनि गन्तव्य समाजवाद भनेका छौं । समृद्ध नेपाल र सुखी नेपाली हाम्रो नारा रहेको छ । देशमा व्यप्त गरिवि, वेरोजगारी, भ्रष्टाचार र कमिश्नतन्त्र हाम्रा ठुला रोगहरु हुन । यीनका विरुद्धको युद्ध हाम्रा लागि ज्यादै कठिन छ । के हामी यसका विरुद्धको साँस्कृतिक क्रान्ति आफैबाट शुरु गर्न सकौला ? यो प्रश्न नेकपाका हरेक सदस्यले आफैबाट शुरु गर्न जरुरी छ ।

नेपालको तर्फबाट प्रमुख अतिथिको तर्फबाट प्रधानमन्त्री तथा पार्टी अध्यक्ष, पार्टी अध्यक्ष तथा पुर्वप्रधानमन्त्री र स्कुल विभाग प्रमुखद्धारा मन्तव्य व्यक्त गरियो । झापा आन्दोलनको ऐतिहासिक भुमिका, कम्युनिष्ट पार्टीको लोकतान्त्रिकरणको लागि जननेता मदन भण्डारीको योगदान, मौलिक सिद्धान्तको रुपमा जनताको बहुदलीय जनवादको प्रतिपादन, बदलिएको परिवेशमा तत्कालिन नेकपा(माओवादी केन्द्र) ले अघि सारेको २१ औं शताब्दीको जनवाद हुँदै एकीकृत पार्टीको सिद्धान्त जनताको जनवाद रहेको व्याख्या गरियो । सम्बोधनको क्रममा नेताहरुले नेपाली समाजको रुपान्तरणमा हजारौंको वलिदान भएको पनि उल्लेख गर्नुभयो तर सम्बोधनको क्रममा कमरेड प्रचण्डले उच्चारण गरेको सशस्त्र संघर्ष बाहेक कसैले पनि नेपाली जनयुद्ध वा माओवादी जनयुद्धको उच्चारण गरेनन ।

नेपालमा समान्तवादका विरुद्धको निर्णायक लडाईमा जनयुद्धले महत्वपुर्ण योगदान गरेको कुरा सायद कसैले नर्कान सक्ला । जनयुद्धको यो ऐतिहासिक भुमिकालाई नेकपाले जुन लाईनमा स्वीकार गरेको छ, नेताहरुले सार्वजनिक मञ्चमा बोल्दा त्यो लाईन बोल्न पर्छ नकी पुर्व स्कुलको विचार । हामी दशकौंसम्म द्धन्द्धमा रुमल्लीयौं भनेको के हो ? हामी रुमल्लीएका थियौं या समाजिक रुपान्तरणको अभियानमा योगदान गरेका थियौं ? नेकपा (माओवादी केन्द्र) पनि ठुलै भङ्गालो हो भनेको के हो ? हुन त टुट फुट र विभाजित नेपालको कम्युनिष्ट आन्दोलनमा पुर्व एमाले वा पुर्व माओवादी सबै विभिन्न धारामा चिरिएका भङ्गाला नै हुन । अरु स साना भङ्गाला पनि बाँकी छन । तर नेतृत्वले अभिव्यक्ति दिँदा कोही नदि र कोही भङ्गाला थिए जसरी बोल्नु हुदैन । नेताहरु बोल्दा निर्णित कुरा मात्र बोल्न प¥यो । नेताले नै अनिर्णित कुरा बोल्दै जाने हो भने कार्यकर्ताले के गर्लान ? गाह्रो हुन्छ ।  नेतृत्वलाई सचेत गराउनु एउटा कार्यकर्ताको दायीत्व हो भन्ने मेरो वुझाई हो ।

अन्तमा, पार्टी स्कुल विभाग प्रमुख, पार्टी अध्यक्ष र अध्यक्ष तथा प्रधानमन्त्रीले जे विषय राख्नु भयो । दुई देश र दुई पार्टीबिचको निकट सम्बन्धको लागि उहाँहरुको शब्द र कर्म दुबै सम्मान गर्न र गर्व गर्न लायक छन । एक कार्यकर्ताको तर्फबाट  हार्दिक सलाम तथा आभार प्रकट गर्दछु । पहिलो इनिङमै छक्का प्रहार गर्ने पार्टी स्कुल विभागलाई हार्दिक बधाई सहित आगामी इनिङ पनि सफल बन्दै जाउन हार्दिक शुभकामना !
विहान ७ असोज, २०७६

स्मृतिमा २४ औं जनयुद्ध दिवश

नेपाली जनताको सचेतन पहलकदमीमा आमुल परिवर्तनको लक्ष सहित शुरु भएको महान जनयुद्ध आज २४ औं बार्षिक दिवसमा आईपुगेको छ । २०५२ फागुन १ गतेदेखि “प्रतिक्रियावादी राज्यसत्ताको समुल अन्त गर्दै नयाँ जनवादी सत्ता स्थापना गर्न दिर्घकालीन जनयुद्धको बाटोमा अघि बढौं ।” भन्ने मुल उदघोषका साथ नेकपा(माओवादी) को नेतृत्वमा यो अभियान अगाडि बढ्यो । सामन्त ̷ जमिन्दार, दलाल पुँजिपतिवर्ग, नोकरशाही पुँजिपतिवर्गलाई क्रान्तिको प्रमुख निशाना किटानी गरेको जनयुद्धले सर्वहारा श्रमजिवीवर्ग देखि राष्ट्रिय पुँजिपतिवर्गसम्मलाई मित्रशक्तिको रुपमा परिभाषित ग¥यो ।

२०४६ को जनआन्दोलन पछिको राजनैतिक व्यवस्था सामन्तवाद र साम्राज्यवादकाबीचको गठजोडमा, हाम्रो सन्दर्भमा भारतीय विस्तारवादको समेत स्वार्थमा भएको सम्झौताबाट संबैद्यानिक राजतन्त्र र बहुदलिय प्रजातन्त्रको नाममा अभिव्यक्त भएको थियो । नेकाँको नेतृत्वमा अभ्यास गरिएको संसदीय अभ्यासले नेपालमा संसदीय व्यवस्थाकै धज्जी उडाईदियो । मुलुकमा निरंकुशताको अभ्यास भयो । काँग्रेस इतरका शक्तिलाई दुःख दिने कुनै हथ्कण्डा पनि बाँकी रहेनन । जसले ‘राजतन्त्रात्मक संसदीय व्यवस्था खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने थलो हो’ भन्ने माओवादी उक्तिलाई व्यवहारीक रुपमा पुष्टी गरिदियो । सरकारी दमनले माओवादी जनयुद्धको तयारीलाई अझ नजिक ल्याईदियो । ०५२ फागुन १ गते नै माओवादीले सम्पुर्ण उत्पीडित वर्ग, जाती, क्षेत्र र लिंगका जनसमुदायलाई मुक्तिको अभियानमा सहभागी हुन अपील गर्दै बन्दुकको नालमा टिकेको सत्तालाई बन्दुकको नालबाटै ढलाईदिने उदघोषसहित अघि बढ्यो ।

