Sunday, August 25, 2013

एकताको १८औं राष्ट्रिय सम्मेलनको मुल निष्कर्ष

हामीसँग ज्यूँदो इतिहास छ । विद्यार्थी आन्दोलन सबैखाले प्रतिक्रियावाद, यथास्थितिवाद र अवसरवादका विरुद्ध क्रान्ति र परिवर्तनको झण्डा हो । यो २००४ मा जयन्तु संस्कृतम् नाम लिएर राणाशाहीको विरुद्ध जन्मियो र २००६ मा पहिलोपटक अनेविफेको नाममा संगठित आकार ग्रहण ग¥यो । शैक्षिक नारामा राजनीतिक उद्देश्य भएकाले यसले राणाविरोधी आन्दोलनमा महत्वपूर्ण भुमिका खेल्यो । शिशु अवस्थामै २०१७ को फौजीकाण्डमार्फत् निमोठिएको विद्यार्थी संगठन कठीन सङ्घर्षका बाबजुद २०२२ मा अनेरास्ववियुको नाममा पुनर्जीवन प्राप्त ग¥यो ।

नेपाली विद्यार्थी आन्दोलनमा विविध विचारधारा र स्कुलको प्रभाव ०२२ पछि नै परिसकेको थियोे, जसको परिणाम नेविसंघ र फेडरेशन जन्मिए र आफुलाई पञ्चायतको गुलाम “राष्ट्रवादी विद्यार्थी मण्डल”को भन्दा फरक पहिचान दिन सकेनन । ०२९ को संघसंस्था नियन्त्रण नामको निरंकुश तानाशाहीका विरुद्धको विद्यार्थी संघर्ष भुट्टोको फाँसीका विरुद्धको निहुँमा डढेलोझैं सल्कियो र निर्विकल्प भनिएको पञ्चायतलाई जनमत संग्रहको घोषणा गर्न बाध्य तुल्यायो ।


०४६ को ऐतिहासिक जनआन्दोलनको पृष्ठभूमिमा नेपाली युवा विद्यार्थीहरुको एकीकृत र संगठित पहलकदमी राजनैतिक दलका लागि समेत सकारात्मक शिक्षा बन्न पुग्यो तर ०४६ को परिर्वतनलगत्तै विद्यार्थी आन्दोलन सत्तापक्षीय र प्रतिपक्षीयरुपमा नराम्रोसँग विभाजित बन्न पुग्यो । नेविसंघ र अखिल सत्तापक्षीय भूमिकामा संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्रको रक्षक बनेर यथास्थितिमै रमाउन थाले भने क्रान्ति र परिवर्तनको प्रवाहको नेतृत्व गर्दै अखिल (क्रान्तिकारी) नेपाली समाजको आमुल परिवर्तनको एजेण्डासहित शुरु भएको महान् जनयुद्धको पक्षमा दृढतापूर्वक उभियो । अब अखिल (क्रान्तिकारी) क्रान्तिकारी विद्यार्थीहरुको प्रतिनिधि संगठन मात्र भएन बरु यो विशाल आन्दोलन बनिसकेको छ ।

प्रतिक्रियावादी सत्ताको भीषण दमनकै बीच चौमका विविध धाराहरु र झापा आन्दोलनको क्रान्तिकारी स्कूल ध्रुवीकृत भए भने शान्ति प्रक्रियायता क्रान्तिका बाँकी अभिभारा पूरा गर्ने अभिष्टसहित दजर्न बढी देशभक्त, वामपन्थी, प्रगतिशील र जनवादी विद्यार्थी संघ, संगठन र व्यक्तित्वहरु क्रान्तिकारी धु्रवीकरणको प्रक्रियामा सामेल भएका छन् । अब हाम्रा सामु यो विशाल संगठन पङ्तिलाई प्रतिरोधी दस्तामा बदल्ने सकारात्मक चुनौती छ । जसको सामना गर्नु सफलताको आधार बन्नेछ ।

आज त्यही दश बर्षको त्याग, तपस्या र बलिदानको जगमा प्राप्त भएको संविधानसभा, गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताजस्ता ऐतिहासिक उपलब्धिलाई मुठ्ठीभर श्रमचोर वर्गको हितमा संकुचित हुन दिने वा करोडौं जनताको वास्तविक गणतन्त्रमा बदल्ने ? सामन्त, दलाल र नोकरशाहहरुको महलको शान्ति या समाजमा विद्यमान वर्गीय, जातीय, क्षेत्रीय र लिङ्गीय विभेदको अन्त्यसहितको वास्तविक झुपडीको शान्ति ? यो आजको मुख्य प्रश्न हो ।

जसको उत्तर संविधानसभाले ‘नयाँ संविधान जनसंविधान’ मार्फत् दिनुपर्दछ । त्यसो नभए विद्रोहको अधिकार नेपाली जनतामा सुरक्षित छ र यसको मुख्य मोर्चा सम्हाल्न अखिल (क्रान्तिकारी) तयार छ ।
यो राष्ट्रिय सम्मेलनको पहिलो निष्कर्ष हो । दोश्रो कुरा, नेपाली विद्यार्थी आन्दोलन सधैंभरि राष्ट्रियताको पहरेदार बन्दै आएको छ । अंग्रेजको दलालीमा टिकेको राणाशाही त्यतिबेला अझ कमजोर भयो जब विश्वयुद्धमा अंग्रेजको पराजयसँगै उसको दलाली गर्न भाडामा पठाइएका नेपाली सिपाहीहरुले विद्रोह बोले ।