तत्कालीन राज्यले माओवादी जनयुद्धलाई दबाउन सबै खाले दमनका उपायहरुको अबलम्बन ग¥यो । माओवादीले पनि राज्यआतंकको जोडदार रुपमा प्रतिरोध गर्दै अघि बढ्यो । पाँच बर्षको लामो लडाईको अनुभव, राष्ट्रिय अन्र्तराष्ट्रिय शक्ति सन्तुलनमा आएको फेरबदल लगायतको बस्तुगत अबस्थाको मुल्यांकन गर्दै माओवादीले गोलमेच सम्मेलन, अन्तरिम सरकार र संविधानसभाको निर्वाचनको कार्यनिति अघि सा¥यो । क्रान्ति, परिवर्तन र शान्तिप्रतिको जनभावनाको कदर गर्दै युद्ध र वार्ताका कोशीसहरु पनि पटकपटक भए । जब राजतन्त्र अन्तिम पटक सिमित प्रजातान्त्रिक हक खोसेर निरंकुश बन्ने बाटो समात्यो त्यसको पुर्ण समाप्ती संभव बन्न गयो । दलहरु संविधानसभाको लागि तयार भए, माओवादी जनवादी गणतन्त्रको रणनितिबाट तत्कालीन कार्यनितिको रुपमा लोकतान्त्रिक गणतन्त्रमा आउन तयार भयो । यसरी नेपालमा राजतन्त्रको पुर्ण अन्त गरि संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न र संविधानसभाको निर्वाचन मार्फत यसको संस्थागत विकास गर्न संभव भयो । नेकपा(एकताकेन्द्र मसाल) लगायतका क्रान्तिकारी राजनैतिक शक्तिहरुले जनयुद्धसँग सामिप्य रहि जनसंघर्षमा आफ्नो मोर्चा सम्हाले । त्यसले शान्तिप्रक्रिया पछि पार्टी एकतासम्म पुग्ने आधार तयार भयो । चुनवाङ बैठकबाट माओवादीले लिएको लोकतान्त्रिक गणतन्त्रको बाटो र तत्कालिन नेकपा(एमाले) लगायत दलहरुले लिएको बाटो यी दुइ पार्टीको बीचमा भएको पटक पटकको वार्ता र लिखित सहमतिको आधारमा माओवादी र सात दलबीच भएको १२ बुँदे समझदारी बन्ने आधार तयार भयो । जुन कोर्षले आजको नेपाललाई निर्देशित गरिरहेको छ, ती दुई ठुला कम्युनिष्ट पार्टी आज एउटै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निमार्ण गर्ने ऐतिहासिक स्थानमा आईपुगेका छन ।
नेपाली समाजको आमुल रुपान्तरणको लागि जनयुद्धको जुन ऐतिहासिक भुमिका रह्यो, आज हामी त्यसलाई स्मरण र सम्मान गर्ने दिनमा आईपुगेका छौं । आफ्नो जीवन र व्यक्तिगत चाहनालाई देश र जनताको निम्ति सर्मपण गर्ने महान शहिदहरु, वेपत्ता योद्धाहरु, घाईते योद्धाहरु, शहिद वेपत्ता योद्धाका परिवार र सम्पुर्ण न्यायप्रेमी जनसमुदायलाई सम्मान र नमन गर्ने दिनमा हामी उपस्थित भएका छौं ।

जनयुद्धले स्थापित गरेका केही मुल्यहरुः
१. मालेमावादी शिक्षाको आलोकमा विशौं शताब्दीका क्रान्ति र प्रतिक्रान्तिका शिक्षा तथा राष्ट्रिय तथा अन्र्तराष्ट्रिय परिस्थितिको ठोस विश्लेषण सहित नेपालमा क्रान्ति संम्भव छ भन्ने निष्कर्ष बोकेर नेपाली समाजको वर्गविश्लेषण गर्नु, त्यसको आधारमा जनयुद्धको ऐतिहासिक थालनी गर्नु, निरन्तरता दिनु र अन्र्तविरोध सञ्चालन सम्बन्धि माओवादी मान्यता अबलम्बन गर्दै अघि बढ्नु, राजनैतिक परिस्थितिको ठोस विष्लेषण गर्दै संविधानसभाबाट संविधान निमार्णको कार्यनिति अवलम्बन गर्नु, नेपाली समाजको पश्चगामी चरित्र बोकेको सामन्तवाद र त्यसको मुल प्रतिनिधि राजतन्त्रलाई समाप्त पार्ने आधार तयार गर्नु जनयुद्धको ऐतिहासिक उपलब्धि थियो ।

२. विचारधाराको अन्त्य, संगठनको अन्त्य, संस्कृतिको अन्त्य जस्ता विषयहरु उठाएर विर्निमाण र विघठनको नारामा माक्र्सवादको अन्त्यको ढोल पिट्दै आएको उत्तरआधुनिकतावादका विरुद्ध जनयुद्धले विचार निमार्णको क्षेत्रमा महत्वपुर्ण भुमीका निमार्ण ग¥यो । क्रान्ति सम्पन्न गर्ने मात्र होइन प्रतिक्रान्ति रोक्ने नयाँ ढंगको कम्युनिष्ट पार्टी, सेना र सत्ता निमार्ण गर्ने, पार्टी र सत्तामा जनताको निगरानी, नियन्त्रण र हस्तक्षेप सुनिश्चित गर्ने तथा क्रान्तिकाल र क्रान्ति पश्चात् निमार्ण हुने क्रान्तिकारी सत्ताभित्र सामन्तवाद तथा साम्राज्यवाद विरोधी शक्तिहरुले दलगत प्रतिस्पर्धा गर्न सक्ने वैचारिक आधार बोकेको २१ औं शताब्दीमा जनवादको विकास सम्बन्धि प्रस्ताव अगाडि सा¥यो । विज्ञानले विकासको लागि प्रयोगको माग गर्दछ भन्ने तथ्यलाई आत्मासाथ गर्दै मालेमावादको नेपाली समाजमा प्रयोगद्धारा विकास भएका विचार श्रृखलालाई प्रचण्डपथको रुपमा संश्लेषण ग¥यो ।

३. जनयुद्धले समाजमा मौलाएको स्वार्थी, व्यक्तिवादी, निम्न पुँजीवादी तथा उपभोक्तावादी संस्कृतिलाई परास्त मात्र गरेन यसले देश र जनताका निम्ति आफुलाई समर्पित गर्ने, राष्ट्रिय स्वाधिनता र जनताको मुक्ति भन्दा ठुलो आफ्नो जीवन नभएको र त्यसका लागि वलिदानको जस्तोसुकै मुल्य पनि चुक्ता गर्न तयार हुने क्रान्तिकारी विचार र संस्कृतिको निमार्ण ग¥यो । नेपाली जनताका हजारौं सर्वोत्तम छोराछारी शहिद हुन तयार भए । सयौं सर्वोत्तम छोराछोरी वेपत्ता हुन तयार भए । हजारौं आज पनि अंगभंग भएर जीईरहेका छन । हजारौं क्रान्तिकारी योद्धाहरु बेघरबार हुन तयार भए । लाखौं लाख जनसमुदायले देश र जनताको मुक्ति आन्दोलनमा आफ्नो क्षेत्रबाट अमुल्य सहयोग र योगदान गर्न तयार भए । यो जनयुद्धले पैदा गरेको त्याग, वलिदान र सर्मपणको गौरवशाली भावधारा थियो ।

४. जनयुद्धले राष्ट्रियता र जनवाद अर्थात लोकतन्त्र सम्बन्धि परम्परागत मान्यताहरुलाई रुपान्तरण ग¥यो । राष्ट्रियताको कुरा गर्दा सामन्ती दरबारसँग नजिक हुने र लोकतन्त्रको कुरा गर्दा छिमेकी भारतसँग निकट हुने पुरानो चिन्तनलाई जनयुद्धले परास्त मात्र गरेन, राष्ट्रियता र जनवादको प्रगतिशिल परिभाषाभित्र सिंगो देशलाई ल्याईपु¥यायो । पृथ्वीनारायण शाहको नेतृत्वमा शुरु भएको नेपालको एकीकरण भौगोलिक एकीकरण थियो जसले बहुजातिय, बहुभाषिक र बहुसंस्कृतिक पहिचानलाई समाप्त ग¥यो । आन्तरिक राष्ट्रियतालाई दमन गरेर समाप्त पारेर वृहत राष्ट्रिय एकता प्राप्त गर्न असंभव थियो । जनयुद्धले पहिलो पटक नेपाली जनताका सबै जाती, भाषा, संस्कृतिक पहिचानको कुरा उजागर ग¥यो र सबै उत्पीडित राष्ट्रियतालाई अगाडी ल्याईदियो । जुन नेपाल राष्ट्र निमार्णको बलियो आधार बन्न संभव थियो । तसर्थ जनयुद्ध वर्गीयमुक्ति तथा राष्ट्रियमुक्ति आन्दोलनको कुल योग थियो । परम्परागत नेपाली राजनीतिमा सधैंभरि शक्तिको श्रोत कि त दरबार कि त दिल्ली भन्ने मान्यता हावी थियो । जनयुद्धले शक्तिको श्रोत जनता हुन र जनताले आफ्नो इतिहास आफै बनाउन सक्छन भन्ने कुरा पुष्टी ग¥यो । यो बैचारिक मान्यतालाई नेपाली जनता र जनताका प्रतिनिधिहरुले जनआन्दोलनको उत्कर्षमा र संविधानजारि गर्ने समयसम्म आउँदा पुष्टी गरीसकेका छन ।

५. जनयुद्धले समाजमा पछि परेका र पारिएका किसान, मजदुर, उत्पीडित जाती र समुदाय, कर्णाली, सेतीमहाकाली लगायतका उत्पीडित क्षेत्र र समाजको आधा हिस्सा ओगटेको महिलाहरुमा शक्तिशाली वैचारिक अभियान संचालन ग¥यो । दुनियाँका श्रमिक तथा उत्पीडितहरु एक हौं भन्ने मालेमावादी वैचारिक मान्यताका आधारमा नेपाली समाजमा इतिहासमा कहिल्यै नभएको जनजागरण, राजनैतिक सचेतना र जनएकता पैदा ग¥यो । इतिहासमा पहिलोपटक हजारौं महिला दिदीबहिनीहरु नियमित सेनाको रुपमा जनमुक्ति सेनामा लामबद्ध बने । झुपडीहरु रातो झण्डा बोकेर उठे । पुरानो सत्ताका विरुद्धको यो अद्धितिय जागरण र विद्रोहलाई हामी कुन शब्दले सम्बोधन गर्ने आफै गरौं । फलस्वरुप समाजका उत्पीडित क्षेत्रबाट जन्मेका जनताका छोराछोरीलाई राजनीतिको नेतृत्वतहमा मात्र पु¥याएन राज्यसत्ताको केन्द्रभागमा समेत पु¥यायो ।
“दार्शनिकहरुले दुनियाँको व्याख्या त गरेका छन तर मुख्यकुरा यसलाई बदल्नु हो ।” भन्ने कार्लमाक्र्सको कालजेयी विचारलाई एकपटक नेपाली न्यायप्रेमी जनसमुदायले लागु गर्ने प्रयत्न गरे । सशस्त्र जनयुद्ध र शान्तिपुर्ण जनआन्दोलनको रुपमा त्यसको प्रयोग भएको छ र परिणामस्वरुप हामी आजको स्थानमा आईपुगेका छौं । तसर्थ आज महान जनयुद्धको गौरवशाली इतिहासलाई सम्मान गर्ने दिन हो । नेपाली कम्युनिष्ट आन्दोलनको मुलप्रवाह नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले संस्थागत रुपमा फागुन १ गतेलाई जनयुद्ध र जनआन्दोलनका शहिदहरुको सम्मानमा श्रद्धाञ्जली गरेर यो जनयुद्ध दिवस मनाउने निर्णय गरेको छ । नेकपाले नेपालको ऐतिहासिक राजनैतिक परिर्वतनमा जनयुद्धले खेलेको गौरवशाली भुमीकाको स्वामित्व लिनु स्वागतयोग्य कुरा हो । सम्पुर्ण परिर्वनकामी जनसमुदायले बेहिच्किचाहट जनयुद्धको गौरवगाथालाई सम्मान गरौं ।
१ फागुन, २०७६
काठमाडौं