एकातिर देशभित्रको यो चेतना र अर्कोतिर भारतीय स्वतन्त्रता संग्राम र चिनियाँ जनवादी क्रान्तिको नेपाली युवा तथा विद्यार्थीमा पर्दै गएको प्रभाव, यसको जगमा विद्यार्थी संगठनको स्थापना भएको थियो । तर, राणाको उत्तराधिकार काँग्रेसले पनि उसकै पाइला पछ्यायो । स्वाधीनताको झण्डामुनि पहिलो बलिदान गरे– विद्यार्थी चिनियाँकाजी उदासले । त्रिपक्षीय दिल्ली सम्झौताविरोधी आन्दोलनमा उनले सहादत प्राप्त गरे । सन् १९५० को राष्ट्रघाती व्यापार तथा वाणिज्य सन्धि, कोशी र गण्डक सम्झौता, नेपाल चाइना सिमानासम्म छरिएका भारतीय चेकपोष्टलगायतका विषयमा नेपाली विद्यार्थीहरु अग्रमोर्चामा रहेर संघर्ष गरे भने कालापानी, सुस्ता, महेशपुर, टनकपुरलगायतका स्थानमा भएको अतिक्रमणको घाउ चहराइरहेकै छ । जसका विरुद्ध अखिल (क्रान्तिकारी) सबै देशभक्त नेपालीहरुको साथमा छ ।

पछिल्लोपटक भारतीय विस्तारवाद अझ नाङ्गो ढङ्गले नेपालमाथि आइलागेको छ ःराजनैतिक, आर्थिक, साँस्कृतिक र भौतिकरुपमा आफ्ना दलालमार्फत् नेपाललाई अस्थिर बनाइराख्ने र अस्तित्व समाप्त गर्ने योजनामा छ भारत । तसर्थ नेपाली विद्यार्थीका सामु आफ्नो माटो, आफ्नो मुलुक र आफ्नो राष्ट्रिय स्वाभिमानका लागि जुनसुकै मुल्य चुकाउन तयार रहनुपर्ने दायित्व छ । राष्ट्रिय प्रतिरोध संघर्षका लागि तयार रहने सम्मेलनको अर्को निष्कर्ष हो ।

सम्मेलनले जनवादी शिक्षा प्राप्तिको दृढतालाई अझ उन्नतरुपमा संश्लेषण गरेको छ । नेपालको राजनैतिक प्रणालीजस्तै शिक्षा प्रणाली पनि पूरै स्तुतिगान र विदेशी स्वार्थबाट निर्देशित छ । हामी शिक्षा प्रणाली पूरै राष्ट्रकाप्रति र जनताप्रति जिम्मेवार होस भन्ने चाहन्छौं । त्यसको पहिलो सर्त हो– जनपक्षीय राजनीतिको नेतृत्व ।

यही राजनीतिक नेतृत्वको खोजी गर्दै हामी जनयुद्धमा दृढतापुर्वक र स–गौरव होमिएका हौं । यद्यपी कतिपय मान्छेहरु जनवादी शब्ददेखि डराउँछन् । कुरा त्यसो होइन बरु जनवादी शिक्षाको परीकल्पना भनेको राज्यको दायित्वमा शिक्षा भन्ने नै हो ।

शिक्षा लिने नागरिकको अनिवार्य अधिकार कुनै हालतमा कुण्ठीत हुनुहुँदैन । गरेर सिक्ने विधिको विकास, उत्पादनसँग जोडिएको शिक्षा, श्रमसँग जोडिएको शिक्षा, प्रविधिसँग जोडिएको शिक्षा समग्रमा मुलुकको हितसँग जोडिएको शिक्षा । जुन शिक्षा श्रमिक वर्गको हितसँग जोडियोस्, जनताको जिविकासँग जोडियोस्, रोजगारीका ढोकाहरु खोल्दै अघि बढोस् न कि ढोका बन्द गर्दै । यसको पहिलो खोजी राजनैतिक प्रणालीबाट गरौं । मुलुकको आत्मसम्मानबाट खोजौं । त्यो राजनैतिक प्रणाली र आत्मसम्मान नयाँ बन्ने संविधानबाट खोजौं । संविधानको अन्तर्वस्तुमा खोजौं, क्रान्ति र विद्रोहको वास्तविक मर्म ।

यदि संविधानको अन्तर्वस्तुले क्रान्तिको मर्मबोध गरेन भने फेरि पनि विद्रोह जनताको रहर होइन बाध्यता हुनेछ । त्यो बाध्यता सामाजिक रुपान्तरणको लागि ऐतिहासिक अनिवार्यता हुनेछ । एकताको १८ औं राष्ट्रिय सम्मेलनको मुल निष्कर्ष यही हो ।

No comments:

Post a Comment