रक्तबिजको माझमा

हाम्रो यात्राको योजना बैसाख मसान्तमै बनिसकेको थियो । कहाँ जाने टुङ्गो भने लागिसकेको थिएन । यात्राको योजना कार्यालयका प्रायः पदाधिकारी बसेर बनायौं । अन्तिम निधो गर्न अध्यक्षको सहभागीता जरूरी भयो । जेठ १ गते विद्यार्थी एकता दिवस त्रिचन्द्र कलेजमा आयोजना गरिएको थियो । कार्यक्रम सकेर हिडने योजनामा हामी थियौं ।  जेठ एक गतेको विहान त्रिचन्द्र कलेजको प्राङगनमा सहिद गंगालालको नाममा क्रान्तिको विजयी बन्ने छ भन्ने संकल्प गरियो । तत्पश्चात् जिरीको यात्रा सुभारम्भ भयो । छलफलमा विभिन्न गन्तव्यको नाम नआएको होइन, पोखरा वा दामन हुँदै अन्यत्र कतै तर अध्यक्षले जिरीको नाम लिएपछि हामी सबै सहमत भयौं । भ्रमणमा त निस्कने तर कसरी भन्ने समस्या आईप¥यो । त्यो प्रश्नको उत्तर खोज्ने जिम्मा टोलीले महासचिव हिमाल शर्मालाई सुम्पियो । उनको पहलमा एउटा सवारी साधन उपलब्ध भयो र हामी यात्रामा निस्कियौं । त्यसपछिका बाँकी योजनाहरू गाडीमै बने ।
हामीले बिद्यार्थी एकता दिवसको दिन पारेर यात्रा शुरु गरेका थियौं । तत्कालिन र दिर्घकालीन राजनैतिक, शैक्षिक तथा संगठनात्मक योजना कस्तो बनाउने र जिम्मेवारी कसरी पुरा गर्ने ? केही बर्ष देखि थाती रहेको संगठनको राष्ट्रिय सम्मेलन कहिले र कसरी सम्पन्न गर्ने ? एकाबिहान त्रिचन्द्रको अन्र्तक्रिया कार्यक्रममा ब्यक्त प्रतिबद्धता कार्यन्वयन गर्न के गर्ने भन्ने विषय नेतृत्वको मुख्य टिम भएकोले यो यात्रामा छलफल गरिनु पर्दथ्यो । साथै नेतृत्वको टिमवर्कको लागि सकारात्मक योगदान पु¥याउने अरू विषय र वातावरण निर्माण होस भन्ने चाहना पनि टिममा देखिन्थ्यो । त्यसको लागि जिरी प्राविधिक शिक्षालयको अध्ययन भ्रमण गर्ने, आन्तरिक छलफल सहित एक रात जिरीमा बिताउने, सहिदका सन्ततीहरू पढ्ने सहिद स्मृति आवासीय विद्यालयमा बालबालिकासङग् भेट गर्ने, फर्कदा बाटोमा पर्ने क्रान्तिकारीको किल्ला नाम्दु क्याम्पससङ्ग परीचित हुने र दोलखाली विद्यार्थी आन्दोलनका सामयीक समस्याहरू हल गर्नका लागि मद्दत गर्ने हाम्रो योजना बन्यो ।
पुर्व योजना अनुसार हामी जेठ १ गते साँझ नै जिरी प्राविधिक शिक्षालयको अध्ययन भ्रमण ग¥यौं । स्वीस सरकारको सहयोगमा निर्मित यो शिक्षालय नेपालमा प्राविधिक तथा व्यवसायीक शिक्षा प्रदान गर्ने पुरानो शिक्षालय हो । उपर्युक्त जलवायुको छनौट गरि निर्माण भएको यो शिक्षालय शैक्षिक कोणबाट मात्र नभै पर्यटकीय कोणबाट पनि सुन्दर स्थानमा अवस्थित छ । हामीले शिक्षालयका जिम्मेवार व्यक्तिहरूको साथमा रहेर शिक्षालयको संरचना, ल्याव, फर्म र पुर्वाधारको अध्ययन ग¥यौं । पुरानो पुर्वाधारलाई पुर्ननिर्माण तथा मर्मत सम्भार गर्नु पर्ने आवश्यकता भएको कुरा बुझियो ।
हामी जेठ २ गते बिहान सहिद स्मृति आवासीय विद्यालयमा पुग्यौं । जिरीको माथिल्लो डाँडा, मुल सडकलाई छोडेर करिब १५ मिनेट उक्लिएपछि विद्यालय निर्माणको लागि मैदान तयार हुदैरहेछ । भन्ञ्याङ काटेर अलीकति ओरालो लाग्दा शान्त तथा एकान्त जङ्गलको बिचमा विद्यालयको आवाशीय भवन अवस्थीत रहेछ । हामीसङ्ग पार्टीका त्यस इलाकाका सचिव कुलबिन्द थिए । कुलबिन्द जी साँझ देखि नै हाम्रो आतिथ्य सत्कारका लागिरहनु भएको थियो । जब हामी विद्यालयको आँगनमा पाइला टेक्यौं, कुलविन्द जीलाई लाल सलाम अङ्कल भन्दै खैरो पोशाकमा रहेका सहिदका रक्तबिजहरु झुम्मीन आईपुगे ।
उनले हामीहरुको परिचय गराउदै गए । बा आमाको प्रतिक्षामा बसेका केटाकेटी झैं नानीबाबुहरू लाल सलाम गर्दै हामीसङ्ग नजिकिए । वातावरण एकैक्षणमा भावमय भयो । जनयुद्धका क्रममा देश र जनताको मुक्तिको सपथ खाएर लामबद्ध भएका सयौं साथीहरु जो आज हामीसङ्ग छैनन । छन त केवल उनका प्रतिवद्धताहरू र तीनले छोडी गएका यी सन्ततीहरू । यीनका अनुहार गहिरिएर हेर्दा ती महान् सहयोद्धाहरुका आकृति देखिन्छन । ती सन्ततीसङ्ग भेटमा मस्तिष्क होइन मुटु हावी भयो । यी कलीला मुनाहरूका कोमल र प्रतिबद्ध मुठ्ठीहरु सुम्सुम्याउदै मिलनका हात बढायौं । उनीहरूसङ्गै मेसमा गएर खाना खायौं । एउटा वृहत्तर भावनात्मक परिवारको अनुभुति भयो ।

स्वागत कार्यक्रमः भावनात्मक संगमको उत्कर्ष
हामी खाना खादैं थियौं । नानीबाबुहरू एउटा औपचारिक कार्यक्रमको तयारीमा जुटेछन । खाना लगतै कार्यक्रममा सरीक भयौं । विद्यार्थीको तर्फबाट कक्षा ६ का भाई रोषन रिमालले स्वागत मन्तव्य व्यक्त गरे । हाम्रा अभिभावक, हाम्रा भरोसा पार्टी नेता तथा विद्यार्थी संगठनका कमरेडहरू विद्यालय पुगिदिएकोमा उनले खुसी मात्र प्रकट गरेनन । सहिदको सपनामाथि घात नगरियोस भन्ने खबरदारी पनि गरे । उनको प्रस्तुतिले हामीलाई त्यतीकै प्रशिक्षित गरेकै थियो त्यसमा पनि “आफ्नो जीवन आहुति देउ, देशको माया लाग्छ भने” भन्ने कविताले उनीहरूको चेतना र बुझाईलाई अभिव्यक्त गदथ्र्यो ।  कार्यक्रममा हामीलाई २०६६ बैसाख १६ गते सञ्चालनमा आएको उक्त विद्यालयले विगत एक बर्षमा प्राप्त गरेका शैक्षिक प्रगति र समस्याको बारेमा जानकारी लिने अवसर मिल्यो ।
विगत जनयुद्धमा अविभावक गुमाएका गरिव तथा विपन्न वर्गका ८५ जना बालबालीका यस विद्यालयमा आवासीय रुपमा अध्ययन गर्दछन । पुरानो संरचना अनुसारको मध्यमाञ्चलका हिमाल, पहाड र तराई–मधेसका बालबालिका मध्ये विद्यालयमा जनजाती र दलित समुदायका बालबालीकाको उल्लेख्य संख्या रहेछ । विद्यालयका बालबालीकाको उपस्थीति समावेशी प्रकृतिको रहेछ । माओवादी नेतृत्वमा सरकार रहेको बेला स्थापीत उक्त विद्यालय माओवादीकै कारण स्थापीत भएको भन्ने कुरा भाईबहिनीहरुले रामै्रसंग बुझेका रहेछन ।
“हिजो हामीसङ्ग पढिरहेको एकजना साथीलाई उनकी आमा सभासद भएपछि शहरतिरै लिएर जाने काम भयो । यसले हामीलाई दुःखी बनाएको छ । पार्टीका नेतृत्ववर्ग जिरी घुमेर फर्किएको खबर पाइन्छ तर हाम्रो  विद्यालयमा पाइला टेक्नु हुन्न ।” उनीहरूले गुनासो गरे । यसले हामीलाई मर्माहत तुल्यायो । हाम्रा सबै गतिविधिहरू हाम्रा यी सन्ततीहरुले राम्रोसङ्ग निगरानी गरिरहेका छन भन्ने कुराको यो एक उदाहरण थियो । 
अप्रर्याप्त भौतिक पुर्वाधारको वाबजुद पनि विद्यालयले विहान पाँच बजेदेखि साँझ नौ बजेसम्मको समय तालिका बनाई विभिन्न शैक्षिक तथा रचनात्मक गतिविधि संञ्चालन गरिरहेको रहेछ । सरकारी विद्यालय भन्दा धेरै फरक बनाउन नसकेतापनि अंग्रेजी तथा अन्य विषयहरू भाषा, सङ्गीत र खेलको क्षेत्रमा अध्ययन अध्यापन गराउने लक्ष्य विद्यालयले बनाएको रहेछ । प्रत्येक शनिबार श्रमकार्य र यात्रामा विद्यार्थीलाई सहभागी गराइने रहेछ ।  विद्यालयको व्यवस्थापन हेर्नुहुने अभिभावक र शिक्षकहरुले हामीलाई यी विषयहरू जानकारी गराए । विद्यालयमा किताबको अभाव रहेछ । किताब बिना विद्यार्थी पढाउनु परेको र यो सन्देश हामीमार्फत सहिद प्रतिष्ठानसम्म पुगोस भन्ने उनीहरूको अनुरोध थियो । हामीलाई लाग्यो यो कामको केही न केही जिम्मा हामीले पनि बोक्नु पदथ्र्यो ।
हाम्रो टिमको तर्फबाट अध्यक्ष लेखनाथ न्यौपानेले विद्यालयको प्रगति र विकास तथा भाईबहिनीहरूको सुन्दर भविष्यको लागी हामीसङ्गै रहने छौं, तर सहिदको सपना पुरा गर्न बांकी छ । त्यसकारण पार्टीले यी क्षेत्रमा समय र साधन प्रयोग गर्न नसकेको हो भन्ने भनाईसहित विद्यार्थीको तर्फबाट विद्यालयको विकासका लागिपर्ने बचन दिए । सहिद प्रतिष्ठानको तर्फबाट विद्यालय स्थापना गर्ने कामको आधार सहिदका सन्ततीहरूको काठमाडौं केन्द्रीत बाच्न र पढ्न देउ आन्दोलन रहेको र त्यसको नेतृत्व अखिल(क्रान्तिकारी) ले गरेको कुरा पनि अध्यक्ष लेखनाथ न्यौपानेले स्मरण गरे । कार्यक्रमको अन्त्यमा विद्यालयको चौरमा सहिदका सन्ततीहरूसङ्ग फोटोशेषन गरी विदाईका हात हल्लायौं ।

अन्तमा,
सहिद स्मृति विद्यालय आफैमा एउटा आस्था र गौरवको सुन्दर धरोहर हो । जहाँ क्रान्तिका रक्तबिजहरु हुर्कीरहेका छन । तीनका हरेक उदाउँदा रहरहरुमा सहिदका सपना फक्रिरहेका छन । हाम्रा यी विद्यालय ती सपनालाई फुलाउने फलाउने बगैचा बन्नैपर्दछ । भौतिक रुपमा दुरदराजमा भएकोले खाना, नाना र उपचारको लागि अप्ठ्यारो तथा बालबालिकाको सामाजीकिकरणको लागि यसका कठीनाई रहेछन । यसको उचित समायोजनको योजना बनाउन नितान्त जरुरी देखिन्छ । विद्यालयको जीवन विद्यार्थीको सहभागीतामा भर पर्दछ, तर आजका लक्षीत बालबालीका हुर्किदै गएपछि यी संस्थाको नियमित जीवन कस्तो हुन्छ र यी बालबालिकाको उच्च शिक्षा कसरी प्रदान गरिने हो ? सोच्न जरुरी छ । त्यसको लागि निजि शैक्षिक संस्था चार्हान छोडेर क्रान्तिकारीहरुका श्रम र सिप यता खर्च गर्दा वेश होला कि ? 

विद्यालयको नामः शहिद स्मृति आवासीय विद्यालय, जिरी – ८ दोलखा
स्थापनाः २०६६ बैसाख १६ गते
कक्षा सञ्चालनः कक्षा १ देखि ६ सम्म
विद्यार्थी संख्याः ८५ जना सहिदका छोराछोरी
शिक्षक संख्याः ७ जना 
कर्मचारीः ४ जना
भवनः आवाशीय सहितको विद्यालय भवन ३ वटा भाडामा                                                            २०६७ जेठ २
अखिल(क्रान्तिकारी) को ताम्सालीङको प्रकाशनमा प्रकाशित

Sunday, September 22, 2019

रक्तबिजको आन्दोलनः बाँच्न र पढ्न देऊ

“हामी पढ्ने र लेख्ने बेला सडकमा छौं, मेरो बुवा गरिब परिवारमा जन्मिनु भयो र अन्याय, अत्याचारबाट मुक्ति पाउन जनयुद्धमा सामेल हुनुभयो । ०५५ कार्तिक १२ गते उहाँको शहादत भयो । मेरो ममी जीवनसाथीले छोडेको झोला र बन्दुक उठाउने दृढतासहित सामन्ती अत्याचारका विरुद्ध लाग्नुभयो । २०५९ बैसाखमा उहाँको पनि शहादत भयो । हाम्रो अवस्था कस्तो थियो होला त्यसबेला ? हामीलाई सहारा दिने कोही थिएन । हामी स्कुल जाने उमेरमा गोठालो बन्यौँ । अरुको भाँडा माझ्न विवश भयौँ । अहिले सरकार परिवर्तन भएको छ । खोई, हाम्रो बारे सरकारले सोचेको ? के हाम्रा बाआमा देश र जनताका लागि सहिद भएका होइनन् ? हामीसँग बिरामी पर्दा सिटामोल किन्ने पैसा छैन । के मारिएका मान्छेका आफन्त पनि मर्छन् ? हामी साना छौँ,  यिनीहरु पनि ठूला भए राष्ट्रका लागि केही गर्न सक्छन् भन्ने राज्यले किन सोच्दैन ?”

वि. सं. २०६४ जेठ २१ गते राष्ट्रिय सभागृहमा उदयपुरकी सहिदपुत्री अरुणा कटुवालले यी भावना राख्दै गर्दा पूरै हल कतिबेला स्तब्ध हुन्थ्यो त कतिबेला आक्रोशले जुरुक्क जुरुक्क उठ्थ्यो । वेदना र आक्रोशयुक्त यी भावनाहरु अरुणाका मात्र थिएनन्, देशभरबाट १३ हजार सहिदका सन्ततिको प्रतिनिधित्व गरी सभाहलमा सामेल पाँच सय लाल सन्ततिका भावना थिए । 
जेठ तेस्रो साता अध्यक्ष क.प्रचण्डको भनाईमा “नेपालको इतिहासमै पहिलोपटक सहिदका छोराछोरी काठमाण्डौँमा आएर विश्वले नै थाहा पाउने गरी जुन एक हप्ते कार्यक्रमको रुपरेखा प्रस्तुत गरेका छन्, त्यसले सबैलाई तरंगित र उद्धेलित बनाएको छ ।” कमरेड अध्यक्षको यो भनाई सहिदका सन्ततीको साताव्यापी आन्दोलनको ऊर्जाको संश्लेषण हो । सायद कसैले सोचेका थिएनन् होला, जनयुद्धको कोखमा, बलिदानको ऊर्जामा यति उन्नत चेतना र संस्कार हुर्केको छ भनेर । जब सहिदका छोराछोरीहरु जेठ २० गतेदेखि काठमाण्डौँमा बाँच्न र पढ्न देऊको नारा लगाउँदै देखिए, रित्तो झोला, रित्तो थाली अनि बाँच्न र पढ्न देऊको उद्घोष विद्युतीय सञ्चारमाध्यम र छापाको मुख्य आकर्षण नै बन्यो । मुट्ठीभर तत्वहरुको पक्षमा पीत पत्रकारिता गर्नेहरुले पनि धरै पाएनन् ।
२० गते नेपाल ल क्याम्पसमा भएको पत्रकार सम्मेलन, २१ गते राष्ट्रिय सभागृहमा महिला, बालबालिका तथा समाजकल्याण मन्त्री प्रमुख अतिथि रहेको अन्तरक्रिया कार्यक्रम, २२ गते सिंहदरबार दक्षिणढोकामा निषेधित क्षेत्र तोड्दै गरिएको धर्ना र रित्तो थाली प्रदर्शन, २३ गते शिक्षा मन्त्रालयमा रित्ता झोला प्रदर्शन र मन्त्रीलाई रित्तो झोला उपहार, २४ गते व्यवस्थापिका संसद्का सभामुख सुवासचन्द्र नेम्वाङमार्फत् विधायक÷विधायिकाहरुलाई दिएको ज्ञापनपत्र र २५ गते प्रधानमन्त्री कार्यालय वालुवाटारमा गरिएको प्रदर्शन तथा प्रधानमन्त्रीलाई दिएको रित्तो झोला र थाली उपहारसम्म गएर “बाँच्न र पढ्न देऊ” को पहिलो चरणको कार्यक्रम समापन भएको छ । कार्यक्रमका केही दृष्टान्तबारे चर्चा गरौँ ।

१. राज्यले संविधान उल्लंघन नगरोस् :
दश वर्षको महान् जनयुद्धको जगमा १९ दिने ऐतिहासिक जनआन्दोलन सम्पन्न भयो । राजनैतिक तथा सामाजिक रुपान्तरणको आन्दोलनलाई त्यतिबेलै निर्णायक बनाउन नसकिए तापनि संविधानसभाको चुनावप्रति उत्तरदायी अन्तरिम संविधान – २०६३ को घोषणा गरियो । अन्तरिम संविधानको मर्म र भावना राजतन्त्रलाई विस्थापन गरेर संविधानसभामार्फत् लोकतान्त्रिक गणतन्त्र सहितको राज्यको अग्रगामी पुनःसंरचना गर्नु हो । लोकतान्त्रिक परिवर्तनको प्रत्याभूति जनतालाई दिलाउनु अन्तरिम संविधानको महत्वपूर्ण कार्यभार हुन्थ्यो तर सोहीअनुरुप सहमतिका आधारमा संविधानको मर्म र भावनाको कार्यान्वयन गरिएको छैन । अरु विषयलाई छोडेर बाँच्न र पढ्न देऊ आन्दोलन किन ? यसको उत्तर खोजौँ । संविधानको धारा २२ मा रहेको बालबालिका सम्बन्धी हक मौलिक हकमा पर्दछ । धारा २२ को उपधारा ४ मा भनिएको छ, “असहाय, अनाथ, सुस्तमनस्थिति, द्धन्द्धपीडित, विस्थापित, एवम् जोखिममा परेका, सडक बालबालिकालाई सुनिश्चित भविष्यका लागि राज्यबाट विशेष सुविधा पाउने हक हुनेछ ।” यसैगरी संविधानको धारा ३३ मा राज्यको दायित्वको खण्ड त मा भनिएको छ, “सशस्त्र द्धन्द्धका क्रममा मारिएकाका परिवार तथा यस क्रममा घाइते भई अपाङ्ग र अशक्त भएकाहरुलाई उचित राहत, सम्मान र पुनःस्थापनाको व्यवस्था गर्ने ।”
अब त सरकार गठन भएको पनि महिनौँ बितिसक्यो । संविधानका धाराहरु सुक्न थालेका छन् । बालबालिकाजस्तो संवेदनशील विषयले पनि सरकारलाई छुन सकिरहेको छैन । मौलिक अधिकार भनेको मानिसको जन्मशिद्ध आधारभूत मानवअधिकार हो । खोई, त्यसको कार्यान्वयन ? राज्यले खोई आफ्नो दायीत्व पूरा गरेको ? तसर्थ हामी भन्छौँ, सरकार संविधानको रक्षक बनोस् । तुरुन्त संविधानमा व्यवस्था भएबमोजिम द्धन्द्धपीडित बालबालिकाको विशेष सुविधा पाउने हक र राज्यको दायित्व द्धन्द्धपीडितहरुलाई उचित राहत, सम्मान र पुनःस्थापनाको विषय अक्षरशः कार्यान्वयन गरियोस् ।

२. द्धन्द्धपीडितहरुमा सौतेलो व्यवहार :
जनयुद्धका सहिदका छोराछोरी भन्छन् “हामीमाथि राज्यले नै सौतेलो व्यवहार गरिरहेको छ ।” यो ज्यादै संवेदनशील विषयमा राज्यको हदैसम्मको नालायकी देखिएको छ । सामन्तवादको अन्त्यको विगत आन्दोलनमा राज्यआतङ्क र जनप्रतिरोधका थुप्रै श्रृङ्खला तयार भए । त्यस क्रममा थुप्रै मानिस सहिद भएका छन, मारिएका छन । वर्तमान सरकारकै नेतृत्वकर्ता विगत राज्य सञ्चालनमा सहभागी थिए । आन्दोलनलाई दमन गर्न प्रयोग गरिएको पक्षको जनधनको क्षतिमा लाखौँ करोडौंको दरमा क्षतिपुर्तिको नाममा रकम वितरण गरियो । तिनका छोराछोरीलाई आवासीय विद्यालय खोलेर भरण पोषण र शिक्षा दिक्षाको जिम्मा राज्यले लियो र त्यो अद्यावधि निरन्तरतामा छ । तर, जो राष्ट्र र जनताको अग्रगामी परिवर्तनका खातिर सहिद भए तिनका बालबालिकाहरुमाथि सामाजिक, मनोवैज्ञानिक यातना किन ? त्यही विगत जनयुद्ध र जनआन्दोलनको बलमा बनेको वर्तमान सरकारले समेत जनयुद्धका सहिदका छोराछोरीलाई पुरानै व्यवहार किन गरिरहेको छ । उनीहरुको भरण पोषण, शिक्षा दीक्षा र रोजगारीको विषयलाई सरकारले वेवास्ता गर्नु राज्यको उनीहरुप्रतिको सौतेलो व्यवहार हो । यसबाट सरकारको नेतृत्व गरिरहेकाहरु कति रुपान्तरित भए ? प्रश्न ज्यादै गम्भीर छ ।

३. अधिकारकर्मीका कर्के आँखा :
राष्ट्रिय सभागृहमा अन्तरक्रिया कार्यक्रम चलिरहेको थियो । प्mलोरमा “बाँच्न र पढ्न देऊ” नारा लेखिएका भेष्ट लगाएका पाँच सय बालबालिका सामेल थिए । मञ्चबाट बुवाआमा सहिद भएको कुरा अरुणा कटुवाल, आशीष न्यौपाने र विद्या भाटहरु सुनाउँदै थिए । त्यतिखेरै एकजना पत्रकारले सोधे, यी बालबालिकाले बुवाआमा गुमाएकै हुन् भन्ने के प्रमाण ? उक्त कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोग र संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्तको नेपालस्थित कार्यालयका प्रतिनिधिले भन्दै थिए, वाइसिएलले आप्mना गतिविधि सच्च्याओस् । “काम कुरो एकातिर, कुम्लो बोकी ठिमीतिर” ती महानुभावहरुका वाणी सुन्दा दया जागेर आयो । कसैले बालबालिकाको सवाल वाइसिएलको कामसँग साट्न खोज्छन् भने कसैले प्रमाण खोज्छन् । मेरा बाआमा सहिद भएको कुरा भन्दै गर्दा प्रमाण खोज्ने महासयलाई के जवाफ दिनु ? यस्ता पत्रकार र पत्रकारिताको कारण पनि राज्यको चौथो अङ्गको खिल्ली उडिरहेको छ । पूर्वाग्रह र प्रतिशोधको पनि सीमा हुन्छ । टुहुरा बालबालिकाप्रतिको बबुराको प्रतिशोध देख्दा घृणा जाग्यो । सिविनका अध्यक्ष गौरी प्रधान र अन्तर्राष्ट्रिय गैरसरकारी संस्था महासंघ नेपालका अध्यक्ष डा.शिवेश रेग्मीले सकारात्मक प्रतिक्रिया सहित आप्mनो संस्थाबाट पनि द्धन्द्धपीडितको राहत, सम्मान र पुर्नस्थापनाका लागि लागिपर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँहरुको भनाई थियो, “यसको पहल सरकारबाटै शुरुवात होस् ।”

४. सरकार तस्करको संरक्षक भो ।
आन्दोलनको अन्तिम दिन वालुवाटार जाने कार्यक्रम थियो । जेठ २५ गते सहिदका छोराछोरी वालुवाटार पुगे तर सरकारलाई सहिदका छोराछोरीसँग भेट्ने समय भएन । त्यहाँ गम्भीर प्रश्न खडा भयो, प्रधानमन्त्री देशले अभिभावक मानेको मान्छे । हामी त उनलाई गणतन्त्र नेपालको राष्ट्रपति भएको हेर्न चाहन्थ्यौँ तर उनले गणतन्त्रका लागि लडिरहेका युवा कम्युनिष्टहरुलाई अपराधी देख्छन्, रक्तचन्दनका तस्कर सीताराम प्रसाईलाई संरक्षण गर्छन् तर सहिदका छोराछोरीसँग भेट्ने हिम्मत गर्दैनन् । विडम्बना, हामी यस्तै मान्छेलाई देशको अभिभावक मान्न बाध्य छौँ र रुपान्तरणको आशा गरिरहेका छौँ । त्यहाँ बालबालिकाहरुले प्रश्न गरे, उनी हाम्रो नभएर तस्करको अभिभावक हो कि क्या हो ?

५. बुवाआमा भनेकै माओवादी:
कार्यक्रमको समापन सभा, अध्यक्ष क.प्रचण्डको उपस्थिति थियो । जनयुद्धका सहिदका छोराछोरीका तर्फबाट कैलालीमा शहादत प्राप्त गर्नुहुने सहिद भीम भाट र माया भाटकी छोरी विद्या भाटले भनिन्, “हामी सहिदका छोराछोरी हौँ, हाम्रा बाआमाले जनयुद्धमा शहादत प्राप्त गर्नुभएको छ तर उहाँहरु मर्नु भएको छैन भन्ने हामीलाई लागेको छ । अहिले हाम्रा बाआमा भनेको पार्टी हो । जुन दिनसम्म माओवादीले सहिदले देखाएको बाटो अनुसरण गरिरहन्छ, त्यसप्रति दृढ र प्रतिबद्ध रहन्छ त्यो दिनसम्म हामी टुहुरा हुने छैनौँ । त्यो दिनसम्म हाम्रा बाआमा मर्ने छैनन् ।” 
विद्याको यो भावोत्तेजक भनाईले हामी सबैलाई स्तब्ध तुल्यायो । अध्यक्ष कमरेड प्रचण्ड अत्यन्तै भावुक हुँदै भन्नुभयो, “ती मानिसहरु जसले हिजो हाम्रा आफन्तको हत्या गरे, तिनले नै हाम्रा आफन्तलाई सहिद भनिदेऊन् भनेर हामी रुने कराउने पक्षमा छैनौँ । साथै विगतमा जनविरोधी गतिविधिमा लागेर मर्नेहरुलाई पनि हामी सहिद भन्ने पक्षमा छैनौँ । तसर्थ हामीले द्धन्द्धपीडित भनेका छौँ, द्धन्द्धपीडितको उचित राहत, सम्मान र पुनःस्थापना गर्नुपर्दछ भन्ने हाम्रो मान्यता हो ।” 
उहाँले अगाडी भन्नुभयो, “सहिद परिवारको सवालमा पार्टी संवेदनशील छ, हामीले सहिद परिवार समाज गठन गरी त्यसको कार्यक्रम तय गरेका छौँ । म भाईबहिनीहरुलाई प्रेमका साथ भन्छु, अहिले पार्टी भिन्न तरिकाले ती वीर सहिदहरुका सपना साकार पार्ने दिशामा लागिरहेको छ र लागिरहनेछ ।”
अध्यक्ष कमरेड प्रचण्डसङ्गको उक्त भेट सहिद सन्ततीका लागि अविभावकसङ्गको भेटजस्तो भावनात्मक रह्यो । उनीहरुले अझ बढी प्रतिबद्धताकासाथ आन्दोलनमा सामेल हुने ऊर्जा प्राप्त भएको कुरा हामी माझ बताए ।

उपसंहार :
जनयुद्धका महान् सहिदका छोराछोरीको आन्दोलन आफैमा एउटा नयाँ सिर्जनात्मक आन्दोलन हो । यसले जनयुद्धको विचार, राजनीति र बलिदानलाई नयाँ स्तरमा स्थापित गरेको छ । यसले आन्दोलनको व्यवस्थापक संगठनलाई अरु सिर्जनात्मक सोचको दिशामा अघि बढ्न प्रेरित गरेको छ भने सहिद परिवारको तर्फबाट आगामी संघर्षका लागि ठूलो ऊर्जा केन्द्रीत भएको छ । आन्दोलनका विरोधमा रहेर पनि बिरोधीहरुले वकवास गर्ने स्थिति रहेन । बलिदानको धरोहरका रुपमा स्थापित संस्थाको हैसियतले अखिल (क्रान्तिकारी)ले नै यसको आयोजना तथा समग्र व्यवस्थापन ग¥यो । करिब पाँच सय बालबालिकाको सहभागितामा साताव्यापी कार्यक्रम सञ्चालन गर्नु आफैमा चुनौतिपूर्ण कार्य थियो । तर पनि संघर्षको बीचबाट जन्मेको परिपक्व संगठन, नेतृत्वदेखि कार्यकर्तासम्मको खटन पटन, पार्टीको महत्वपूर्ण साथ र सहयोग, जनस्वास्थ्यकर्मी संघ लगायतका मित्र संगठनको हात र विशाल संख्यामा शुभचिन्तक, समर्थक र जनसमुदायको न्यानो सहयोग र सञ्चार क्षेत्रको राम्रो सहयोगले कार्यक्रम सहज बन्यो । आन्दोलनले बालबालिका मन्त्रालय र बालअधिकारसँग सम्बन्धित संघ संस्थाको ध्यान विशेष रुपले तानिएको छ । यसले समस्या समाधानमा पहल हुनेछ भन्ने आशा गर्न सकिन्छ । फेरि पनि सरकारको चरित्र हेर्दा अर्को ठूलो आन्दोलनको तयारी आवश्यक हुने हो कि भनेर सोच्नुपर्ने अवस्था छ । संगठनले भने आगामी दिनमा सहिद परिवारसँगको सम्बन्ध विशेष रुपले सुदृढ गर्नैपर्दछ । यो तर्फ योजना निर्माणमा गम्भीरता बढ्न जरुरी छ । एकीकृत आवाजका साथ फेरि पनि भनौँ –“बाँच्न र पढ्न देऊ ।”
पूर्वक्षितिज साप्ताहिक २०६४ जेठ ३१ गते प्रकाशित